महोत्सवमय बन्यो पोखरा

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७६

शुक्रबार सुरु भएको आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करणको दोस्रो दिन शनिबार उत्तिकै उत्साहपूर्ण सहभागितामा विभिन्न सेसन सञ्चालन भए ।

शनिबारको पहिलो सेसन थियो, लोकगीत कि लोकप्रियता ? यो सेसनमा नारायण अमृतसँग गायक हरिदेवी कोइराला, प्रकाश सपुत र झुमा लिम्बूले छलफल गरे । यसमा विशेषगरी त्यो बेलाको लोकगीतको अवस्था अर्थात् लोकगीतको आफ्नोपन र वर्तमानमा यसमा आएका परिवर्तनबारे उनीहरुले छलफल गरे । साथै अहिलेका कतिपय विकृतिविसंगतिप्रति पनि उनीहरुले चर्चा गरे ।

सुरुवातमा सुन्न बनाइएको लोकगीत अहिले हेर्न बनाइएको जस्ता आरोप लागेको विषयमा पनि कार्यक्रममा बहस भयो । लोकगीतलाई जोगाउँदै सकारात्मक रुपमा यसलाई अघि बढाउनुपर्नेमा उनीहरुले जोड दिए । यही समयमा बालबालिकाको हातमा मोबाइल कि पुस्तक ? शीर्षकमा गफिए, करुणा कुँवर, बिना थिङ तामाङ, वसन्त गौतम र भवसागर घिमिरे । उनीहरुले पछिल्लो समय बढ्दै गएको प्रविधिका कारण बालबालिकाका मानसिकतामा पारेको प्रभावबारे आआफ्ना धारणा राखे ।

महोत्सवको दोस्रो सेसनअन्तर्गत दुई कार्यक्रम सञ्चालन भए, सपनाको सम्मान र नारायण ढकालको पुस्तक तमसमाथि अन्तक्र्रिया । सपनाको सम्मान सेसनमा डा. रुपचन्द्र विश्वकर्मा, विमल गायक र सुभाष नेपालीसँग शिवहरि ज्ञवाली गफिए । यो सेसनमा उनीहरुले मान्छेका सपना र समय एवम् परिस्थितिले कसरी मानिसलाई सपनाको दास बनाउँछ भन्नेमा संवाद गरे । साथै तमस पुस्तक विमोचनका अवसरमा खगेन्द्र संग्रौला र गनेस पौडेलसँग गफिए, भूपेन्द्र खड्का । यो ससनमा ढकालको यही पुस्तकमाथि वक्ताहरुले चर्चा गरेका थिए । कार्यक्रममा संग्रौलाले पुस्तकसँगै नारायण ढकालको व्यक्तित्वमाथि आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा अध्ययनको भोक शीर्षकमा अन्तक्र्रिया भयो । यसमा संवाद गरेका थिए, शान्ता चौधरी, करिश्मा मानन्धर र सविना कार्कीले । यसमा उनीहरुले नेपालमा बढ्दै गएको पठन संस्कृति र शिक्षा एवम् पठन अभिरुचिबारे छलफल गरेका थिए । साथै पठन अभिरुचिबारे समाजमा सचेतना जगाउनुपर्नेमा उनीहरुको जोड थियो । यही सेसनको अली मियाँ कक्षमा कारागारमा किताबी संसार शीर्षकमा संवाद चल्यो । यसमा संवाद गरे, महेशविक्रम शाह, धर्मराज विश्वकर्मा र कुमारी लामाले । उनीहरुले नेपालमा कारागारको अवस्था र त्यहाँका दुरवस्थाबारे चर्चा गरे । साथै कारागारमा कतिपय अवस्थामा निर्दाेष मानिस पनि परेको र उनीहरुका लागि लडिदिने कोही नभएको गुनासो गरे ।

यससँगै अर्काे सेसन रह्यो, दृष्टिदान । यो शीर्षकमा संवादमा थिए, नेत्रचिकित्सक सन्दुक रुइत र रवि लामिछाने । यसमा उनीहरुले नेपालमा अन्धोपनको समस्या मात्र केलाएनन्, त्यसमा भइरहेका पहलबारे पनि छलफल गरे । साथै डा. रुइतले पु¥याएको योगदानबारे पनि प्रस्तोता लामिछानेले केही सन्दर्भ उजिल्याए । रुइतले आफूले नेपालमा नेत्रचिकित्साको क्षेत्रमा गरेका र गर्न खोजेका विषयबारे आफ्ना धारणा राखे । साथै नेत्रचिकित्सको क्षेत्रमा अर्थात् नेपालमा कम शुल्कमा मोतियाबिन्दुको शल्यक्रिया हुने गरे पनि त्यसलाई औद्योगिक राष्ट्र एवम् विकसित मुलुकमा ५ हजार डलर लाग्ने उनले बताए । त्यसैले मोतियाबिन्दुको शल्यक्रिया नेपालका लागि वरदान सावित भएको रुइतको भनाइ छ ।

आफ्नो कर्ममा प्रतिबद्ध डा. रुइतले यसैमा आफू रमाएको बताए । साथै अहिलेको अवस्थामा आफूलाई राष्ट्रपतिको अफर आए पनि त्यसलाई नस्विकार्ने उनको भनाइ छ । आफ्नो कर्म आफ्ना लागि सबथोक भएको र सर्वसाधारणको सेवा गर्न पाउँदा त्यसले आफूलाई सर्वस्व दिएको उनले बताए ।

महोत्सवको अर्काे सेसन थियो, बतासमा बारुदको गन्ध । यसमा सहभागी भए, मनोरञ्जन व्यापारी र दिनेश काफ्ले । रोचक किसिमको यो सेसनमा मनोरञ्जन व्यापारीले आफूले जीवनमा घटाएका वा घटाउनुपरेका अनौठा घटनाबारे रोचक प्रसंग सुनाए । साथै आफ्नो अध्ययन एवम् बाल्यकालका कठिन एवम् रोचक प्रसंगबारे पनि व्यापारीले आफ्ना अभिव्यक्ति दिए ।

यही समयमा राजनीतिको अपराधीकरण, अपराधको राजनीतिकरण शीर्षक सेसन रह्यो । यसमा गफिए, देवेन्द्र सुवेदी, हरिबहादुर थापा र जनकराज सापकोटा । उनीहरुले नेपालमा बढ्दै गएको आपराधिक गतिविधि र तिनका नियन्त्रणका उपाय मात्र सुझाएनन्, राजनीतिक वृत्तमा पनि हाबी भएको अपराधीकरणले कसरी समस्या निम्तिँदै गएका छन् भन्नेबारे छलफल गरे । नेपालमा कसरी अपराधीकरण हाबी भइरहेको छ भन्नेमा वक्ताहरुले अन्तर्राष्ट्रिय उदाहरणसमेत प्रस्तुत गरे । निर्वाचनताका जितका लागि उम्मेदवारहरुले कसरी गुन्डाहरुको सहारा लिन्छन् भनेर समेत यो सेसनमा छलफल भयो । साथै भ्रष्टाचारलगायत अभियोगमा बन्ने गरेका छानबिन आयोग पनि जनताको आँखामा छारो हाल्न मात्र गर्ने गरिएकोमा वक्ताहरुको भनाइ थियो ।

महोत्सवको अर्काे सेसन थियो, जाग लम्क, चम्क हे खेलकुदका बदलिँदा आदर्श । यसमा मीरा राई, ननिता बज्राचार्यसँग छलफलमा जुटिन्, शिवानीसिंह थारु । उनले नेपालको खेलकुदको अवस्था, यसका समस्या मात्र केलाएनन्, यसमा जम्न, अघि बढ्न र जित्न कति कठिन छ भन्नेबारे पनि चर्चा परिचर्चा गरे । साथै यस क्रममा आफूहरुले भोग्नुपरेका समस्याबारे पनि उनीहरुले आआफ्ना धारणा राखे ।
यसै समयमा अर्काे सेसन पनि चल्यो, राइटिङ होम एन्ड होमल्यान्ड शीर्षकमा । यसमा गफिए, जमिल जन कोचाई र इतिशा गिरी । यसमा उनीहरुले आफ्नो जम्नस्थान र देशका बारेमा गरिने सिर्जना एवम् साहित्यबारे चर्चापरिचर्चा गरे ।

यसैगरी नेपाल नेक्सस – राजनीतिमा भूराजनीति सेसन पनि महोत्सवको आकर्षणका रुपमा रह्यो । यसमा नेता गगन थापा, पत्रकार सुधीर शर्मा र यादव देवकोटाले छलफल गरे । उक्त अवसरमा शर्माद्वारा लिखित अंग्रेजी पुस्तक नेपाल नेक्सस सार्वजनिकीकरण पनि गरियो । सेसनका अवसरमा नेपालमा बढ्दै गएको राजनीतिक हस्तक्षेप एवम् सीमा समस्या, राजनीतिक नेतृत्वमा देखिएको अदूरदर्शीपन, त्यसले निम्त्याएका समस्या, सीमा समस्या समाधानमा नदेखिएको पहल आदि विषयमा छलफल गरे । साथै भूराजनीतिमाथि भइरहेको राजनीतिबारे उनीहरुले विषद् व्याख्या विश्लेषण पनि गरे ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

अक्षरयात्रा प्रतिभा पुरस्कार पौडेललाई

पोखरा थिएटर तेस्रो वर्षमा प्रवेश

खसआर्य संग्रहालयको शिलन्यास

ज्येष्ठ नागरिक रमाए ठाडोभाकामा

आनन्दमणि–टुल्की साहित्य पुरस्कार डा.सुकुमलाई

प्रमुख समाचार

जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका