साहित्य महोत्सवमा रमाए सहभागी

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
Session on Federalism (1)

मंसिर २७, पोखरा । पोखरामा शुक्रबार सुरु भएको आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करणको पहिलो दिनमा विभिन्न सेसनमा रोचक एवम् बौद्धिक छलफल चल्यो । तालबाराही चोक, लेकसाइड पोखरामा शुक्रबार एक भव्य समारोहबीच उद्घाटन भएको महोत्सवको पहिलो दिन ६ सेसन सञ्चालन भए ।

महोत्सवको पहिलो सेसन थियो, लेक रहे पो लेकसाइड । यसमा देवेन्द्रराज लामिछाने, किशोर थापा, विश्वप्रकाश लामिछाने र गणेशबहादुर भट्टराईले लेकसाइडबारे आफ्ना भनाइ राखे । दीपेन्द्र श्रेष्ठ प्रस्तोता रहेको यो सेसनमा सहभागीहरुले अतिक्रमणमा परेको फेवातालबारे मात्र कुरा उठाएनन्, यसको समस्या समाधानका लागि पनि सरोकारवाला निकायले पहल गर्नुपर्नेमा जोड दिए । फेवातालमा भइरहेको अतिक्रमणका बारे उनीहरुले आवाज उठाए, सँगै यसलाई जोगाउनेतर्फ पनि सरोकारवालाले आआफ्नो स्थानबाट पहल गर्नुपर्नेमा उनीहरुले जोड दिए । तालको पानीमुनि पनि निजी जग्गा देखिएको अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण भएको उनीहरुको भनाइ छ ।

दोस्रो सेसन थियो, समानताको लडाइँ । यसमा चन्द्र भद्रा, भारती सिलवाल गिरी, बिन्दा पाण्डे र अमित ढकालले छलफल गरे । यो सेसनमा महिला आन्दोलनदेखि लोकतन्त्रको प्राप्तिसम्म महिलाहरुका योगदान र समानता आदिका विषयमा चर्चा भयो । महिला हिंसा किन हुन्छ, यो कहाँबाट सुरु हुन्छ र यसमा समाज एवम् पारिवारिक भूमिका केकस्तो रहन्छ भन्नेबारे उनीहरुबीच गहन छलफल भयो । साथै समाजका हरेक क्षेत्रमा पुरुष मानसिकता हाबी भएका कारण समस्या भएको र समानता स्थापित गर्न सर्वप्रथम मानसिकतामै परिवर्तन आउनुपर्नेमा उनीहरुले जोड दिए ।

महोत्सवको तेस्रो सेसन, हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालमाथि आधारित थियो । हास्यव्यङ्ग्य , भैरव अर्याल मीमांसा शीर्षक सेसनमा गफिए, साहित्यकार अमर न्यौपाने र रोचक घिमिरे । उनीहरुले हास्यव्यङ्ग्य निबन्धको क्षेत्रमा भैरव अर्यालले पु¥याएको योगदानबारे चर्चापरिचर्चा गरे । साथै उनका निबन्धकृतिबारे त चर्चा भयो नै, सँगै अर्यालको लेखनशैली र प्रवृत्तिबारे पनि यो सेसनमा छलफल भयो । यो सेसनमा भैरव अर्यालले आफ्नाे  जीवनमा भोग्नुपरेका कठिन अवस्थाबारे पनि उनीहरुले कुराकानी गरे । जस्तो कि, आफ्नै बिहेमा कोट लगाउन नपाएको, कोटकै कारण पत्रकारिता क्षेत्रमा लागेका अर्यालले संसद्को रिपोर्टिङ गर्न नपाएका जस्ता घतलाग्दा विषय सेसनमा उठे । साथै भैरव अर्यालले स्वेच्छाले मृत्युवरण गरेका विषयबारेका घतलाग्दा प्रसंगमा पनि छलफलमा आए ।

चौथो सेसन रह्यो, संघीयताको सकस । यसमा टीकाराम यात्रीसँग छलफलमा थिए, प्राध्यापक कृष्ण खनाल र संविधानविद् भीमार्जुन आचार्य । नेपालमा संघीयतापछिको अवस्था र यसका सकारात्मक एवम् नकारात्मक असरबारे उनीहरुले छलफल गरे । साथै नेपालको सन्दर्भमा संघीयताले पारेको प्रभावमा पनि उनीहरु केन्द्रित रहे । अध्ययन एवं पूर्वतयारीबिना ल्याइएको संघीयताले कतै नेपाललाई दुर्घटनामा त लौजाँदैन ? भन्नेलगायत विषयमा यो सेसनमा बहस भयो ।

पाँचौं सेसन थियो, काव्यिक आन्दोलन । यो सेसनमा तीर्थ श्रेष्ठ, मणि काफ्ले, ज्योति जंगल र अक्षर काकाले नेपालमा काव्यिक आन्दोलनका विषयमा समीक्षात्मक अभिव्यक्ति दिए । नेपालमा काव्यिक आन्दोलनको सुरुवात, यसको विस्तार र प्रभावबारे उनीहरुले आआफ्ना धारणा राखेका थिए । यसैगरी महोत्सवको पहिलो दिनको अन्तिम सेसन थियो, वाह गजल । यो सेसनमा गजल वाचन भयो । यसमा सहभागी थिए, शीतल कादम्बिनी, नीरज भट्टराई, ईश्वर दाहाल, इम्तियाज वफा, संगीता थापा, राबत र बाबु त्रिपाठी ।

Related News

सम्बन्धित समाचार

hero news full width