सार्वजनिक खरिद नियमावली संशोधन विरोधमा निर्माण व्यवसायी

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
20191212_101046_Fotor

निर्माण व्यवसायीसँग छलफल नै नगरी सार्वजनिक खरिद नियमावली संशोधन गरेको आरोप सरकारलाई छ। जसका कारण निर्माण व्यवसायी संशोधित नियमावलीबाट मारमा परेको भन्दै यतिबेला आन्दोलित छन्।

नेपाल निर्माण व्यवसायी संघ कास्कीको विहीवार पोखरामा २७ औं वार्षिक साधारणसभामा ठूला निर्माण व्यवसायीले पनि सरकारद्वारा गरिएको सार्वजनिक खरिद नियमावली संशोधनको विरोध गरे। व्यवसायीसँग छलफल नै नगरी सरकार एकलौटीरुपमा अगाडि बढेकोले थप समस्यामा परेको गुनासो उनीहरुको छ।

साधारणसभा शुभारम्भ गर्दै निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले दुइतिहाई सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरी ‘गर कि मर’ को अवस्थामा पुर्याएको बताए। नियमावली संशोधन विरोधमा आन्दोलित व्यवसायीले सफलता हासिल नगरेसम्म संघर्षका कार्यक्रमले निरन्तरता दिने चेतावनी उनले दिए।

‘सरकारले हिजोको दिनमा म्याद थप र बैंक क्रेडिटलाइन सार्वजनिक खरिद ऐनका कारण यतिबेला २ हजारभन्दा बढी आयोजना समस्याग्रस्त अवस्थामा छन्, ’ सिंहले भने, ‘सरकारले म्याद थप गरी कुनै जरिवानाबिना नै काम गर्ने वातावरण निर्माण व्यवसायीलाई मिलाउनु पर्छ। ’

निर्माण व्यवसायी सरकारसँग २५ बुँदे माग राख्दै हाल आन्दोलित छन्। नयाँ नियुक्त भौतिक योजना तथा निर्माण मन्त्रीबाट ऐन र नियमावली संशोधन गर्ने ठोस आश्वासन प्राप्त भएकाले केही दिनका लागि आन्दोलन स्थगित भएको हो। सार्वजनिक खरिद ऐन निर्माण व्यवसायीको हितमा हुनुपर्ने उनको जोड छ।

कार्यक्रममा निर्माण महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचनले सरकारबाट व्यवसायीले लाभ लिन खोजेको नभइ सहुलियत लिन खोजेको बताए। उनले सरकारले म्याद थपको निर्णय आफैले कार्यान्वयन नगरी व्यवसायी मर्कामा परेको आरोप लगाए। ‘बिनाशर्त सरकारले समस्याग्रस्त आयोजना सम्पन्न गर्न व्यवसायीलाई काम गर्ने वातावरण सृजना गर्नुपर्छ, ’ उनले भने, ‘व्यवसायीलाई धरापमा पार्ने काम नहोस्। ’

अग्रज निर्माण व्यवसायी शिवशंकर गौचनले राजनीतिक दललाई चुनावमा व्यवसायीबाट चन्दा चाहिने तर निर्माण व्यवसायीको अफ्ठ्यारोमा पारेर लात हान्ने काम गरिएको हुँदा त्यसविरुद्ध सबै एकजुट हुनुपनेर्मा जोड दिए।

निर्माण व्यवसायी महासंघ वरिष्ठ उपाध्यक्ष निकोलश पाण्डेले सरकारको आर्थिक नीति गलत लिएकै कारण आर्थिक सूचाकांक निराशाजनक भएको दाबी गरे। ‘बैंकका आम्दानी घटेका छन्। निर्माण व्यवसायीलाई अफ्ठ्यारोमा पारेर काम नगर्ने अवस्थामा पुर्याइन्छ, ’ उनले भने, ‘यसरी देश कहिलेसम्म चल्छ? ’

निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले नियमावलीको नाउँमा सरकारले व्यवसायीलाई जरिवाना लगाएर मारमा पार्न खोजेको आरोप लगाए। ‘यस्तो मारमा देशका १५ हजार व्यवसायी परेका छन्, ’ उनले भने।

निर्माण व्यवसायी संघ गण्डकी प्रदेश संयोजक ओम गौचनले कर्मचारीतन्त्रबाट नै निर्माण व्यवसायी प्रताडित भएको र राजनीतिक दलका नेतालाई बिगार्ने पनि कर्मचारी नै भएको आरोप लगाए।

महासंघका गण्डकी सदस्य उत्तम भट्टले राज्यले निर्माण व्यवसायीलाई पेल्दै आएको बताए। यसको समस्या समाधान नभएसम्म आन्दोलन निरन्तर अगाडि बढ्ने भनाइ उनको छ। निर्माण व्यवसायी संघ कास्की सल्लाहकार चिरञ्जीवी पोखरेलले साना निर्माण व्यवसायी सधैँ मर्कामा छन्, त्यसमाथि पनि राज्यले पेल्दा अधिकारको लागि आन्दोलनको विकल्प नभएको बताए। ‘महासंघले आन्दोलन गरोस् साना व्यवसायी आन्दोलन चर्काउन तयार छ, ’ पोखरेलले भने। लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष बलराम ढकालले सरकारको नीतिनियम पालना गर्नुपर्छ तर नीतिनियम ठिक नहुँदा व्यवसायी समस्यामा पर्ने गरेको बताए।

उक्त अवसरमा हेभी इक्प्युमेन्ट संघ कास्की उपाध्यक्ष रामचन्द्र तिमिल्सेना, गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशलाल कर्ण, पोखरा उद्योग वाणिज्य संघ सदस्य हर्क अधिकारी, निर्माण व्यवसायी संघ स्याङ्जा महासचिव कृष्णप्रसाद पोखरेल, तनहुँ अध्यक्ष रत्नकुमार श्रेष्ठ, नवलपुर अध्यक्ष गौमाया खण्डलुक, जनमोर्चाका नेता ठाकुर बराल लगायतले भनाइ राखेका थिए। निर्माण व्यवसायी संघ कास्की अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सचिव सुवर्ण श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष लिलकाजी गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।

विद्यार्थीलाई निर्माण विद्यापदक

संघ कास्की शाखाका सदस्यका छोराछोरीमध्ये एसइईमा उत्कृष्ट अंक ल्याउने ३ जनालाई पुरस्कृत गरिएको थियो। जसमा जेके निर्माण सेवा पोखरा–१७ का संचालक ईश्वरीप्रसाद पौडेलका छोरा सन्देश, एभरेष्ट कन्स्ट्रसन फर्म पोखरा–५ का संचालक डिल्लीराम गौतमका छोरा आयुष र कोइराला ब्रदर्श कन्स्ट्रक्सका संचालक कृष्णप्रसाद कोइरालाकी सुपुत्री स्वीकृतिलाई प्रोत्साहनस्वरुप निर्माण विद्यापदक सहित जनही २० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो। त्यस्तै, निर्माण व्यवसायी संघ कास्कीलाई विशेष योगदान गरेकोमा निर्माण व्यवसायी आईपी कन्स्ट्रसन पोखरा–६ का संचालक सनतकुमार श्रेष्ठ, विश्व निर्माण सेवा पोखरा–२७ का संचालक भरतराज भट्टराई र प्रिएसए निर्माण सेवा पोखरा–७ का संचालक गीतादेवी अधिकारीलाई सम्मान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width