अबको १४ औं साग पाकिस्तानमा

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७६
Sag Samapan_Fotor

दक्षिण एसियाली खेलकुद सागको १३ औं संस्करण मंगलबार सकिएको छ। नेपालमा आयोजना गरिको साग खेलकुद प्रतियोगिता साग दशरथ रंगशालाबाट समापन गरिएको हो।

मंसिरको १५ गतेबाट सागको उद्घाटन पनि यसै रंगशलाबाट गरिएको थियो। औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भयो।

समापन समारोहलाई भिडियो प्रबिधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता ब्यवस्थित र भब्य रुपमा सम्पन्न भएकोमा हर्ष ब्यक्त गरे। उनले प्रतियोगितालाई सफल पार्न खट्ने र सहभागी हुने सबैलाई नेपाल सरकारका तर्फबाट धन्यबाद ब्यक्त गरे।

प्रधानमन्त्री ओलीले बुधबार खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै खेल क्षेत्रका लागि बिशेष प्याकेजको घोषणा गर्ने सो अवसरमा जानकारी गराइएको थियो।

कार्यक्रमका प्रमुख अतिथी उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले सागको १३ औं संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकोमा हर्षित भएको बताए। ३५ बर्षअघि नेपालबाटै शुरु भएको सागको १३ औं संस्करण ऐतिहासिक साबित भएको चर्चा गर्दै उनले यो सफलताले बिश्वसामु नेपालको शिर अझ उचो बनाएको बताए।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार) विश्वकर्माले प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएकोमा खुसी ब्यक्त गर्दै सहभागि राष्ट्र, खेल ब्यबस्थापक, खेलाडीलगायत सबैलाई धन्यबाद दिए।

स्वागत मन्तब्य ब्यक्त गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको सफलताले खेल क्षेत्रमा अझ उर्जा र उत्साह जागेको बताए।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब रमेशकुमार सिलबालले यो प्रतियोगिताको ऐतिहासिक सफलताले नेपालले जस्तो सुकै अबस्थामा पनि गर्न सक्छ भन्ने सन्देश दिएको बताए।

काठमाडौं, पोखरा र जनकपुरमा गरि सागका विभिन्न खेलहरु खेलाइएको थियो। यस संस्करणको सागमा पहिलोपटक २७ वटा खेल समावेश थियो। नेपालले सबै खेलहरुमध्ये आयोजक नेपालले २४ खेलमा सहभागिता जनाएको थियो।

यस संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल बन्यो। यसअघिका सागमा नेपालले यतिको संख्यामा स्वर्ण जितेको थिएन। १४ औँ साग पाकिस्तानमा हुनेछ।

पदक तालिका अनुसार भारतले सर्वाधिक स्वर्ण हात पार्यो। भारतले सर्वाधिक १७४ स्वर्ण, ९३ रजत तथा ४५ कांस्य जित्यो। भारतलाई स्वर्ण, रजत र कांस्य गरि सबैभन्दा बढी ३१२ पदक हात लाग्यो।

दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्ण जित्दा ६० रजत तथा ९५ कांस्य हात पार्न सफल भयो। नेपालका लागि २ सय ६ वटा पदक जित्यो। श्रीलंकाले ४० स्वर्ण जित्दा, ८३ रजत तथा १२८ कांस्य जित्यो। तेस्रो स्थानको श्रीलंकाले २५१ पदक जित्यो।

पाकिस्तान पदक तालिकाको चौथो स्थानमा रह्यो। ३१ स्वर्ण जितेको पाकिस्तानले ४१ रजत तथा ५९ कास्य जित्न सफल बन्यो। पाँचौं स्थानको बंगलादेशले १९ स्वर्ण, ३२ रजत तथा ८७ कांस्य जित्यो।

छैठौं स्थानको माल्दिभ्सले १ स्वर्ण जित्दा शून्य रजत तथा ४ कांस्यमा सीमित बन्यो। सातौं तथा अन्तिम स्थानको भुटानले शून्य स्वर्ण, ७ रजत तथा १२ कांस्यमा समेटियो।

Related News

सम्बन्धित समाचार

hero news full width