प्रहरीले पत्रकार अधिकारीलाई आतंकित पारेको प्रति प्रेस युनियनको आपत्ति

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
Rajendra

पोखरा, २५ मंसिर । नेपाल प्रेस युनियन कास्कीले पोखराका पत्रकार राजेन्द्र अधिकारीलाई प्रहरी प्रशासनले आतंकित पार्ने काम गरेकोभन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

केही दिन यता पत्रकार अधिकारीलाई विभिन्न वहानामा आतंकित बताउँदा उनी पोखराबाट विस्थापित हुनुपरेको भन्दै तत्काल पोखरा फर्केर पत्रकारिता गर्ने वातावरण निर्माण गर्न माग गरेकोे छ ।
कुनै पनि वहानामा पत्रकारलाई प्रभावित पारिनु निन्दनीय छ, विज्ञप्तिमा भनिएको छ –पत्रकारलाई आतंकित पार्न छोडेर सुरक्षाको प्रत्याभूति दिन माग गर्दछौं।

युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार अधिकारीलाई शारीरिक तथा मानसिक याताना दिने उद्देश्यले सादा पोशाकका प्रहरी खटाइ जिल्ला प्रहरी कार्यालय कास्कीले निगरानी गरेकोप्रति आपत्ति जनाइएको छ । विज्ञप्तिमा राजनैतिक आस्थाका आधारमा पटकपटक पत्रकारलाई पक्राउ गर्ने र यातना दिने क्रम नरोकिएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ ।

संविधानमा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएपनि समाचारको विषयलाई लिएर पत्रकारलाई आतंकित पारिनु निन्दनीयसँगै संविधान विपरीत रहेको हाम्रो ठहर छ । नेपाल प्रेस युनियन कास्की प्रहरीबाट हुने यस्ता कार्यको घोर भत्सर्ना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न जोडदार माग गर्दछ । अधिकारी नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष हुन् । हाल उनी न्यूज २४ टेलिभिजनमा आवद्व छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width