साग महिला फुटबलमा नेपाल रजतमै समेटियो

महिला फुटबलको प्रशिक्षकबाट हरि खड्काको राजीनामा, नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापा र मनमाया लिम्बुलाई सम्मान

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
Nepali TeamSAG Womens Football Runner Up

पोखरा । घरेलु भुमीको पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल फेरि रजत पदकमै समेटिएको छ ।

पोखराको फुटबल स्टेडियममा घरेलु दर्शकलाई साक्षी राखेर पहिलो स्वर्ण चुम्ने लक्ष्यमा रहेको नेपाल यस संस्करणको साग गेममा पनि भारतसँग स्तब्ध बन्यो ।

पोखराको नवनिर्मित फुटबल स्टेडियममा सोमबार भएको फाइनलमा भारतसँग २–० ले हार्दै नेपाल रजतमै समेटिएको हो । दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको फाइनलमा नेपाल लगातार तेस्रो पटक भारतसँग स्तब्ध बनेको हो ।

विजेता भारतले भने स्वर्ण हात पारेको छ । यस संस्करणको साग महिला फुटबलमा बालादेवीले भारतलाई स्वर्ण दिलाइन् । भारतका बालादेवी एक्लैले फाइनलमा दुई गोल गरिन् । प्राप्त अवसरलाई बालादेवीले रामै्रसँग सदुपयोग गरिन् ।

प्रतिस्पर्धात्मक खेलमा भारतका लागि बालादेवीले खेलको १८ र ५५ औं मिनेटमा गोल गर्न सफल भइन् । बालादेवीले पहिलो गोल नेपालकी कीपर एञ्जिला तुम्बाप्पो सुब्बा बिट भएको अवस्थामा वान टचमा गोल गरेकी थिइन् । बालादेवीले दोस्रो गोल भने डीबक्सभित्रैबाट हानेकी थिइन् ।

नेपाली डिफेन्डरहरु अमृता जैसी, हिराकुमारी भुजेल, गिता राना र पुनम जर्घामगरले बालादेवीलाई रोक्नै सकेनन् । यता, नेपालकी स्टार ‘साम्बा’ भने खेल अवधिभर भारतीय डिफेन्डरहरुको मार्कमा रहिन् ।

कमजोर फिनिसिङका कारण यस पटक पनि नेपालले भारतसँग बदला लिने अवसर गुमायो । नेपालले गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न सकेन । पोखराको फुटबल स्टेडियममा भरिएको नेपाली फुटबल फ्यानहरुको हुटिङका बाबजुद पनि नेपाली टिमले भारतलाई नतिजा सुम्प्यो । हरेक पोजिसनमा भारतीय खेलाडीहरुलाई खुलेर खेल्न दिनु नै नेपाली टोलीको कमजोरी रह्यो ।

आठौं मिनेटमा सावित्रा भण्डारी ‘साम्बा’ को प्रहारलाई भारतीय कीपर अदिती चौहानले बचाउ गरिन् । ४८ औं मिनेटमै ‘साम्बा’ को प्रहारलाई अदितीले पञ्च सेभ गरेर बचाइन् । ७२ औं मिनेटमा ‘साम्बा’ कै कडा प्रहारको बल क्रसबार हुँदै बाहिरियो ।

खेलको ३३ औं मिनेटमा भारतकी रत्नाबालादेवीले करिब ३० यार्ड टाढबाट सिधा पोष्टमा प्रहार गरेको लङबललाई नेपाली डिफेन्डर अमृता जैसीले गोललाइनबाट बचाइन् ।

नेपालका प्रशिक्षक हरि खड्काले कमजोर फिनिसिङ र स्ट्राइकिङका कारण नेपालले खेल गुमाउनुपरेको प्रतिक्रिया दिए । ‘नेपाली टोलीमा पाएको अवसरलाई सदुपयोग गर्न सक्ने खेलाडीको अभाव रह्यो,’ खेलपछिको पोष्ट म्याच कन्फरेन्समा प्रशिक्षक खड्काले भने ।

भारतीय प्रशिक्षक मेमोल रक्कीले भने नेपालकै घरेलु मैदानमा स्वर्र्ण जित्नु ठूलो कुरा रहेको प्रतिक्रिया दिइन । रक्कीले भनिन, ‘नेपाली टिमको प्रदर्शनलाई सम्मान छ, नेपालको टिम राम्रो लयमा छ । यसअघिको तुलनामा नेपालले गोल अन्तर घटाउँदै लगेको छ ।’

राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिम फाइनल चरण प्रवेश गरेका थिए । दक्षिण एसियाली महिला फुटबलमा नेपालको लागि सधैं भारत बाधक बन्दै आएको छ । लिग चरणको खेलमा समेत भारतले नेपाललाई १–० को रोचक जित निकालेको थियो ।

फुटबलको कास्य पदक माल्दिभ्सले जितेको छ । शनिबार भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई २–१ ले हराउँदै कास्य जितेको हो । महिला फुटबलमा नेपाल, भारत, माल्दिभ्स र श्रीलंका गरी चार देशको सहभागिता थियो । नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो । दोस्रो खेलमा माल्दिभ्सलाई ३–० ले हराएको थियो ।

यसअघि, जायन्ट नेपाल–भारतको फुटबलमा भेट यस्तो थियो

सन् २०१० मा बंगलादेशको ढाकामा भएको ११ औं सागमा पहिलोपल्ट नेपालको महिला फुटबल टोलीले सहभागिता जनाएको थियो । त्यस संस्करणको सागमा नेपाली टोलीले फाइनलयात्रा तय गरेको थियो । उपाधि भिडन्तमा नेपाली टोली भारतसँग ३–१ ले स्तब्ध बन्यो । पाँच टोली सहभागी प्रतियोगिताको समूहगत चरणमा नेपालले दोस्रो स्थानमा रहँदै फाइनलयात्रा निश्चित गरेको थियो । समूहगत चरणमा भारतसँग पराजित भएको नेपाल फाइनलमा पनि उसैसँग पराजित हुँदै रजत पदकमै सीमित बनेको थियो ।

सन् २०१६ मा भारतकै गुहावटीमा भएको साग खेलकुदमा नेपाल दोस्रोपटक फाइनलमा पुग्यो । यसपटक पनि नेपाल भारतसँग नै ४–० को भारी गोल अन्तरले हार्दै रजत पदकमै समेटिन पुग्यो ।

दक्षिण एसियाली खेलकुद (साग) बाहेक महिला फुटबलमा नेपाल–भारत ५ पटक आमने–सामने भएका छन् । पाँच पटकको भेटमा नेपालका लागि भारत बाधक बनेको छ । नेपालले भने भारतलाई खेलमा मात्रै पराजित गरेको छ ।

सन् २०१० मै नेपाली महिला टोलीले दक्षिण एसियाको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ महिला च्याम्पियनसीपमा सहभागिता जनायो । बंगलादेशको कक्सबजारमा भएको फाइनल खेलमा नेपालका लागि भारत नै बाधक बन्यो । उपाधिका लागि फाइनल भिडेको नेपाल भारतसँग नै १–० गोलले स्तब्ध बन्यो ।

नेपाली महिला टोली सन् २०१२ मा भएको साफ च्याम्पियनसीपको दोस्रो संस्करणमा पनि फाइनलमा पुग्यो । श्रीलंकामा भएको यस प्रतियोगिताको फाइनलमा फेरि नेपालको भेट भारतसँग नै भयो । त्यतिबेला पनि उपाधि भिडन्तमा भारतसँग नेपालले ३–१ ले हार ब्यहो¥यो । सुरुवाती अग्रता बनाएर पनि नेपालले त्यस खेलमा पराजय बेहोरेको थियो ।

सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनसीपमा नेपालले लगातार तेस्रोपटक फाइनलमा स्थान सुरक्षित गरेको थियो । अघिल्ला दुई संस्करणमा लगातार पराजय बेहोरेको नेपालसामु फाइनलमा फेरि पनि भारत नै प्रतिद्वन्द्वी थियो ।

उक्त खेलमा पनि नेपालसामु भारत नै बाधक बन्यो । भारतले नेपाललाई ६–० को भारी गोल अन्तरले हरायो । सन् २०१४ को तेस्रो साफ च्याम्पियनसीपमा भारतविरुद्ध व्यहोरेको ६–० को नतिजा नै अहिलेसम्मको फराकिलो हार हो ।

भारतले आयोजना गरेको हिरो गोल्डकपमा नेपालले सहभागिता जनायो । हिरो गोल्डकपमा भने भारतलाई उसकै मैदानमा पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित ग¥यो । नेपालले आफ्नो प्राप्त गरेको महत्वपूर्ण यस उपलब्धिलाई फाइनलमा भने निरन्तरता दिन सकेन ।

समूहगत चरणको खेलमा भारतलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको नेपाल उपाधि भिडन्तमा म्यानमारसँग ३–१ ले पराजित भयो ।

घरेलु बिराटनगरमा भएको चौथो संस्करणको साफ महिला च्याम्पियनसीपको फाइनलमा नेपालले स्थान बनायो  । यस प्रतियोगितामा नेपाललाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको थियो । उक्त फाइनलमा पनि नेपाल फाइनलमा भारतसँगै ३–१ ले स्तब्ध बन्यो ।

महिला फुटबलको प्रशिक्षकबाट हरि खड्काको राजीनामा

महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले समेत राजीनामाको घोषणा गरेका छन् । प्रशिक्षक हरि खड्काले नेपालको महिला फुटबल टिम सम्हालेपछि भारतसँग यो तेस्रो हार हो । यसै संस्करणको राउण्ड रोबिनको खेलमा पनि नेपाल भारतसँग १–० ले हारेको थियो ।

प्रशिक्षक खड्काले टिम सम्हालेपछि शनिबारको खेलसँगै नेपालले भारतसँग चारपल्ट खेल्यो । दुईमा नेपाल पराजित बन्यो । एकमा भारतलाई हरायो र एकमा बराबरी खेल्यो ।

भारतमा भएको हिरो महिला गोल्डकपमा भारतलाई २–१ ले हराउँदै नेपाल फाइनल पुगेर म्यान्मारसँग पराजित बनेको थियो । त्यसअघि, म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेल्यो । गत साफ च्याम्पियनसीपमा घरेलु मैदानमै भारतसँग नेपालले पराजय ब्यहोरेको थियो ।

निरु र मनमायालाई सम्मान

नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापा र मनमाया लिम्बुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्मान ग¥यो । नेपालको फुटबलमा योगदान गरेको भन्दै गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कानुनमन्त्री हरिबहादुर चुमान र सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले निरु र मनमायालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेको हो । सम्मानीत हुँदै गर्दा निरु र मनमायाले हर्षको आँशु झारेका थिए ।

त्यस्तै, मदन भण्डारी फाउण्डेशनद्वारा निरु थापालाई आधा तोला सुन र चार तोला चाँदी जडित ट्रफी प्रदान ग¥यो । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री एवं १३ औं साग पोखराका स्थानीय ब्यवस्थापन तथा सहजीकरण समितिका संयोजक नरदेवी पुनले निरुलाई ट्रफी प्रदान गरेकी हुन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य तथा मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक राजेशकुमार गुरुङले मनमाया लिम्बुलाई समेत फाउण्डेशनको तर्फबाट आधि तोला सुन र चार तोला चाँदी जडित ट्रफी प्रदान गर्ने घोषणा गरे ।

यसअघि, घरेलु मैदान पोखराको फुटबल स्टेडियममा साग महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भएसंँगै निरु र मनमायाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उनीहरुले घरेलु लिग खेल्ने गरी अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।

तस्वीर : दुर्गाप्रसाद पौडेल

Related News

सम्बन्धित समाचार

  • एनएलएलमा धनगढीसँग पोखरा थन्डर्स स्तभ्ध

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
    पोखरा । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा धनगढीले तेस्रो जित निकालेको छ। धनगढी पोखरा थन्डर्सलाई १–० गोलले…
  • महिला खेलाडीबाट बढी स्वर्ण

    आदर्श समाज सम्वाददाता मंसिर २६, २०७६
    १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पुरुषको तुलनामा बढि महिला खेलाडीहरुले स्वर्ण पदक दिलाए। घरेलु मैदानमा भएको…
  • सागमा महिला खेलाडीहरुले दिलाए नेपाललाई बढि स्वर्ण

    आदर्श समाज सम्वाददाता मंसिर २५, २०७६
    पोखरा । १३ औँ दक्षिण दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पुरुषको तुलनामा बढि महिला खेलाडीहरुले स्वर्ण पदक दिलाए…
  • पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार

    आदर्श समाज सम्वाददाता मंसिर २५, २०७६
    पोखरा । १३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा…
  • अबको १४ औं साग पाकिस्तानमा

    आदर्श समाज सम्वाददाता मंसिर २५, २०७६
    दक्षिण एसियाली खेलकुद सागको १३ औं संस्करण मंगलबार सकिएको छ। नेपालमा आयोजना गरिको साग खेलकुद प्रतियोगिता साग दशरथ रंगशालाबाट समापन…

hero news full width