सडक महोत्सवको तयारी शुरु

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७६
Street fest

रेवान पोखराद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक र अतिथि ।

रुपनारायण ढकाल : पोखरा, १८ मंसिर । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान), पोखराको आयोजनामा पुस १२ देखि १६ गतेसम्म लेकसाइडमा २१ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।

खाना, सगीत र संस्कृतिलाई केन्द्रित गर्दै रेवान पोखराले यो महोत्सव आयोजना गर्न लागेको संस्थाका उपाध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण बरालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अंग्रेजी नयाँ वर्ष अवसरमा आतीशवाजी पनि गरिने रेवानले जनाएको छ । पोखरालाई अंग्रेजी नयाँ वर्ष र क्रिसमस मनाउने गन्तव्य रुपमा विकास गर्न महोत्सव आयोजना गर्न लागिएको संयोजक बरालले जानकारी दिए ।

महोत्सवमा सातै प्रदेश र पोखरा सेरोफेरोका संस्कृतिहरु आकर्षणका रुपमा रहने जनाइएको छ । ‘सडकमै खाऔं, सडकमै रमाऔं र सडकमै नाचौं’ नारासहित लेकसाइडको ३ किमी क्षेत्रलाई महोत्सवमय मनाउन आफूहरु अग्रसर रहेको रेवानका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए । रेवान पोखरा महोत्सवको आयोजक भए तापनि पोखराका विभिन्न क्लब, आमा समूह, सामाजिक संघसंस्था र स्थानीय र प्रदेश सरकारले समेत महोत्सवको अपनत्व ग्रहण गरेको रेवानले जनाएको छ । नेपालमा हुने मेला महोत्सवमध्येमै सबैभन्दा धेरै पाहुना सहभागी हुने महोत्सव पनि सडक महोत्सवलाई दाबी गरिएको छ ।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेको र २० लाख पर्यटकहरु देश भित्राउने लक्ष्य राखेको अवस्थामा उक्त कार्यक्रमलाई पनि यस महोत्सवले लक्ष पूरा गर्न सहयोग पु¥याउने विश्वास रेवानले लिएको छ । गण्डकी प्रदेशको भ्रमण वर्ष २०२० उद्घाटन कार्यक्रमको चाँजो पनि यही महोत्सव क्षेत्रभित्र मिलाइएको छ ।

महोत्सव सम्पन्न गर्न रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बराल संयोजक र कार्यसमिती सदस्य नरेशबहादुर भट्टराई तथा वसन्त गौतम सहसंयोजक रहेको २२ सदस्यीय महोत्सव व्यवस्थापन मूलसमिति गठन गरिएको छ । विभिन्न उपसमिति समेत गठित छन् । महोत्सवमा प्रायोजन, टिकट बिक्री लगायतबाट ८५ लाख रुपैयाँ आम्दानी र ७० लाख रुपैयाँको हाराहारीमा खर्च हुने अनुमान रेवानले गरेको छ ।

भारतीय, पाकिस्तानी र किराँत समाजको सांस्कृतिक कार्यक्रम तथा नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरु ३ किमी क्षेत्रको बाटोमा प्रदर्शन गर्ने योजना रेवानले बनाएको छ । खाना महोत्सव, खेलकुद र मनोरञ्जनका कार्यक्रम, हस्तकलाका सामग्रीको प्रदर्शनी, पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन, बालउद्यान, कलाकारबाट लाइभ कन्सर्ट प्रस्तुति महोत्सवका आकर्षण हुन् । सो अवसरमा राजु लामा, सविन राई, कर्म व्याण्ड, अभए एण्ड द स्टिम इन्जिन्स, लाहुरे, माउण्ट ८८४८ जस्ता कलाकार र व्याण्डको प्रस्तुति पनि रहने छ ।

लोकदोहोरी कलाकारतर्फ पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, कृष्ण गुरुङ्ग, बद्री पंगेनी, प्रीति आले, राजन गुरुङ्ग, टीका सानु, सरला पाण्डे, राजु परियार, कमला घिमिरे, सम्झना भण्डारी, कुमार पुन, पार्वती जिसी सो अवसरमा देखा पर्ने छन् ।

हास्य कलाकारमा पोखरेली माग्ने बूढा (दिवाकर भण्डारी) को समूह, मनोज गजुरेल र पुर्खे बा रहने छन् । रत्यौली गीत प्रतियोगिता समेत आयोजना गरिने छ ।
पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले सकारात्मक भावका साथ महोत्सवलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए । पैसाका लागि विद्यमान मूल्य र मान्यता नतोडी व्यावसायिक ढंगले सबै व्यवसायी अगाडि बढ्नुपर्ने सुझाव उनको थियो ।

रेवान पोखराका सल्लाहकार गणेशबहादुर भट्टराईले यो महोत्सव अब रेवानको मात्र नभई पोखरेलीको महोत्सव भएको बताए । उनले नेपाल पर्यटन बोर्डले यस्ता महोत्सवलाई धक फुकाएर सहयोग गर्नुपर्ने सुझाव पनि उनले राखे ।
अर्का सल्लाहकार सूर्यबहादुर भुजेलले महोत्सवमा लोप हुन लागेको वास्तुकलाको प्रतियोगिता आयोजना गर्ने सोच अगाडि बढाइएको सुनाए । उनले महोत्सवमा अनुगमन र गुणस्तर पाटोलाई यो पटक बढी जोड दिइने प्रतिबद्धता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width