मुख्यमन्त्रीले भने– लगानीको वातावरण छैन

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७६
Green Dev Bank

ग्रिन डेभलपमेण्ट बैंक केन्द्रीय कार्यालयको सोमबार पोखरा सभागृह चोकमा उद्घाटन गरेपछि मन्तव्य राख्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्वीर : आदर्श समाज ।

रुपनारायण ढकाल : पोखरा, १६ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा अझै पनि लगानीको वातावरण बन्न नसकेको स्वीकार गरेका छन् । ग्रिन डेभलपमेण्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालयको सोमबार पोखरा–८, सभागृह चोकमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले त्यस्तो भनाइ राखेका हुन् ।

समाज आर्थिक रुपान्तरणक्रममा भए पनि नेपालमा विदेशी लगानी भित्र्याउन र स्वदेशकै लगानी पचिालनका लागि थुप्रै व्यवधान विद्यमान रहेको उनले बताए । अमेरिका, चीन, जापान, भारत र युरोपबाट नेपालमा सन्तोषजनक रुपमा लगानी भित्रिन नसकेको भन्दै उनले लगानी भए पनि त्यसबाट हुने नाफा सम्बन्धित देशमा लैजाने र लगानीको सुरक्ष सम्बन्धी स्पष्ट कानूनी वातावरण अझै नरहेको उनले सुनाए ।

उनले अगाडि थपे, ‘पहिलो कुरा त उद्योग स्थापनाका लागि जग्गा प्राप्तिमा नै धेरै जटिलता रहेका छन् । गण्डकी प्रदेश सरकार आफैंले आफ्ना लागि जग्गा प्राप्ती गर्न सकेको छैन । त्यही भएर जग्गा प्राप्ति प्रक्रियालाई सरलीकृत बनाउन जरुरी छ । यस विषयमा संघीय सरकार गम्भीर बन्नुपर्ने भन्दै उनले उद्योग स्थापनाका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआईए) मा नै २ वर्ष समय गुज्रने गरेको बताए ।

यस सम्बन्धमा उनले पोखराको काहँुडाँडामा बनाउने भनिएको बुद्ध मण्डलाको विषय उठाए । त्यहाँ मण्डला विकासका लागि इआईए रिपोर्टसम्बन्धी प्रक्रिया पूरा गर्न नै २ वर्ष लागेको उनले दाबी गरे । ‘यस्तो लामो तरिकाले नेपालमा कसरी लगानी भित्रिन्छ’, उनले प्रश्न गरे, ‘दुई वर्ष कुरेर को लगानी गर्न आउँछ नेपालमा? इआईए छोटो र फास्ट ट्रयाकबाट गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव उनको थियो ।

अरु देशभन्दा नेपाल तुलनात्मक रुपमा समेत लगानीका लागि योग्य छ भन्न सकिने अवस्था नभएको उनले सुनाए । अरु देशले भन्दा हामीले के राम्रो सेवा र सुविधा दिन सकेका छौं र यहाँ लगानी आउने? उनको प्रश्न थियो । लगानीयोग्य वातावरणका लागि देशको बैंकिङ प्रणाली पनि राम्रो हुनुपर्ने उनले बताए ।

सो अवसरमा उनले बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी बढाउँदै गरिबी घटाउनेतर्फ जोड दिनुपर्ने सुझाव राखे । नेपालमा लगानी र विकासका काम लहडको भरमा हुने गरेको दाबी गर्दै यस्ता कार्य अध्ययन, अनुसन्धान र विकाससँग जोडिनुपर्ने बताए ।

अर्को फरक प्रसंग उठाउँदै मुख्यमन्त्री गुरुङले मनाङ जिल्लामा कस्तुरी मृगको पालन गरी आयआर्जन गर्ने तर्फ प्रदेश सरकारले कानून र योजना बनाएको जानकारी दिए । यसबाट वन्यजन्तुको संरक्षण हुने र आर्थिक लाभ समेत लिन सकिने उनको तर्क थियो । वन्यजन्तु पालन सम्बन्धमा प्रदेश सरकारले कानून बनाइसकेको उनले दाबी गरे । मासु र दूध निकै मिठो हुने भन्दै लिमे जातको भैँसी संरक्षणमा समेत व्यवसायीहरु लाग्न सक्ने सुझाव उनले राखे । पुरकोटे जातको भैँसीले बाह्रैमहिना दूध दिने भन्दै सो जातको भैँसी तथा स्थानीय जातका गाईको संरक्षणमा समेत सम्बन्धित सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा डिल्लीराम पोखरेलले नेपालको वित्तीय अवस्था विगतको तुलनामा सुधार आएको दाबी गरे । नेपालका धेरैभन्दा धेरै स्थानीय तहमा बैंक तथा वित्तीय सेवा विस्तार भएको बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले बैंकहरुले छिटो नाफा कमाउनेभन्दा उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने सुझाव राखे ।

ग्रिन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले उक्त बैंक अब छिट्टै प्रदेशस्तरको विकास बैंक हुनेतर्फ अग्रसर भएको बताए । बैंकले विभिन्न डिपार्टमेन्ट स्टोर र पसलहरुसँग मिलेर आफ्ना ग्राहकलाई छुटका सेवाहरु समेत दिइरहेको आचार्यले सुनाए । बैंकले बागलुङबाट पोखरामा केन्द्रीय कार्यालय स्थानान्तरण गरी बैंकको व्यवसाय वृद्धी सँगै स्थानीय पर्यटन, कृषि तथा स्थानीय उत्पादनसँग सम्बन्धित क्षेत्रमा कर्जा प्रवाह गर्नुका साथै आधुनिक बैंकिङ सेवाहरु प्रदान गरिरहेको उनले बताए ।

डेभलपमेण्ट बैंकर्स एशोसिएसन उपाध्यक्ष तथा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकलाई अगाडि बढाउन निरन्तरको लगाव आवश्यक पर्ने भनाइ राखे ।
ग्रिन डेभलपमेण्ट बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले आमन्त्रित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा संचालक प्रकाशकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । बैंकले हाल कास्की, बागलुङ र म्याग्दीमा रहेका ११ वटा शाखा कार्यालयबाट विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाइल बैंकिङ्ग, निःशुल्क एटिएम सेवा, कनेक्ट आईपिएस जस्ता सुविधाका साथसाथै बचत तथा मुद्दती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ । बैंकले छिट्टै नै नवलपुरको कावासोती र गैंडाकोटमा समेत शाखा विस्तार गर्न लागेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width