द्विपक्षीय व्यापार विस्तार र सहकार्य

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७६
pcc_Fotor

चाइना काउन्सिल फर द प्रमोसन अफ इण्टरनेसनल ट्रेड (सिसीपिटीआई) तथा पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच द्विपक्षीय व्यापार विस्तार तथा प्रविधि हस्तान्तरण लगायत विषयमा सहकार्य गर्ने सहमति भएको छ।

सिसीपिटीआई महासचिव वाङ विरोङको नेतृत्वमा पोखरा आएको प्रतिनिधिमण्डलसँग संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यबीच सोमबार छलफलपछि सो सहमति भएको हो।

पाहुना टोलीबाट छलफलमा चीनको कुन्गाइ प्रान्तको सिनिङ सहरका १० जना उद्योगी/व्यवसायी सहभागी थिए। सिनिङ चीनको पश्चिमी भागमा पर्ने पुरानो सहर हो। सिसीपिटीआईले चीनको लागि अन्तराष्ट्रिय व्यापार/व्यवसाय प्रवद्र्धन गर्छ। सिसीपिटीआई महासचिव वाङले चीन सधैँ छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध गाँस्न र द्विपक्षीय व्यापार गर्न उत्सुक रहेको बताइन्। उनले पोखरामा हुने हस्तकला तथा अन्य क्युरियोका सामानहरु चिनिया बजारमा प्रवद्र्धन गर्न सघाउने वचन दिइन्। पोखराको पर्यटन प्रवद्र्धनमा सघाउनको लागि नेपाल भ्रमण वर्षको प्रचार गर्ने प्रतिबद्धता गरिन्।

संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघका गतिविधिबारे जानकारी दिए। उनले द्विपक्षीय सहकार्यको लागि तयार रहेको बताए। उनले नेपाली हस्तकला र घरेलु उत्पादनहरु निर्यातको लागि सघाउन चिनिया पक्षसँग आग्रह पनि गरे।

संघ उपाध्यक्ष विन्दु कोइराला सुवेदीले चिनियाँ प्रविधि नेपाल भित्र्याउन पोखरा उद्येाग वाणिज्य संघले पुलको काम गर्ने बताइन्।

संघ महासचिव अर्जुन पोखरेलले गण्डकी प्रदेश सरकारले चालु अंग्रेजी वर्ष २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरि विभिन्न कार्यक्रम गर्दै आएको र नेपाल भ्रमण वर्ष २०२० प्रचार गरिदिन पाहुना टोलीसँग आग्रह गरे।

कार्यक्रममा संघका कार्यसमिति सदस्य ऋषिराम शर्मा, हर्कबहादुर अधिकारी, किर्तिबल्लभ त्रिपाठी र केशवबहादुर खत्रीले चिनियाँ पक्षसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए। कार्यक्रममा सहभागी चिनियाँ उद्योगी/व्यवसायीहरुले आफ्ना उत्पादनबारे जानकारी दिएका थिए भने नेपाल र पोखरामा भएका उत्पादनको बजारीकरणमा सघाउने प्रतिबद्धता व्यक्त गरे।

Related News

सम्बन्धित समाचार

hero news full width