बीस वर्षपछि विद्याको बहाली !

प्रकाश ढकाल
मंसिर १६, २०७६
vidhya adhikari

उचाइमा पुगेको राजनीतिक जीवन विस्तारै निस्कृय बन्यो, जतिबेला रवीन्द्र अधिकारीसँग उनको विहे भयो। २०५५ सालमा विहे गर्दा उनी अनेरास्ववियुको केन्द्रीय सचिव थिईन्। घरपरिवारको ब्यवस्थापनमा लागेपछि उनको राजनीति ओझेमा पर्यो। ठ्याक्कै बीस बर्ष भयो, उनी पारिवारमा भुलेको। परिस्थिति बदलियो, चाहना नहुँदा नहुँदै विद्याले २० बर्षपछि राजनीतिमा पुनरागमन गरेकी छिन्।

प्राध्यापनमा रमाईरहेकी उनी आफ्ना श्रीमान् स्व. रवीन्द्र अधिकारीको निधन भएपछि पार्टीको निर्णयलाई आत्मसात गर्दै कास्की आईन्, रवीन्द्रकै पदचाप पछ्याउन। एमाले र माओवादी मिलेपछि बनेको नेकपाकी उम्मेदवार विद्यालाई जनताले पत्याए। पूरानो विरासत नगुम्ने गरी उनले चुनाव जितेकी छिन्।

आइतबार सकिएको मतगणनामा भट्टराईले ८ हजार ४ सय ३ मतको फरकमा चुनाव जितेकी हुन्। उनले २४ हजार ३ सय ९४ मत ल्याउँदा काँग्र्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत पाएका छन्। चुनावको नतिजा घोषणा भएलगत्तै उनले चुनावी समयमा गरेका सबै प्रतिबद्धता पूरा गर्न लागिपर्ने प्रतिक्रिया दिईन्। ‘मलाई जिताउनुहुने सम्पूर्ण मतदातालाई धन्यवाद छ। हिजो चुनावी घरदैलोमा जाँदा गरेका प्रतिबद्धता सँधै सम्झिरहने छु, ’ उनले भनिन्, ‘सबैसँग सरसल्लाह गरेरै अघि बढ्छु। यहाँको विकास निर्माण र आर्थिक समृद्धिमा मेरो जोडवल छ। ’ चुनाव जितेको प्रमाणपत्र लिएर बाहिरिँदै गर्दा विद्याको मुहार मलिन थियो। सबैभन्दा पहिले सम्झिईन्, दिवंगत भएका आफ्ना श्रीमान् रवीन्द्रलाई।

‘सबैभन्दा पहिला नेपाल कम्युनिष्ट पार्टीका नेता, यस क्षेत्रबाट हिजो प्र्रतिनिधित्व गर्नुहुने जनताका प्रतिनिधि, समृद्ध नेपाल, सुखी नेपालीका अभियान्ता मेरा जीवनसाथी सहयोद्धा रवीन्द्र अधिकारी प्रति हार्दिक सम्मान ब्यक्त गर्न चाहान्छु। हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्न चाहान्छु, ’ उनले अघि भनिन्, ‘आज दुखद क्षणबाट उपनिर्वाचन भयो। जनताको अभिमतलाई ३ बर्ष पूरा गर्नका लागि उपनिर्वाचन गर्नुपर्यो। जनताले कम्युनिष्ट पार्टी प्रति विश्वास गर्नुभयो। हामीलाई प्राप्त भएको जनमत रवीन्द्र अधिकारी प्रतिको सम्मान, कम्युनिष्ट पार्टीप्रतिको भरोसा र विद्या भट्टराईप्रतिको भरोसा हो भन्ने ठानेको छु। आगामी दिनमा यो विश्वासलाई अडिग भएर अघि बढाउने प्रतिबद्धता जनाउँछु। ’

धेरैका आँकलनलाई पछि पार्दै भट्टराईले संसद छिर्ने बाटो खोलेकी हुन्। चुनावमा निकै कडा प्रतिश्पर्धा हुने अनुमान थियो। तर त्यसो हुन सकेन। यसअघि स्व. रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा विद्याले रवीन्द्रभन्दा १ सय ६० कम मत ल्याएर जितेकी हुन्। अघिल्लो पटक ८ हजार ५ सय ६३ मतले पछि परेको नेपाली काँग्रेसले थोरै मत बढाउन त सक्यो। तर त्यो जीतका लागि पर्याप्त भएन, नत प्रतिश्पर्धामा अब्बल बन्यो। कास्कीमा १० स्वतन्त्र र ११ राजनीतिक दल गरी २१ जना चुनावी प्रतिश्पर्धामा थिए। तेश्रो भएको समाजवादीले १ हजार ९ सय २२ र चौथो भएको राप्रपाले १ हजार १ सय ५३ मत पाएको छ। बैकल्पिक दावी गरिएको साझा पार्टीले १ हजार मत पनि कटाउन सकेन। २ जना स्वतन्त्र उम्मेदवारले १ मत पाए भने ३ जनाले ४ तथा एकजनाले ५ मत पाए। अधिकांशले निकै न्यून मत पाएका छन्। ७१ हजार ८ सय ७१ मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ४६ मत खसेको थियो। ग्रामिण देखि शहरी भेगसमेत समेटेर पोखरा महानगरका ११ वटा वडाहरु यो निर्वाचन क्षेत्रमा पर्छन्।

विद्यालाई खेमराजको बधाई

उपनिर्वाचनमा पराजीत भएका निकटम प्रतिश्पर्धी काँग्रेस उम्मेदवार खेमराज पौडेलले विजयी उम्मेदवार विद्या भट्टराईलाई बधाई दिएका छन्। मतगणना सकिएलगत्तै बाहिरिएका पौडेलले माला र खादा लगाएर भट्टराईलाई बधाई दिएका हुन्। उनले जनमतको कदर गर्न सुझाएका छन्। धेरैले यो दृष्यलाई राजनीतिभित्रको असल संस्कारको रुपमा प्रशंसा गरेका थिए।

वैकल्पिकको बेहाल

पछिल्ला बर्षहरुमा पूराना राजनीतिक शक्तिले देश परिवर्तन गर्न नसकेको गुनासो सहित साझा र विवेकशील पार्टी खुल्यो। उनीहरुले आफुलाई बैकल्पिक शक्तिको रुपमा दावी गरिरहेका छन्। तथापी कास्की २ का मतदाताले उनीहरुलाई पत्याएनन्। साझाले १ हजार मत समेत कटाउन सकेन भने विवेकशीलले १ सय मत पनि ल्याएन। अघिल्लो पटक दुवै दल मिलेर चुनावमा होमिँदा ८ सय मत कटाएको थियो। साझाले त्यो भन्दा बढी मत ल्यायो तर राजनीतिक ‘कोर्ष चेञ्ज’ गराउन सकेन। आफुलाई बलियो गरी उभ्याउन समेत नसकेको साझाले पार्टीले अहिले ९ सय ४२ मत पायो भने विवेकशीलले ७७ मत पायो।

उम्मेदवारका भन्दा बदर मत बढी

६ सय मत बदर भएको यो क्षेत्रमा उम्मेदवारले सम्मानजनक उपस्थिति पनि देखाउन सकेनन्। प्रतिश्पर्धामा रहेका १६ उम्मेदवारको मत बदरभन्दा पनि नकै न्यून भयो।

नेशनल मंगोल अर्गनाइजेसनका रियाज गुरुङले १ सय ३८ मत पाएका थिए। बदरमत भेट्नका लागि उनी सबैभन्दा निकटतम प्रतिश्पर्धी हुन्। नेपाल कम्युनिष्ट पार्टी (माले) का टेकनाथ भण्डारी ५१, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गंगा मल्ल ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना ३५, नेपाली कांग्रेस (विपी) का चन्द्रबहादुर रानाभाट २८, र देशभक्त समाजबाट विरबहादुर विश्वकर्माले ११ मत ल्याए। उनीहरुले बदर मतलाई पनि जित्न सकेनन्। १० स्वतन्त्र उम्मेदवार रहेको यहाँ कसैले पनि १ सय मत कटाएनन्। स्वतन्त्रमा कमलजंग कुँवरले ६१, विवेकशीलको समर्थनमा जमुना शर्माले ७७ मत, दीपक रेग्मीले ५, नवराज बास्तोलाले १८, रनबहादुर दमैले ४, लक्ष्मी कुमारी भूजेलले ४, सुनिल बहादुर कोइरालाले ११ र सुनिल भूषालले ४ मत ल्याए। उमनाथ गौतम र यज्ञप्रसाद पंगेनीले समान १ मत ल्याए। उनीहरुले आफ्नै प्रश्तावक र समर्थकको मत समेत पाउन सकेनन्।

चुनावमा सहभागी २१ मध्ये १९ उम्मेदवारले जमानत पनि जोगाउन सकेनन्। निर्वाचन आयोगका अनुसार राजनीतिक दलको मान्यता पाउन खसेको मतको तीन प्रतिशत ल्याउनैपर्छ। यस मानेमा बाँकी उमेदवारले जमानत जोगाउन सकेनन्। निर्वाचन ऐनमा जम्मा खसेको मतको १० प्रतिशत नकटाउने उमेदवारको जमानत जफत हुने ब्यवस्था छ। यहाँका २१ उमेदवारमध्ये १९ जना उमेदवारले नियमले तोकेजति मत ल्याउन सकेनन्।

को हुन विद्या?

बिहेपछि घरपरिवारको ब्यवस्थापनमा भुलेकी विद्या विद्यार्थी राजनीतिबाट उदाएकी हुन्। २०४२ साल कक्षा ७ मा अध्ययन गर्दादेखि नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनसँग जोडिएकी उनी भारतीय नाकाबन्दी पछि उदाएकी हुन्। उनी २०४७ मा अखिल नेपाल महिला संघको काठमाण्डौ कोषाध्यक्ष भएर काम गरिन्। ०४७ सालमा जन सांस्कृतिक परिवारको सदस्य बनेकी उनी ०४८ सालमा पोखरामा अनेरास्ववियुको एघारौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषदमा निर्वाचित भईन्। विद्यार्थी संगठन र पार्टी राजनीतिमा सँगै काम गर्दा सहकर्मी रवीन्द्र अधिकारीसँग उनको विहे भयो। लामो समय रवीन्द्रसँगै उनले पनि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरिन्। संगठनमा रवीन्द्र अग्रज थिए। २०५५ सालमा बिहे भएपछि रविन्द्रलाई नै सजिलो होस् भनेर विद्या राजनीतिबाट विस्तारै ओझेलिईन्। त्यतिबेला उनी अनेरास्ववियुको केन्द्रीय सचिव भएर काम गरिरहेकी थिईन्। त्यसअघि ०५० मा उनी अनेरास्ववियुकै महिला विभागको प्रमुख भएर काम गरिन्। उनी ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी थिइन्। नेविसंघको पकड भएका कारण उनले त्यहाँ चुनाव जितिनन्। ०५६ मा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य र कार्यालय सचिव, बुद्धिजीवी परिषद सदस्य हुँदै विद्या प्राध्यापक क्षेत्रमा प्रवेश गरेकी हुन्।

०५८ देखि प्राध्यापन पेशा सुरु गरेकी विद्याले सामुदायिक क्याम्पसमा ८ वर्ष पढाईन्। ०५९ देखि आंशिक शिक्षकका रुपमा पढाउन थालेकी उनी उच्च शिक्षा पाठयक्रम निर्माण समितिको सदस्यका रुपमा काम गरेकी थिईन्। ०६६ मा प्राध्यापक इलाका कमिटीमा सामुदायिक क्यामपसको तर्फबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष भएकी विद्या सार्क स्तरीय महिला सञ्जालमा वकालत गर्ने सामाजिक संस्था वियोन्ड बेइजिङ कमिटीमा कार्यक्रम संयोजकको रुपमा कार्यरत रहिन्। त्रिभुवन विश्वविद्यालयमाको खुल्ला सेवा आयोग परिक्षा पास गरी ०७२ सालदेखि रत्नराज्य क्याम्पसमा स्थायी रुपमा उपप्राध्यापकको रुपमा प्राध्यापन थालेकी उनी आफ्ना श्रीमान रवीन्द्रको निधनपछि राजनीतिमा पुनरागमन भईन्। लामो घरब्यवहारले थिच्न थालेपछि उनको राजनीतिक यात्रा अघि बढ्न सकेन। छोराहरु हुर्काउने र प्राज्ञिक योग्यता बढाउन उनी ब्यस्त भईन्। समाजशास्त्रमा एमफील उनी उम्मेदवारी दिनुभन्दा केही दिनअघि सम्म प्राध्यापनमा थिईन्। उनी अहिले प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रहेका नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराईकी बहिनी हुन्। ०५४ सालमा एमाले विभाजन हुँदा राजन एमालेतिर र विद्या मालेतिर लागेका थिए। रविन्द्र पनि मालेमै भएका कारण उनीहरुको हिमचिम थपिएको थियो। त्यही समयमा उनीहरुको प्रेम विवाह भएको हो। उनका दुई छोराहरु छन्। लामो समयपछि राजनीतिमा फर्किएकी उनले नेपाली राजनीतिमा निकै लामो वेग हानेकी छिन्। केहीले समवेदनाको भोट बटुल्न आएको भनेर आरोप लगाएपनि उनी विचलित नभई मतदाता रिझाउन लागिरहिन्। भन्छिन्, ‘केहीले समवेदनाको भोट लिन आई पनि भने। तर म योग्यता प्रदर्शन गर्न आएको हुँ। अब कस्केलीको सेवामा खटिने छु।’

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width