ढिस्कोले पुरिएर ५ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७६
accident_Fotor

कास्की जिल्ला पोखरा महानगरपालिका–२० को मौज स्थित बिसौनामा आइतवार बिहान ८.०० बजे ढिस्कोले पुर्दा ५ जनाको मृत्यु भएको छ।

भलाम–आटीघर–मौजा ग्रामीण सडक अन्तरगत बिसौनीमा सडक निर्माण (ग्राभेलिङ) कार्य अन्तरगत सडक छेउको भित्तामा पर्खाल निर्माण गर्ने क्रममा माथिबाट ढिस्को खस्दा ५ जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले बताए।

ढिस्कोले पुरिएको उनीहरुको शव स्थानीय र प्रहरीले बाहिर निकालेका थिए।

उक्त घटनामा परी मृत्यु हुनेहरुमा सल्यान जिल्ला बागचौर नगरपालिका– ४ निवासी ३५ वर्षीय गणेश ओली, सोही स्थान निवासी ३० वर्षीय तोमन बस्नेत, ३५ वर्षीय खिमलाल ओली, ३५ वर्षीय वीरबहादुर बस्नेत र ३० वर्षीय जोगेन्द्र बुढाथोकी छन्।

उनीहरुको शव शल्य परीक्षणको लागि पोखरा रामघाट स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ। मृतकका आफन्तलाई खबर गर्ने कार्य भइरहेको प्रहरीले जानकरी दिएको छ। पुरिएको शव वाहिर निकाल्न नेपाली सेनाको टोलीसमेत घटनास्थल पुगेको थियो।

महानगरद्वार दुःख व्यक्त

पोखरा २० मा निर्माणाधीन भलाम—मौजा जोड्ने कनेक्टिङ सडक खण्डको विसौनामा रिटेनिङवाल लगाउने क्रममा अकस्मात् खसेको माटोको ढिस्कोले पुरिएर ५ मजदुरको निधन भएको घटनाप्रति पोखरा महानगरपालिकाले दुःख व्यक्त गरेको छ।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले आइतबार शोक विज्ञप्ति जारी गर्दै घटना लगत्तै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले घटनास्थलको निरीक्षण गरेर मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘उक्त मानवीय क्षतिको घटनाले पोखरा महानगरपालिका परिवारलाई दुःखी बनाएको र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘निर्माणमा संम्लग्न पक्षले आगामी दिनमा निर्माण कार्यमा जोखिमपूर्ण अवस्थामा अपनाउनुपर्ने सतर्कता तथा विपद् व्यवस्थापन गर्न महानगरपालिका ध्यानाकर्षण गराउँदछ।’

Related News

सम्बन्धित समाचार

hero news full width