उपनिर्वाचन परिणाम

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७६
election winning rally pokhara

बुँदीकाली ५ मा नेकपा विजयी

पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका ५ मा वडा अध्यक्षको पदका लागि भएको निर्वाचनमा नेकपाका खिमबहादुर थापा खरु मगर विजयी भएका छन्।

नेकपाका खिमबहादुर थापा खरु मगरले ३ सय ६७ मत प्राप्त गरी विजयी भएका हुन्।

त्यस्तै नेपाली काँग्रेसका तुलबहादुर राना मगरले २ सय ३१ मत र समाजवादी पार्टीका पितमबहादुर राना मगरले ७ मत प्राप्त गरेका छन्।

खसेको मतमध्ये १० मत बदर भएको छ। यहाँ ८ सय ५३ मतदाता रहेकोमा ६ सय १५ मत खसेको थियो।

सिमकोटमा नेकपाका उम्मेदवार विजयी

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रुपा शाही विजयी भएकी छन्।

उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाका शाही एक हजार ४५३ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तारा शाहीले एक हजार ३८५ मत ल्याएकी थिइन्। नेकपाका उम्मेदवार शाही यस अघिको निर्वाचन २०७४ सालमा पराजित भएका थिए।

काँग्रे राप्रपाको विजय र्याली

भक्तपुर क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यको पदमा विजयी भएपछि नेपाली काँग्रेसले आइतवार विजय र्याली निकालेको छ। उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका हुन्।

काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा काँग्रेस र राप्रपा (संयुक्त) ले विजय र्याली निकालेको हो। प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसलाई राप्रपा संयुक्तले सघाउने यसअघि घोषणा गरिएको थियो।

काँग्रेस सभापति थापा, राप्रपा संयुक्तका केन्द्रीय सदस्यहरु रवीन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ लगायतको सहभागितामा खरिपाटी मतगणनास्थलदेखि कमलविनायकसम्म र्याली गरिएको थियो।

र्यालीपछि आयोजित सभामा बोल्दै काँग्रेस भक्तपुरका सभापति थापाले यसअघि एमालेले जितेको यो क्षेत्रमा यसपटक काँग्रेसका उम्मेदवार निर्वाचित भएकाले अब काँग्रेसले किल्ला बनाउने दावी गरे। उनले जनताको पक्षमा काँग्रेसले काम गरेर देखाउने बताउँदै प्रदेशदेखि नगरपालिकासम्म निर्वाचित तत्कालीन एमालेले प्रभावकारी काम गर्न नसक्दा काँग्रेसलाई अवसर आएको बताए।

सभामा विजयी भँडेलले जनताले काम गर्ने मौका आफूलाई दिएको बताउँदै जनताको चाहनालाई पूरा गर्ने गरी प्रदेशमा भूमिका खेल्ने र विकासमा टेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य शाहले काँग्रेसको जीत राप्रपा संयुक्तको पनि जीत भएको बताउँदै अब प्रजातान्त्रिक शक्ति एक भएर विकासमा लाग्नुपर्ने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width