कास्कीमा ६४ प्रतिशतले मतदान गरे

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७६
oooo

पोखरा । कास्की निर्वाचन क्षेत्र २ मा शनिवार सम्पन्न उपनिर्वाचनमा ६४ प्रतिशतले मतदान गरेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले कास्कीका सबै ८२ मतदान केन्द्र र ३२ मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताए।

जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेका अनुसार मतदान केन्द्रबाट मतदान अधिकृतले दिएको सूचनाका आधारमा ६४ प्रतिशतमत खसेका छ । यसमा एक प्रतिशत तलमाथि हुनसक्छ ।

एक/दुई केन्द्रमा १५/२० मिनेट मतदान रोकिएको भएपनि मतदान पुनःसुचारु भएको थियो । मतपेटिका शनिबार साँझ नै जिल्ला समन्वय समिति कास्कीको सभाहलमा ल्याइने र साँझ सर्वदलीय बैठकको निर्याणबाट पास भएमा शनिवार राति १० बजेदेखि नै गणना शुरु गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । शनिवार राति सहमति नभए आइतवार विहानदेखि गणना शुरु गरिनेछ ।

मतदान शनिबार विहान ७ :०० बजेदेखि शुरु भई साँझ ५ बजे सकिएको हो । अघिल्लो निर्वाचनमा भन्दा यस निर्वाचनमा करिव ९ प्रतिशतले कम मत खसेको छ । निर्वाचन हुने सबै मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएका भएपनि चार मतदान केन्द्रको छेउछाउमा बम विस्फोट भएका थिए । तर मानवीय क्षती भने नभएको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता रहेकामा ४५ हजार ६ सय ७९ मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीले दिएको छ । अघिल्लो चुनावमा ७० हजार ६ सय ५१ मतदातामध्ये प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४९ हजार ९ सय १३ मत खसेको थियो ।

कास्की २ को निर्वाचन क्षेत्रभित्र महानगरको ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बरगरी ११ वटा वडा पर्छन् । पोखराको मासवारस्थित श्रीकृष्ण मावि मतदान केन्द्रमा १०३ वर्षीया चन्द्रकला पाध्या गौतमले मतदान गरेकी छन् भने केही केन्द्रमा किरियापुत्रीले समेत मतदान गरेका छन् ।

नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखरा–३३ भरतपोखरीको शान्ति उदयमावि केन्द्रबाट मतदान गरेकी थिइन् भने नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेल कास्की निर्वाचन क्षेत्र नं ३ का भएकाले मतदान गर्न पाएनन् । समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले पोखरा–१६ बाट मतदान गरे भने साझा पार्टीकी उम्मेदवार रजनी केसीले पोखराको वडा नं ४ बाट मतदान गरेकी छन् ।

केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी कुल ४ सय १० जना कर्मचारी खटिएका थिए । प्रत्येक मतदान केन्द्रमा ५ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए ।

तत्कालीन संस्कृति, पर्यटन तथानागरिक उड्ययनमन्त्री स्व रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्की २ मा उपचुनाव भएको हो । ११ राजनीतिक दल र १० स्वतन्त्र गरी २१ जना चुनावी प्रतिस्पर्धामा छन् ।

मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना तैनाथ गरिएको थियो । हरेक मतदानस्थलमा १५ देखि २० प्रहरी, २२ जना सशस्त्र र नेपाली सेना खटिएको थियो ।

चुनाव लक्षित सुरक्षामा चुनौति बढ्न सक्ने भन्दै कास्की प्रहरीले शंकास्पद केही ब्यक्तिहरुलाई पक्राउ गरेको थियो । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य एवं कास्की जिल्ला कार्यबाहक अध्यक्ष आस्था नेपाली र मेघनाथ आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि प्रदर्शनी केन्द्रमा विस्फोट लगत्तै फिर्केखोला मापदण्ड सरोकार समितिका महासचिव कृष्णप्रसाद घिमिरे ‘टिकाराम’लाई पक्राउ गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width