जनहितमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७६
Janahit

रुपनारायण ढकाल–पोखरा, १३ मंसीर : जनहित ट्रेनिङ एण्ड ट्रेडिङ प्रालि नयाँबजारको आयोजनामा संचालित तीन महिने सिलाई कटाई तथा व्यूटिसियन तालिमका कूल ८० सहभागीलाई शुक्रबार एक समारोहका विच पोखरामा प्रमाणपत्र वितरण गरिएको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) दोश्रो तालिमका सहभागीलाई पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य गीता चर्मकारले प्रमाणपत्र वितरण गरेकी थिइन् । सो अवसरमा समाजसेवी उत्तम जोशीले पनि प्रमाणपत्र वितरण गरेका थिए ।

निशुल्क रुपमा २०७५ चैत दोश्रो साताबाट संचालित उल्लेखित तालिमहरु तीन सय ९० घण्टा अवधिका हुन् । सहभागीलाई सिलाईकटाई तर्फ करुणा रुचाल र जुनु गुरुङ तथा रुपा छन्त्याल र कुमारी गुरुङले तालिम प्रदान गरेका थिए । यसैगरी व्यूटिसियन तर्फ यामकुमारी राना र लक्ष्मी थापा तथा पूर्णकला गुरुङ र अञ्जु जलारीले तालिम प्रदान गरेका थिए ।

प्रमुख अतिथिको रुपमा आफ्नो भनाई राख्दै वडा सदस्य चर्मकारले तालिमले महिलाहरुलाई सक्षम बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । आगामी दिनहरुमा पनि जनहितले शीपमूलक तालिमका कार्यक्रमलाई निरन्तरता दिन सके चुलो चौकोमा मात्र सीमित महिलाहरु आत्मनिर्भरताको बाटोतर्फ अग्रसर हुन सक्ने भनाई पनि उनले सो अवसरमा राखिन् ।

कार्यक्रममा आफ्नो भनाई राख्दै प्रालिका अध्यक्ष दिलकाजी गुरुङले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सहभागी महिलाहरुलाई सुझाव दिए । आगामी दिनमा आफ्नो पेशामा इमान्दार भएर लाग्दै जीवनमा सफलता हासिल गर्न पनि अध्यक्ष गुरुङले सो अवसमा शुभकामना दिए ।

यसैगरी संस्थाका प्रबन्ध निर्देशक नन्दलाल अधिकारीले तालिममा सिकेको शीपलाई सदुपयोग गर्दै आयआर्जन तर्फ अग्रसर हुन सहभागीलाई आग्रह गरे । तालिममा पुरै समय सहभागी भएर सीपमूलक ज्ञान लिएकोमा सहभागीहरुलाई प्रबन्ध निर्देशक अधिकारीले धन्यवाद दिए । प्रमापत्र वितरण समारोहमा समाजसेवी जोशीले पनि आफ्नो भनाई राखेका थिए । प्रशिक्षार्थीका तर्फ कुमारी गुरुङ र लक्ष्मी सिटौलाले पनि आफ्नो अनुभव सुनाएका थिए ।

२०६५ सालमा स्थापना भई निरन्तर निशुल्क सीपमूलक तालिमहरु प्रदान गर्दै आएको जनहितले हालसम्म करिव पाँच हजार जनालाई तालिम प्रदान गरिसकेको जनहितका फिल्ड कोअर्डिनेटर घनश्याम रानाभाटले जानकारी दिए । जनहितले पाल्पाको रामपुर तथा तनहुँको केशवटार, व्यास र दुलेगौंडामा संचालित तालिमका सहभागीलाई पनि यसअघि नै प्रमाणपत्र वितरण गरिसकेको संस्थाकी फ्रन्ट डेक्स इन्चार्ज प्रमिला खत्रीले जानकारी दिइन् ।

जनहितले पंचेवाजा बजाउने तालिम, गलैंचा बुनाई, च्याउ खेति, वेटर, हाउस किपिङ, मोटरसाइकल मेकानिक, साना होटल तथा लज व्यवस्थान, डकर्मी, सिकर्मी, हाते कडाई, हाउस वायरिङ, वेमौसमी तरकारी उत्पादन, बंगुर पालन, कुखुरा र बाख्रा पालन लगायतका तालिमहरु प्रदान गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width