त्रिवेणीको सम्मान बीबी, खिम र आरजुलाई

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७६
p kala

पोखरा, मङ्सिर १३ गते । त्रिवेणी सङ्गीतालयले सङ्गीतकार बीबी. अनुरागी, गायक खिमकुमार गुरुङ र गीतकार आरजु विष्ट ‘सल्यानी’लाई एक साथ सम्मान गर्ने भएको छ ।

मंसिर २१ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घमा हुने त्रिवेणी साङ्गीतिक साँझमा तीनै जनालाई सम्मान गरिने सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालले जानकारी दिए । नगद १० हजार रुपैयाँ सहितको त्रिवेणी सङ्गीत सम्मान तथा पुरस्कारबाट सम्मानित हुने अनुरागी २ दशकभन्दा लामो समयदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् ।

बागलुङको भकुण्डेमा जन्मेका गायक, सङ्गीतकार, एरेन्जर र गीतकारको छवि बनाएका अनुरागीले पोखराबाटै आफ्नो साङ्गीतक यात्रा सुरु गरेका थिए । उनले सङ्गीत भरेका उडेर जून छुन्छु भन्थेँ…, गोर्खा पल्टन…, तिम्रै झल्को…, जहाँ तिमी त्यहाँ म…लगायत दर्जनौँ गीत चर्चित छन् । उनले ५०० भन्दा बढी गीतमा सङ्गीत, १०० भन्दा बढीमा गायन, १ हजार भन्दा बढीमा एरेन्ज गरेका छन् भने ‘तिम्रै झल्को’ नामक गीत सङ्ग्रह पनि प्रकाशन गरेका छन् ।

सोही पुरस्कारबाट सम्मानित हुने अर्का प्रतिभा खिमकुमारले ५० भन्दा बढी लोकगीत, भजन र गाउँका गीत गाएका छन् । उनको एउटा एकल एल्बम बजारमा आइसकेको छ भने एउटा एल्बम आउने तयारीमा छ । कास्कीकै सिक्लेसका गुरुङ सानैदेखि गायनमा लागे पनि औपचारिक रुपमा भने २०६२ देखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् ।

दीपक भट्टराई स्मृति सङ्गीत पुरस्कारबाट सम्मानित हुने आरजु विष्ट ‘सल्यानी’ गीतकार तथा सञ्चारकर्मी हुन् । झ्याम्म झ्याम्म…लगायत दर्जनौँ गीत र गजलका स्रष्टा सल्यानी २ दशकभन्दा लामो समयदेखि साहित्य, सङ्गीत र सञ्चारकर्ममा क्रियाशील छन् । सङ्गीतकार दीपक भट्टराईको परिवारद्वारा स्थापित सो पुरस्कारको राशि पनि १० हजार नगदसहित सम्मान पत्र र दोसल्ला रहेको छ ।

डेढ दशकदेखि पोखराको न्यूरोडमा सङ्गीत प्रशिक्षण सञ्चालन गरिरहेको त्रिवेणी सङ्गीतालयले हरेका वर्ष त्रिवेणी साङ्गीतिक साँझ सञ्चालन गर्दै आएको छ । कार्यक्रममा पोखरा र काठमाडौँका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width