दक्षिण एशियाको पहिलो होमस्टे सिरुबारी

द्वन्दकालिन समय विसं २०५४ मा होमस्टे संचालन गरिएको थियो

Suraj Hazare Dahal
मंसिर १२, २०७६
SIRUBARI 1

स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिकामा अवस्थित सिरुबारी गाउँ नेपालको पहिलो होम स्टेको रुपमा देशभर प्रख्यात रहेको छ । नेपालको मात्र पहिलो नभएर दक्षिण एशियाकै पहिलो होमस्टे हो सिरुबारी । समुन्द्री सतहदेखि १६१० मिटरको उचाँइमा अवस्थित यो गाउँमा द्वन्दकालिन समय विसं २०५४ मा होमस्टे संचालन गरिएको थियो । यहाँ रहेका ३९ घरहरु मध्ये १७ वटा घरहरु होमस्टेका रुपमा दर्ता भई संचालनमा रहेका छन् । प्राय घरहरुको छत ढुंगाको छपनीले छाइएको छ । गुरुङ जातीका गाउँवासीले संचालन गरेको यस होमस्टेका प्राय सबै घर मूलिहरु अवकाश प्राप्त ब्रिटिश र भारतीय लाहुरे रहेका छन् । त्यहाँका खेत भने दलित समुदायका मानिसले कमाउँदै आएका छन् । सिरुबारी होमस्टेका अभियन्ता रुद्रमान गुरुङ हुन् । सांसद तथा सेनाका कप्तान समेत रहेका स्वर्गिय रुद्रमानको पहलमा नै नेपालमा पहिलो पटक होमस्टेको शुरुवात गरिएको थियो । यहाँ गुरुङ जीवन शैलिको जिवन्त चित्रण अवोलकन गर्न पाइन्छ नै स्थानीय रुपमा उत्पादित साग सब्जीबाट बनाइएको खानाले पाहुनाको सत्कार गरिन्छ ।

होमस्टेबाट २५ मिनेट उकालो हिडेंपछि भ्यू टावर आउँछ जहाँबाट होमस्टे संचालन गरिएका घरहरु देखिन्छन् । हिमाल भने यहाँबाट नदेखिने हुनाले अहिले हिमाल खुल्ने मौसममा अन्नपूर्ण, माछापुच्छ्रे हेर्न भने डेढ घण्टा पैदल यात्रा गरि गोरुजुरेमा पुग्नुपर्छ । यस्तै यो सिजनमा गोरुजुरेबाट आँखै अगाडि हिमश्रृंखला देखिन्छ । जंगलमा विभिन्न प्रजातीका फूलहरु फुलेको मनमोहक दृश्यहरु पनि देखिन्छ । हिंड्दा भने जुका लाग्ने डर पनि उत्तिकै हुन्छ ।

पाहुनको स्वागतको जिम्मा स्थानी बुद्ध आमा समूहले लिएका छन् । समूह आएका पाहुनालाई सडकसँगै जोडिएको मूल गेटमा बाजागाजा सहित स्वागत गरिन्छ । त्यसपछि फूलमाला पहिराएर गुम्बाको दर्शन गराएर खाजा खुवाइन्छ । त्यसपछि पालो तथा पाहुनाको संख्या अनुसार उनीहरुलाई घरमा बाँडिन्छ । तोकीएकै घरमा पाहुनाहरु बस्नुपर्ने हुन्छ । त्यसपछि बेलुकी पर्यटकको स्वागत गर्ने भवनमा राती सांस्कृतिक कार्यक्रम देखाइन्छ जहाँ नाच गान हुन्छ । त्यसपछि पाहुनाहरु पुनः होमस्टेमा गएर खान खान्छन् । बिहान खाजा खुवाएपछि फूल माला लगाएर बिदा गरिन्छ । तीनवटा अलग बाटोबाट सिरुबारी पुग्न सकिन्छ । सिद्धार्थ राजमार्गको पोखरा, नौडाँडा, सेतीदोभान, कार्कीनेटा, बगाले हुँदै ६५ किलोमिटर सडक भएर । यस्तै पोखरा, बाडखोला, दरौँ, माझकटेरी हँुदै सिरुबारी र पोखरा, हेर्लुङ, अर्जुनचौपारी हुँदै सिरुबारी पुग्न सकिन्छ ।

होमस्टेको इतिहासमा सिरुबारी ः होमस्टेको अर्थ ग्रामिण भेगमा गएर घरकै परिवार झै केहि रकम तिरेर बस्नु र खानु हो । परापूर्वकालमा होटल हुन्थेनन् र त्यसबेला राती बास बस्नुपर्दा पाहुनासँग घरधनीले केही रकम लिएर दाउरा, नुन, तेल दिने गर्थे । यसकै आधुनिक रुप होमस्टे हो । नेपालमा पहिलो पटक २०५४ सालमा सिरुबारीमा नै होमस्टेको शुरुवात गरिएको थियो । २०५४ सालमा नेपालमा पहिलो पटक होमस्टे संचालन गरिए पनि यसका अभियन्ता रुद्रमान गुरुङले होमस्टेको परिकल्पना २०२५ सालमै गरेर २०४८ सालदेखि भने होमस्टे बनाउन पूर्वधारमा जोड दिएका थिए । विसं २०६७ सालमा आएर बल्ल सरकारले होमस्टे कार्यविधि ल्याएको थियो । गाउँवासीले संचालन गर्ने होमस्टेमा कम्तिमा पनि ५ जना घर धनीको प्रतिबद्धता सहित पर्यटन कार्यलयमा दर्ता गर्नुपर्छ । होमस्टे संचालन गर्न न्यूनतम मापदण्ड तोकिएका छन् । होमस्टेमा चर्पी, बाथरुम तथा सफा कोठा हुनुपर्छ । होमस्टेको जननी सिरुबारीमा तालिम लिनका लागि देशमा विभिन्न भेगबाट मानिसहरु आउँने गर्छन् । यहाँबाट तालिम लिएर गएपछि उनीहरुले आफ्ना गाउँमा होमस्टे संचालन गरिरहेका छन् । यहाँ वार्षिक करिब १० हजार नेपाली तथा १ हजार बिदेशी पर्यटकहरु आउँछन् ।

प्याकेज ः सिरुबारी होमस्टेमा एक दिने र दुई दिने गरि दुई प्याकेज रहेका छन् । एक दिने प्याकेजको रु १२०० लाग्छ । यसमा साँझ पुगेपछिको खाजा, खाना, रातीको बास र बिहानको खाजा समावेश छ । दुई दिने प्याकेजको भने रु २००० लाग्छ जसमा दोस्रो दिनको बिहानको खाना, रातीको खाना, दोस्रो रातको खाना र अन्तिम दिनको खाजा समावेश छ । रातीको खानामा मासु भात तथा दुई ग्लास स्थानीय रक्सी दिइन्छ भने खाजामा आलु तारेको, उसिनेको अण्डा, प्यान केक र चिया दिइन्छ । सिरुबारीमा अधिकांश पाहुना नेपाली नै हुन्छन् ।

खर्च र बसाइः पृथ्वीचोकबाट एयरपोर्ट जाने नागढुंगामाबाट बिहान १०ः३० र ११ बजे सिरुबारीका लागि बसहरु छुट्छन् । पहिलो बस स्याङ्जाहुँदै र दोस्रो बस कार्कीनेटा हुँदै सिरुबारी पुग्छ । बस भाडा रु ३०० रहेको छ । दुई दिने प्याकेज र आउनेजाने भाडा सहित रु ४००० हजार खर्च लाग्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width