अन्नपूर्णमा जस्तापाता वितरण

Avatar आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६

अन्नपूर्ण गाउँपालिकाले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका वडावासीलाई बुधवार जस्तापाता वितरण गरेको छ। गाउँपालिकाले गाउँसभाबाट स्वीकृत नीति कार्यक्रम अनुसार जस्तापाता वितरण गरेको हो।

जस अनुसार प्रत्येक वडाबाट ५ जनाका दरले ११ वडाका कुल ५५ वडावासी लाभान्वित भएका छन्। उनीहरु प्रत्येकलाई ९ फुट लम्बाइका १६ वटाका दरले रंगीन जस्तापाता दिइएको छ। गाउँपालिका अध्यक्ष युवराज कुँवरले पूर्ण सहुलियतमा जस्तापाता वितरण गरिएको जानकारी दिँदै सहयोगको सदुपयोग गर्न सुझाव दिए। उनले गाउँपालिकाको सगुनका रुपमा जस्तापातालाई लिन आग्रह गर्दै खुसी मनले स्वीकार गर्न अनुरोध पनि गरे। आफूले सामाजिक काम गर्दा कहिल्यै पनि राजनीति तथा जात नहेरेको कुँवरको दाबी थियो।

अन्नपूर्ण १ का अध्यक्ष भरतजंग कुँवरले निर्वाचनको बेला गरेको प्रतिबद्घता अनुसार नै आफूहरुले जस्तापाता वितरण गरेको बताए। सहयोगसँगै गरीब जनता लाभान्वित भएको भन्दै वडाध्यक्ष कुँवरले ५ वर्षसम्म गाउँपालिकाले जनपक्षीय कार्य गर्दै जाने उल्लेख गरे।

अन्नपूर्ण २ का अध्यक्ष चूडामणि अधिकारीले सहयोगसँगै असुरक्षित बास भएका गाउँपालिकावासीको बास सुरक्षित हुने विश्वास लिए। उनले सहयोगको उचित प्रयोग गर्न सुझाव दिँदै त्यसको अनुगमन पनि गरिने बताए। अन्य स्थानीय तहले पनि यस कार्यक्रमको सिको गर्नुपर्ने उनको तर्क थियो।

अन्नपूर्ण २ का अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा १ का अध्यक्ष कुँवरले स्वागत तथा गाउँपालिकाका खरिदार शिव पौडेलले संचालन गरेका थिए।

वास्तविक सुकुम्वासी हुँ : अध्यक्ष कुँवर

अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले आफू वास्तविक सुकुम्वासी भएको बताएका छन्। जस्तापाता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले त्यस्तो खुलाएका हुन्।

‘बस्नका लागि न मेरो घर छ, न सम्पत्ति नै, ’ उनले भने, ‘जस्तापाता मैले पनि लैजानुपर्थ्यो तर पदीय हैसियतले लैजान नमिल्ने रैछ। ’ पछि आफूले पनि लान पाउने आशामा यो कार्यक्रम शुरु गरेको तीतो अनुभव उनले सुनाए।

‘गाउँपालिका अध्यक्ष बनेपछि इज्जत जोगाउन भएपनि एक सरो राम्रो लुगा व्यवस्थापन गरी लगाउने गरेको छु, ’ उनले भनेका छन्। सामाजिक काममा आफूले कहिल्यै जात र राजनीति नहेरेको दाबी उनले गरेका छन्।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

उत्पादन र उत्पादकत्वमा वृद्धि आवश्यक –कृषिमन्त्री

पोखरामा आकाशे पुलको सिलन्यास

खेलकुद विकासमा गण्डकी पहिलो : मुख्यमन्त्री

जिल्ला प्रहरीको नयाँ भवन बन्दै

प्रमुख समाचार

पीपीएलमा पोखराको सुखद सुरुवात

थप प्रमुख समाचार