तारा हिलटप मार्गमा पूर्वाधार विकास गरिँदै

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
Tara Hilltop_Fotor

कास्कीको घलेखर्क–सिक्लेस इको रुटअन्तर्गत पर्ने तारा हिलटपको दृष्य। तस्वीर सौजन्य : धन गुरुङ माइला

कास्कीको मादी गाउँपालिका–७, थाकबाट तारा हिल पुग्ने पदयात्रा मार्गमा पूर्वाधार निर्माणको काम थालनी भएको छ। पोखराबाट पर्यटकीय सिक्लेस गाउँ जाने सडक मार्गसँगै थाक गाउँ रहेको छ। यही थाकबाट ७ घण्टाको पैदल यात्रा पछि डाँडाको चुचुरो अर्थात् तारा हिलटप पुग्न सकिन्छ।

लामो हिमाली श्रृंखलाको दृष्यावलोकन र चिसो मौसमका लागि देशविदेशका पर्यटकमाझ प्रख्यात तारा हिल नेपालकै पहिलो इको ट्रेक भनेर चिनिने घलेखर्क–सिक्लेस मार्गअन्तर्गतको सबैभन्दा अग्लो ठाउँ हो। समुद्र सतहबाट २ हजार ८ सय १४ मिटर उचाइमा अवस्थित छ, तारा हिलटप। पर्यटकमाझ निकै लोकप्रिय रहेको घलेखर्क–सिक्लेस मार्गअन्तर्गत पर्ने तारा हिलटपलाई पछिल्लोपटक थाक गाउँसँग समेत जोडिएको हो।

थाक गाउँबाट तारा हिल जाने मार्गमा बाटो देखाउने संकेत चिन्ह राख्ने काम अगाडि बढेको स्थानीय पर्यटन व्यवसायी विकास गुरुङले जानकारी दिए। बाटोमा पर्ने झाडीहरु फाँड्ने काम भने विगतमा एकदुई चरण सम्पन्न गरिएको उनले सुनाए। उनै विकासले थाकबाट तारा हिलजाने मार्गमा अहिले होटल स्याकर्ड हिल एण्ड टेण्टेड क्याम नाम दिएर पर्यटकलाई बस्ने खाने सुविधा समेत तयार पारेका छन्। मादी गाउँपालिका वडा ७ मा यो सुविधा तयार पारिएको उनले सुनाए। यही नजिकै पिकनिक स्थलको पनि विकास गरिएको छ।

कास्कीको अर्मलाबाट शुरु भई आँटीघर मौजा हुँदै थाक पुगेर तारा हिलटपबाट सिक्लेस अनि कफुचे पुग्ने मार्ग २०७४ सालमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले प्रबद्र्धन समेत गरेको थियो। यही लामो पदमार्गअन्तर्गतको केही भाग थाक–तारा हिलटप खण्ड हो। सडकमार्गको विस्तारले पदयात्रा मार्गहरु मासिन थालेपछि नयाँ र वैकल्पिक पदयात्रा मार्गहरुको खोज, अनुसन्धान र विकासमा टान लागिरहेको संस्थाका अध्यक्ष हरि भुजेलले बताउने गरेका छन्। तारा हिलटप खासमा दृष्यावलोकन र क्याम्पिङका लागि उपयुक्त स्थल हो। यस क्षेत्रमा पदयात्रा गर्ने पर्यटकहरु हिलटपमा क्याम्पिङ गरेर रात बिताउने गरेका छन्। तलको थाक गाउँ खासमा गुरुङ बाहुल्य गाउँ हो। थाकमा करिब ३ दर्जन घरहरु छन्। थाक गाउँबाट सूर्यास्तको दृष्य सुन्दर देखिन्छ। थाकमा शिवालय मन्दिर समेत छ। थाक कोटमा रहेको यो मन्दिर वरपर १ हजार ५ सय ३१ मिटरको उचाइ रहेको छ। थाकमा सामान्य होमस्टेको सुविधा छ। औपचारिक रुपमा भने यो उद्घाटन गरिएको छैन। सामान्य किराना पसल भए पनि यहाँ छुट्टै व्यवस्थित टी हाउसहरु छैनन्। साग, मूला लगायत गाउँले तरकारी तथा मासुका परिकारहरु समेत यो गाउँमा सिजन अनुसार उपलब्ध छन्।

थाकबाट तारा हिलटप जाँदा बीच बाटोमा केही गोठ बाहेक मानव वस्ती छैन। खाना पकाउन वा अन्य प्रयोजनका लागि पानीका मुहानहरु पनि बाटोमा रहेका छन्। ती मुहान बाटोमा कहाँ कहाँ छन् भनी टानले बनाएको नयाँ नक्सामा मार्क गरिएको छ। यात्राको क्रममा गुरुङ भाषामा म्है पोलो भनिने बराह मन्दिर केही घण्टाको उकालो पश्चात् जंगलमा देखा पर्छ। बराहपछि आकाशे डाँडा, भालु आहाल, सैने डाँडा र देउराली पार गरी तारा हिल पुगिन्छ। बराह मन्दिर नजिकको पोखरीमा कुनै पातपतिङ्गर परेमा चराले उठाएर फाल्छ भन्ने मान्यता पनि छ। आकाशे डाँडाको महत्व के भने यहाँबाट छ्याङ्ग आकाश देखिन्छ तर जंगल यात्राको क्रममा अरु ठाउँबाट राम्रो गरी आकाश देख्न सकिन्न, अग्ला विरुवाले आकाश छेक्छन्। सैने डाँडाको महत्व–वरपरका गाउँबाट जंगल बीचको टाकुरामा उक्लिएर पुरानो जमानामा साइनो गाँसी आफ्नो गन्तव्यतिर लाग्ने भन्ने रहेको छ।

भालु आहाल भालुले पानी खाने र नुहाउने ठाउँ भन्ने अर्थ लगाउने गरिएको छ। जंगलमा प्रशस्त निगालो रहेको र भालुलाई मन पर्ने आहारा निगालो भएका कारण यो खण्डमा एक्लै यात्रा गर्नु जोखिमपूर्ण पनि हुन सक्छ भन्ने गरिएको छ। त्यही भएर साथमा कुकुर लिएर वा समूहमा यात्रा गर्नु यो खण्डमा मुनासिव हुन्छ। वा कराउँदै गीत गाउँदै यात्रा गर्दा पनि सुरक्षित यात्रा हुन सक्छ। हालसम्म त्यस्तो जोखिमपूर्ण दुर्घटनाको उल्लेख्य उदाहरण नभए पनि निगालोको सिजनमा भालुको डर हुन सक्ने गाउँलेहरु बताउँछन्। यो जंगलमा चराचुरुंगीको बाक्लो उपस्थिति भएका कारण पनि तिनको अवलोकनका लागि अति उत्तम रहेको मान्न सकिन्छ। थाकबाट उकालो लाग्ने वित्तिकै हिमाल खुल्ने मौसममा नामुन पिक, लम्जुङ हिमाल, अन्नपूर्ण दोश्रो र अन्नपूर्ण चौथो जस्ता चुचुराहरु देख्न सकिन्छ।

जंगल यात्राको क्रममा पूरै स्थानमा नमस्ते वा एनसेल मोवाइलका सिग्नलहरु पाउन सकिन्छ। अधिकांश ठाउँमा मोवाइल डाटा पनि एक्टिभ गर्न सकिन्छ। यो स्थलमा भैँसी तथा भेडाबाख्रा हिड्ने बाटो भएकोले अलमल धेरै हुने कारण अहिले बाटो देखाउने चिन्ह राख्न लागिएको हो। तारा हिलटप पुग्नुभन्दा १ घण्टा पहिला नै घलेखर्क–सिक्लेस इको रुटमा गएर थाकबाट अगाडि बढ्ने मार्ग मिसिन्छ। तारा हिलटपमा पदयात्रीका लागि २ कोठाको सेल्टर पनि रहेको छ। तारा हिलको चुचुरोमा मुख्य समस्या पानीको रहेको छ। चुचुरोभन्दा २० मिनेट तलपट्टि पानीको श्रोत रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width