बङ्गलादेशी पर्यटक बढ्ने विश्वास

रासस
कार्तिक २९, २०७६
ppp

पोखरा, २९ कात्तिक । मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरामा गरेकाे भ्रमणाले पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटक बढ्ने विश्वास लिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकनका साथै यहाँको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा जलविहार गरेका थिए । उनले रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा समेत पुगी हिमाल, ताललगायतका रमणीय दृश्यलाई नियाल्नुभएको थियो । पोखरा हुँदै रुपाकोटसम्मको दृश्यावलोकनले हमिदलाई यहाँका मनोरम दृश्यले लोभ्यायो नै उहाँको आगमनले पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटकका साथै अन्य राष्ट्रका अतिविशिष्ट पाहुना आगमन हुने सम्भावना पनि थपेको छ ।

अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमणले भारतीय पर्यटकको आगमन ह्वात्तै बढाएको अनुभवले पनि हमिदको भ्रमणले पनि केही न केही प्रभाव पर्ने विश्वास लिइएको छ । सार्क राष्ट्रमध्येको एक बङ्गलादेश ठूलै जनसङ्ख्या भएका मध्येमा पर्दछ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क हेर्दा त्यहाँबाट आउने पर्यटकको सङ्ख्या भने कमै छ । पछिल्ला वर्षको तथ्याङ्क हेर्दा सन् २०१६ मा २३ हजार ४४० पर्यटक बङ्गलादेशबाट आएको देखिन्छ । त्यस्तै सन् २०१७ मा २९ हजार ६० जना पर्यटक आएका थिए ।

त्यस्तै सन् २०१८ मा २६ हजार ३५५ जना र २०१९ को अक्टोबरसम्म १९ हजार २७९ जना पर्यटक आएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए । राष्ट्रपति हमिदको नेपाल भ्रमणले आगामी दिनमा बङ्गलादेशबाट आउने पर्यटकको सङ्ख्या बढ्ने विश्वास लिइएको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणसँगै बढेको भारतीय पर्यटकको आगमन बढे जस्तै राष्ट्रपति हमिदको पोखरा भ्रमणले यहाँको पर्यटन बजारमा सकारात्मक प्रभाव पार्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल बताए ।

पोखरामा सन् १९६० देखि नै विदेशी पर्यटकको आगमन बढ्दै गएकामा सन् १९८० को दशकयता क्रमिकरुपमा गति लिएको छ । सन् १९६० मा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले पोखराको भ्रमण गरेका थिए । त्यस्तै सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीयाले पोखराको भ्रमण गर्नुभएको थियो भने सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णले पनि यहाँको भ्रमण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width