हाइप्रोफाइल भिजिटले पर्यटनमा उत्साह

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
Tourism news_Fotor

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद (दायाँ) प्रधानमन्त्री केपी शर्मा ओलीसँग आपसी भेटमा। तस्वीर : रासस

एकपछि अर्को गरी छिमेकी राष्ट्रहरुबाट नेपालमा भएका हाइप्रोफाइल भिजिटले दीर्घकालीन रुपमा नेपाली पर्यटनमा सकारात्मक असर पर्ने आँकलन गर्न थालिएको छ।

गत असोज २४ र २५ गते चिनियाँ राष्ट्रप्रति सी चीनफिङले नेपालको उच्चस्तरीय भ्रमण गरेको एक महिनापछि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने भ्रमणको लागि मंगलबार आइपुगेका छन्। यसअघि गत वर्ष वैशाखमा दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको भ्रमण गरेका थिए।

यसरी एकपछि अर्को गरी नेपालमा विदेशी मुलुकबाट उच्चस्तरीय भ्रमण हुँदा पर्यटन व्यवसायीमा एकप्रकारको उत्साह देखिएको छ। भारतीय प्रधानमन्त्री मोदी आफ्नो पछिल्लो भ्रमणको क्रममा मुस्ताङको मुक्तिनाथ मन्दिर पुगी दर्शन गरेपछि नेपाल र पोखरा आउने भारतीय पर्यटकको संख्या बढेको तथ्यांक सार्वजनिक भएको थियो भने व्यवसायीले पनि त्यसलाई स्वीकार गरेका थिए।

यसैगरी, चिनियाँ राष्ट्रपति सी चीनफिङको भ्रमणबाट पनि पर्यटन क्षेत्रले ठूलो आसा गरेको छ। अर्बौ रुपैयाँ खर्च गरेर पनि नहुने विज्ञापन चीनका राष्ट्रपतिको एउटा भ्रमणले पूरा गर्ने विश्वासमा व्यवसायीहरु रहेका छन्।

यहीक्रममा पछिल्लोपटक बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणले व्यवसायीमा पुनः उत्साह थपेको छ। नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या यसअघि भने ओरालो लागेको छ। सन् २०१९ को १० महिना (जनवरी–अक्टोवर) मा अघिल्लो वर्षको यही अवधिको तुलनामा बंगलादेशबाट आउने पर्यटक संख्या घटेको छ।

यो १० महिनामा बंगलादेशबाट १९ हजार २ सय ७९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ९.६ प्रतिशत कम हो। सन् २०१८ को समीक्षा अवधिमा २१ हजार ३ सय २७ जना बंगलादेशीले नेपाल भ्रमण गरेको तथ्यांक सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बंगलादेशी पर्यटकको आगमन घट्नुमा मुख्य कारण अघिल्लो वर्ष त्रिभुवन विमानस्थलमा भएको यूएस बङ्गला जहाज दुर्घटना र हवाई सञ्जाल अभाव रहेको बताउँछन्। बंगलादेशबाट विमान बंगलादेश र नेपालको हिमालय एयरलाइन्सले अहिले काठमाडौं–ढाकालाई जोडिरहेका छन्।

बंगलादेशी राष्ट्रपति नेपाल भ्रमणक्रममा बिहीबार पोखरा आउँदै छन्। उनको भ्रमणले बंगलादेशमा नेपाली पर्यटकीय क्षेत्रको प्रचार हुने र त्यसले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यवसायीले गरेका छन्। राष्ट्रपति एक दिन पोखरा रहँदा फेवा तालमा नौका बिहार गर्ने, फिस्टेल लज र रुपाकोट रिसोर्टमा आराम गर्ने तालिका सुनाइएको छ। उनी काठमाडौंका विभिन्न ठाउँको भ्रमणमा पनि सरिक हुने छन्। यसले नेपाली पर्यटन बजारलाई माथि उकास्न सघाउ पुग्ने विश्वास गरिएको छ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को संस्थापक सदस्य बङ्गलादेशका राष्ट्रपतिको पोखरा भ्रमणलाई यहाँका व्यवसायीले अर्थपूर्ण रुपमा हेरेका छन्। यसैगरी राष्ट्रपति सीको भ्रमणपछि भने नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या बढ्न पुगेको छ। वार्षिक १५ करोडभन्दा बढी चिनियाँ पर्यटक विदेश भ्रमणमा निस्कन्छन्। त्यसको केही हिस्सा नेपाल भित्र्याउन सक्ने हो भने यसले नेपाली पर्यटनमा क्रान्तिकारी परिवर्तन देखिने छ।

सन् २०१९ अक्टोबरमा मात्रै चीनबाट १५ हजार ३७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ। यो संख्या गत वर्ष सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी हो। बोर्डको तथ्याङ्क अनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए। उक्त अवधिमा चीनबाट १ लाख ६० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०१९ को अक्टोबरमा भारतबाट १२ हजार ७ सय ६ पर्यटक नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्ष सोही अवधिको तुलनामा नौ प्रतिशतले बढी हो।

सन् २०१९ को १० महिनामा १ लाख ६९ हजार ९ सय ५२ भारतीय पर्यटक नेपाल आएका छन्। उक्त अवधिमा चीनबाट एक लाख ३४ हजार २ सय ८१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अक्टोवरमा कूल १ लाख ४३ हजार ८ सय ७० विदेशी पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्षको सोही अवधिमा १ लाख ३० हजार ७ सय ४ पर्यटक आएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width