हमिदको पोखरा भ्रमण आज

फेवातालमा बोटिङ, रुपाकोटबाट साइटसिइङ

प्रकाश ढकाल
कार्तिक २८, २०७६
abdul_mk_0Xl8XayBDO

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आउने कार्यक्रम छ। उनको साथमा ५५ जनाको टोली करिब ४ घण्टाका लागि यहाँ आउने छ। स्वागतमा प्रदेश सरकार तम्तयार छ।

गण्डकी प्रदेश सरकारको बुधबार मन्त्रिपरिषद् बैठक बसेर राष्ट्रपति हमिदको स्वागत र सुरक्षाको चाँजोपाँजो सरकारले मिलाइसकेको जनाएको छ।

बिहीबार बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा आउने हमिदले केहीबेर फेवातालमा डुंगा सयर गरेर फिस्टेल लजमा लञ्च लिने छन्। करिब ४० मिनेट उनले तालमा डुंगा सयर गर्नेछन्।

प्रदेश सरकारले उनको लागि दिवा खानाको आयोजना गरेको छ। उनले खाना खाने होटल फिस्टेल लज बुधबार रातिदेखि नै खाली गरिएको छ भने सुरक्षाकर्मी खटाएर रेखदेख गरिएको छ। खानापछि हेलिकोप्टरबाटै उनी रुपाकोट पुग्नेछन्। त्यहाँस्थित रुपाकोट रिसोर्टबाट हिमाली दृष्यावलोकन गर्ने कार्यक्रम छ।

हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङको टोलीले स्वागत गर्नेछ भने रुपाकोटमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानको टोलीले स्वागत गर्ने छ। स्वागतका लागि पोखराका सडक छेउछाउ नेपाल र बंगलादेशको झण्डा टाँगेर सजाइएको छ। विमानस्थलको गेटमा स्वागतद्वार बनाइएको छ भने सडक सरसफाइ गरिएको छ। यस्तै, विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गर्ने तयारी गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

‘महामहिम राष्ट्रपतिज्यू को स्वागतका लागि कुनै पनि कमी हुन नदिने सरकारको निर्णय छ। सोही अनुसार सांस्कृतिक झाँकीबाट स्वागत गरिन्छ। सुरक्षा व्यवस्था समेत निकै कडा पारिएको छ, ’ सरकारको निर्णय सुनाउँदै उनले भने, ‘सांस्कृतिक प्रदर्शनीका लागि पोखरा महानगरपालिका र रुपा गाउँपालिकाले व्यवस्थापन मिलाउने छ। सुरक्षाको जिम्मा प्रदेश र जिल्ला सुरक्षा निकायलाई दिइएको छ। ’

बंगलादेशी राष्ट्रपति हमिदको पोखरा भ्रमणले नेपालकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ। यहाँका प्राकृतिक सुन्दरता र शान्तिसुरक्षाबारे विश्वले जानकारी लिने र यसबाट पर्यटक आगमन बढ्ने प्रवक्ता बस्नेत बताउँछन्। विमानस्थलमा झरेपछि महानगरले तयार गरेको स्वागत टोलीले झाँकी सहित फूलको माला र गुच्छाले स्वागत गर्ने मेयर मानबहादुर जिसीले जानकारी दिए।

विमानस्थलमा प्रदेश सरकारका मन्त्रीहरु, विपक्षी दलका नेता, सांसद, विभिन्न राजनीतिक पार्टीका नेताहरु, उच्चपदस्थ कर्मचारी सहित सर्वसाधारणले स्वागत गर्नेछन्।

रुपाकोटमा मुश्लिमको स्वागत

मुश्लिम समुदायका हमिद पुग्ने रुपाकोटमा मुश्लिम समुदायको बाक्लै बस्ती छ। रुपाकोटमा डेढ सय घरधुरी मुश्लिमको बसोबास छ भने सोही गाउँपालिकाको वडा ३, पोल्याङमा पनि आधा दर्जन घरधुरी मुश्लिम समुदाय बस्छन्। हमिदलाई रुपाकोटमा सबैभन्दा पहिले मुश्लिम समुदायले नै स्वागत गर्ने कार्यक्रम छ। स्थानीय भेला भएर फूलगुच्छाले स्वागत गरेपछि मुश्लिमको झाँकी हुनेछ। त्यसपछि पञ्चेबाजा, नेवारको मारुनी नाच तथा गुरुङ समुदायको घाटु र छ्याटु नाच देखाउने तयारी गरिएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए।

‘सबै टोली तयार छन्। हेलिकोप्टर ल्याण्ड भएदेखि नउड्दासम्म स्वागतमा खटिन्छौं, ’ उनले भने, ‘सबै कार्यक्रम रिसोर्टभित्रै हुन्छ। ’ रुपाकोटमा हमिदले १ घण्टा बिताउने छन्। उनी बिहीबारै काठमाडौं फर्कने कार्यक्रम छ।

सार्क र बिम्स्टेकको सदस्य राष्ट्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएका हुन्। उनले कला, संस्कृति र पुरातत्वमा अग्रणी मुलुक भक्तपुरको मंगलबार नै भ्रमण गरिसकेका छन्। शुक्रबार उनी चन्द्रागिरि घुमी स्वदेश फर्किने कार्यक्रम छ।

राष्ट्रपतिबीच भेटवार्ता

रासस। राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच बुधबार भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो। भेटमा उनीहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो।

विगतदेखि नै नेपाल र बङ्गलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गरेकोमा धन्यवाद दिइन्। दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताइन्।

बङ्गलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकामा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरण गरे। बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताए।

यसअघि राष्ट्रपति हमिदको उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता भएको थियो।

त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेसका सभापति शेरबहादुर देउवासँग उनको शिष्टाचार भेटवार्ता भएको थियो। भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाइमार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो। जलवायु परिवर्तनसहित अन्तरराष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदानप्रदान भएको थियो।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width