मन्त्रिमण्डल हेरफेर अघि ओली–नेपाल ४ घण्टा वार्ता

Avatar एजेन्सी
कार्तिक २८, २०७६

काठमाण्डौ, २८ कात्तिक । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार बालुवाटारमा ४ घण्टा एक्लाएक्लै वार्ता भएको छ।

नेकपामा पूर्वएमालेका यी दुई नेताबीच सम्बन्ध चिसिएको ३ महिनापछि लामो भेटवार्ता भएको हो, जहाँ सहमतीमै पार्टी र सरकार सञ्चालन गर्ने समझदारी भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताए।प्रधानमन्त्री ओलीकै पहलमा भएको भेटवार्तामा विगतका तिक्तताको समेत समीक्षा गर्दै पार्टीलाई एक ढिक्का पार्नका लागि मिलेर जानुपर्ने समझदारी भएको छ।

प्रधानमन्त्री निकट नेकपाका एक नेताका अनुसार भेटमा नेपालले विगतमा व्यक्ति नभई पार्टी सञ्चालनको प्रक्रिया र पद्धतिको विषयमा आलोचना गरेको प्रधानमन्त्री ओलीलाई सम्झाएका थिए। उनले त्यस्तो पद्धति र प्रक्रिया सञ्चालनको नेतृत्व अध्यक्षबाटै हुनुपर्ने तर्क गरे।‘दुई नेताहरुबीच पार्टी, सरकार र देशको पछिल्लो अवस्थाबारे गहिरो छलफल भएको छ’, रिजालले भने। प्रधानमन्त्री ओलीले पार्टी र सरकार मिलेरै सञ्चालन गर्ने भन्दै त्यसमा भूमिका खेल्न नेपाललाई आग्रह गरेका थिए।

भदौ ३ गतेपछि दुवै नेताहरुबीच बैठक तथा औपचारिक कार्यक्रममा बाहेक यसरी एक्लाएक्लै छलफल भएको थिएन। त्यो दिन बसेको सचिवालय बैठकले पार्टीको बरियताक्रममा नेपाललाई तेस्रोबाट चौथोमा झारेको थियो।सिंगापुरमा दोस्रो पटक उपचारमा जानुअघि भएको यो बैठकमा दुई नेताबीच चर्काचर्की भएको थियो। बैठकमा नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।कात्तिक पहिलो साता मृगौलामा समस्या देखिएपछि ओली ग्राण्डी अस्पताल भर्ना हुँदा समेत नेपाल स्वास्थ्यस्थित बुझ्न गएका थिएनन् ।

‘प्रधानमन्त्रीका रुपमा मानिसहरूले मलाई भनेपनि, पार्टी मिलेर कालापानीको विषयमा जिम्मेवारी पूरा गर्नुपर्छ’, नेपालसँगको भेटमा ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामीप्रति जनताले अपेक्षा गरेका छन्।मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले त्यसअघि नेपालसँग गरेको यो भेटले नेकपाभित्र तरंग ल्याएको छ। प्रधानमन्त्री केपी र नेपालबीचको भेटले आफू एक्लो हुने त हैन भन्ने आशंका अर्का अध्यक्ष प्रचण्डमा उत्पन्न भएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

गैंडासँग नलोभिनू- सहकारी मन्त्री

विप्लव समूहका सुनार पक्राउ

प्रमुख समाचार

साग महिला फुटबलमा नेपाल रजतमै समेटियो