बङ्गलादेशका राष्ट्रपति हमिदको आगमन

रासस
कार्तिक २७, २०७६
rss_Fotor

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ब·लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई मंगलबार स्वागत गर्दै। तस्वीर : रत्न श्रेष्ठ/रासस

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा मंगलबार अपराह्न आइपुगेका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गरेकी हुन्।

विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए। यसअघि राष्ट्रपति हमिद सवार विमान विमानस्थलमा अवतरण गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरे।

सो अवसरमा राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो। विशिष्ट पाहुनाको स्वागतार्थ विमानस्थलमा सातवटै प्रदेशका जीवन्त कला र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो। विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी समकक्षी हमिदले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ।

बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

नेपाल बसाइँमा बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरि भ्रमण गर्ने कार्यक्रम छ।

यसैबीच, राष्ट्रपति हमिदले मंगलबार भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गरेका छन्।

भ्रमणका क्रममा राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, राष्ट्रिय कला सङ्ग्रहालय, पच्चपन्न झ्याले दरबार, गोल्डेन गेट, शिव मन्दिरलगायतको अवलोकन गरे। सो अवसरमा उनले भक्तपुर नगरपालिकाद्वारा प्रस्तुत गरिएको माक प्याखँ नाच, देवी नाच, ख्याक नाचलगायतको अभिरुचिका साथ अवलोकन गरे। । त्यहाँ उनलाई भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले स्वागत गरे।

राष्ट्रपति हमिदले सकिमना पूर्णिमा (कात्तिक पूर्णिमा) को अवसरमा तौमढीमा विभिन्न गेडागुडीको समिश्रणबाट बनाइएको कला आकृतिको अवलोकनसमेत गरे। भ्रमणका क्रममा उनले यहाँ राखिएका विभिन्न सामग्रीबारे चासो राख्नुका साथै भक्तपुर भ्रमणमा आएका बाह्य पर्यटकसँग कुराकानीसमेत गरे।

नेपालाई सक्दो सहयोग : हमिद

राष्ट्रपति हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन्।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भएको भेटमा उनले नेपालको उक्त लक्ष्य हासिल गर्ने परिकल्पना पूरा गर्न बङ्गलादेशले हातेमालो गर्दै अघि बढ्न चाहेको बताए।

“बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थन तथा बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै उनले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताएको मन्त्री ज्ञवालीले सरकारी सञ्चारमाध्यमका प्रतिनिधिलाई जानकारी दिए। राष्ट्रपति हमिदले बङ्गलादेशबाट अधिकतम लाभ लिन तथा द्विपक्षीय सहकार्य र साझेदारीलाई अझ घनीभूत तुल्याउनुपर्नेमा जोड दिएको जानकारी पनि उनले दिए।

सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बङ्गलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवद्र्धनलगायत आपसी चासोका विविध विषयमा आफूहरूबीच विचारविमर्श भएको बताउँदै उनले बङ्गलादेशसँगको सुसम्बन्धलाई अझ सार्थक तुल्याएर त्यसलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्न नेपालले चाहेको जानकारी राष्ट्रपतिलाई दिएका थिए।

राष्ट्रपति हमिदको यस भ्रमणबाट नेपाल र बङ्गलादेशबीचको परम्परागत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width