स्वर्गद्वारी : धार्मिक पर्यटनको स्वर्णभूमि

आश्रम परिसरबाट नीलगिरी, मनास्लु हिमालको मनमोहक दृश्य देखिन्छ

Suraj Hazare Dahal Suraj Hazare Dahal
कार्तिक २६, २०७६

प्रदेश ५ स्थित प्युठान जिल्लाको चर्चित धार्मिक एवं पर्यटकिय स्थल हो स्वर्गद्वारी । पोखरादेखि ३१२ किमी दूरीमा रहेको स्वर्गद्वारी समुद्री सतहदेखि २१०० मिटरको उचाइमा पहाडको थुम्कोमा सजिएर बसेको छ । रोल्पा जिल्लाका बाल तपस्वी हंसानंद गिरीले विस १९५२ मा १६०० रोपनी क्षेत्रफलको जग्गामा स्वर्गद्वारी आश्रम स्थापना गरेका थिए । मौसम खुलेको दिन आश्रम परिसरबाट नीलगिरी, मनास्लु हिमालको मनमोहक दृश्य देखिन्छ । आश्रम आसपासको हरियाली वनमा वैशाख आसपास लालीगुराँस फुलेको देखिन्छ भने साल, काफल, , चुत्रो, देवदार बाँस जस्ता पैदावरले आश्रमलाई हरभरा बनाएको छ । तसर्थ स्वर्गद्वारी धार्मिक साथै पाकृतिक पर्यटनको संगल स्थल पनि हो ।

१२२ वर्ष अगाडि तपस्वी एवं आश्रमका संस्थापक हंसानंद गिरीले शुरु गरेको अखण्ड ज्वाला आजसम्म पनि बलिरहेको छ । आश्रममा धुनी, बलि बिनाको पुजा अर्चना र होम् गरिँदै आएको छ । भनिन्छ महाभारत कालमा पाण्डवहरु यहि स्वर्गद्वारीबाट स्वर्ग प्रस्थान गरेका थिए । यस आश्रमको मन्दिर हातामा सूर्य, गणेश, विष्णु र शिवको मुर्ति स्थापना गरिएको छ । हरेक दिन २४ जना बटुकहरुले आरती गर्छन् ।

नित्य पुजाको अलवा यहाँ वेदपाठ, भागवत पाठ पनि गरिन्छ । यहाँ परापूर्व कालमा ऋषिमुनिहरुले तपस्या गर्ने गरेको र भगवान ब्रह्माले यहाँ तपस्या गरेको भन्ने किवदन्ती छ । आश्रमले गुरुकुल पनि संचालन गरेको छ जहाँ निशुल्क धार्मिक शिक्षा जस्तै रुद्री, चण्डीदेखि वैदिक परम्परा सिकाइन्छ । देवशाला, वेदशाला, धर्मशाला एवं गौशाला भएकाले यस पावन भूमिलाई स्वर्गको ढोकाको रुपमा मानिएको हो । स्वर्गद्वारी मन्दिर परिसरबाट १५ मिनेटको दूरीमा महाप्रभु गुफा पनि रहेको छ । उक्त गुफाको द्वारलाई स्वर्ग जाने द्वार पनि भनिन्छ । स्वर्गद्वारी आश्रम यज्ञ आश्रम पनि हो किनकी यहाँ वर्षको सबै दिन अहेरात्र यज्ञ चलिरहन्छ । आश्रमभित्र गणेश पञ्चाङ, शिव पञ्चाङ्ग, देविपञ्चाङ, सुर्यपञ्चाङ्ग, विष्णुपञ्चाङ्ग गरी ५ कुण्डहरुमा वैदिकविधी पूर्वक दैनिक ३ पटक पुजा गरिन्छ ।

हरेक वर्ष ३ लाख सम्म स्वदेशी तथा बिदेशी पर्यटकहरुले आश्रम प्रवेश गर्ने गरेको तथ्यांक छ । नेपाली र भारतीय हिन्दूहरु विच प्रख्यात यस आश्रममा यो वर्षको पुसदेखि फागुणको मसान्तसम्ममा ८० हजार तीर्थ यात्रीहरुले अवलोकन गरेको रेकर्ड छ । स्वर्गद्वारी आश्रमका व्यवस्थापक बासुदेव भट्टराइका अनुसार बुद्धजयन्ती, साउन तथा पुष महिनामा बढी मात्रामा भारतीय तिर्थालुहरु आउँछन् । यस्तै आश्रमका संस्थापक हंसानंद गिरीको जन्मदिन श्रावण शुक्ल एकादशी तथा निधन भएको माघ शुक्ल चौथीका दिन पनि तिर्थालुहरुको भिड लाग्ने गर्छ । आश्रममा कुल १४० जना कर्मचारीहरु कार्यरत छन् । हरेक वर्ष करिब व ७५ जना विद्यार्थीहरु आश्रमबाट दिक्षित हुन्छन् । आश्रममा ४२० गाई तथा गोरुहरु पालिएका छन् । गाईको दूध तथा घिउ दर्शनार्थीहरुलाई भोजनका साथ दिइन्छ र पुजामा समेत प्रयोग गरिन्छ । तिनीहरुको दैनिक खर्च रु ५५००० रहेको छ । आश्रमको खर्चको श्रोत नै दर्शानार्थीहरुल दान गरेका भेटी नै हो, भक्तजनले रु ५५५ देखि रु एक हजार ५५ सम्मको दान गरेर आफ्नो परिवारजनको नाममा रुद्री गर्ने चलन रहेको छ । विस २०६० बाट आश्रमको नेतृत्व भागवानन्द गिरीले गर्दै आएका छन् । आश्रमकै आफ्नै १०५० विगाह जग्गा दाङमा रहेको छ जहाँ उत्पादन भएका अन्न तथा तरकारीहरु आश्रममा बास बस्ने तिर्थालुहरुलाई निशुल्क भोजनमा खुवाइने गरिन्छ । आश्रमको चार वर्ग किमी क्षेत्रभित्र भने कुनै पनि प्रकारको मदिरा तथा मासु बेच्न तथा खान प्रतिबन्ध लगाइए पनि आश्रम मुनिकै निजी होटलहरु लुकाएर बेच्ने गरेका छन् । २०६४ सालमा स्वर्गद्वारी पुग्ने ट्रयाक खोलिएको थियो । हाल भिंग्रीदेखि स्वर्गद्वारी सडक खण्ड पिच भएपछि २० मिनेटमै आश्रम पुगेर सोही दिन यात्रुहरु फर्किन सक्नेछन् । मृत्यु पछि पुगिने भनिएको स्वर्ग वा नर्क छ छैन कसैलाई थाहा छैन तसर्थ यहि युगमा एकपटक स्वर्गद्वारीको भ्रमण गरौं

खर्च र बसाइ ः पोखराबाट हरेक दिन दिउँसो २ बजे डिलक्स बस रोल्पाको लागि छुट्छ । सोही बस प्युठान पुगेपछि ओर्लिएर स्थानीय जीपमा चढेपछि स्वर्गद्वारी पुगिन्छ । स्वर्गद्वारी आश्रममा खान र बस्न निशुल्क र सशुल्क व्यवस्था रहेको छ भने निशुल्क वाइफाइ सेवा प्रदान गरेको छ । जाने आउने २ दिनको यातायात र खाना खर्च, दुइ दिनको स्वर्गद्वारीमा बसाइ सहित अधिकतम खर्च रु १२००० लाग्छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

नेपालमा फिल्म छायांकन

भ्रमण वर्षलक्षित छुट घोषणामा ढिलाइ

माइक्रोसफ्टमा आधारित प्रतिस्पर्धा

डेपुटी गभर्नर श्रेष्ठ बर्खास्त हुन सक्ने

प्रमुख समाचार

टिपर दुर्घटनामा दुईको मृत्यु