उम्मेदवारलाई चुनाव चिह्न प्रदान

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
photo (1)_Fotor

कास्कीमा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिँदै। तस्वीर : प्रकाश ढकाल

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ। आगामी मंसिर १४ मा कास्की क्षेत्र २ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर निर्वाचन क्षेत्र १(क), बागलुङ निर्वाचन क्षेत्र २ (ख) र दाङको निर्वाचन क्षेत्र ३ (ख) मा प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ।

जसअनुसार कास्की क्षेत्र २ मा पनि सोमबार कुल २१ उम्मेदवारमध्ये राजनीतिक दलका ११ र स्वतन्त्र १० लाई चुनाव चिह्न प्रदान गरियो।

चुनाव चिन्हबिनै प्रचार गरिरहेका स्वतन्त्र सांसदलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह दिएको हो। गत कात्तिक २१ मा २५ जनाले उम्मेदवारी दिएकामा अन्तिम नामवलीमा २१ उम्मेदवार अटेका हुन्। ३ जनाको समानुपातिकको बन्दसूचीमा नाम भएपछि उम्मेदवारी खारेज भएको थियो भने स्वतन्त्र उम्मेदवारी दिएका पुरुषोत्तम खनालले आइतबार उम्मेदवारी फिर्ता लिएका थिए। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवारी दिएका गजेन्द्र संबो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाहको उम्मेदवारी खारेज भएको हो।

विवेकशील नेपाली दलबाट उम्मेदवारी दिएकी जमुना शर्माको उम्मेदवारी पनि स्वतन्त्र छ। निर्वाचन आयोगमा पार्टी दर्ता नभएका कारण उनले स्वतन्त्र चुनाव लड्न लागेकी हुन्। शर्मालाई गुलावको फूल चुनाव चिन्ह दिइयो।

यस्तै, उमनाथ गौतमलाई किताव, कमलजंग कुँवरलाई शंख, दीपक रेग्मीलाई क्यामेरा, नवराज बास्तोलालाई कलम चुनावी चिन्ह दिइएको छ।

यज्ञप्रसाद पंगेनीलाई आँप, रनबहादुर दमैलाई डोजर, लक्ष्मीकुमारी भुजेललाई माहुरी, सुनिलबहादुर कोइरालालाई टेवुल र सुनील भुषाललाई क्रिकेटको ब्याट चुनाव चिन्ह छ। उम्मेदवारले बर्णानुक्रम अनुसार चुनाव चिन्ह रोजेका थिए। सोही आधारमा चिन्ह प्रदान गरिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए। दलहरुले चाहीँ आयोगले दिएकै चुनाव चिन्हमा मत माग्नेछन्।

यसैबीच, स्वतन्त्र उम्मेदवार रनबहादुर दमैलाई प्रदान गरिएको चुनाव चिन्ह डोजर भनिए पनि आयोगको त्रुटीका कारण चित्र रोलर रहेको छ। यसबारेमा उम्मेदवार दमैले आयोगसमक्ष गुनासो गर्ने जनाएका छन्।

यस्तै, गण्डकी प्रदेशअन्तर्गत बागलुङ निर्वाचन क्षेत्र २(ख) का लागि उम्मेदवारको सूचीमा नाम समावेश भएका राजनीतिक दलका ८ र स्वतन्त्र २ गरी १० तथा दाङको निर्वाचन क्षेत्र २ का लागि अन्तिम नामावलीमा रहेका राजनीतिक दलका १२ र दुई स्वतन्त्र गरी कूल १४ उम्मेदवारलाई निर्वाचन चिह्न दिइएको छ।

उता, भक्तपुर निर्वाचन क्षेत्र १(क) को उपनिर्वाचनका लागि अन्तिम नामावलीमा नाम समावेश भएका राजनीतिक दलका ९ र स्वतन्त्र १० गरी १९ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित राजनीतिक दलको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदवारलाई कानूनअनुसार निर्धारण गरिएका निर्वाचन चिह्नमध्येबाट चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।

उपनिर्वाचनमा कुल ५५ पुरुष र ९ महिलासहित ६४ उम्मेदवार प्रतिस्पर्धामा छन्।

Related News

सम्बन्धित समाचार

hero news full width