उपचारक्रममा बिरामीको मृत्यु

भोजराज भट्टराई
कार्तिक २६, २०७६
p_Fotor

लुम्बिनी मेडिकल कलेज, पाल्पामा एपेन्डिक्स अप्रेसनक्रममा एक युवतीको मृत्यु भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसाइलीको मृत्यु भएको हो।

अस्पतालमा शनिबार उपचारका लागि आएकी रसाइलीको भैरहवा मेडिकल कलेजमा सोमबार मृत्यु भएको बताइएको छ। ‘उनको आइतबार लुम्बिनी मेडिकलमा अप्रेसन गरिएको थियो। मेडिकल कलेज अप्रेसन गर्दा नसाबाट ब्लिडिङ भैरहेका कारण थप उपचारका लागि भैरहवा लगिएको थियो तर उनलाई बचाउन सकिएन, ’ मेडिकल कलेजका प्रवक्ता कृष्ण पराजुलीले भने।

कलेजका वरिष्ठ सर्जन डा राजकुमार क्षेत्रीले अप्रेसन गरेर एपेन्डिक्स निकालिएको बताए। उनी भन्छन्, ‘उहाँको नसाबाट रगत बगिरहेको रहेछ। बाहिरी पेट खोलेर एपेन्डिक्स निकालियो। नसा फुटेको थियो जसलाई हाम्रो पहलमा भैरहवा विशेषज्ञकोमा पुर्याउँदा पनि सफल हुन सकेनौं। ’ यता, मृतकका आफन्त मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको बताएका छन्। उनीहरुले कलेजले गरेको अप्रेसन सफल नभएर भैरहवा पुर्याउँदा मृत्यु भएको आरोप लगाए।

मृतककी आमा रेश्मा विश्वकर्माले सामान्य पेट दुःखेर अस्पतालमा ल्याउँदा छोरी गुमाउनु परेको बताइन्। उनी भन्छिन्, ‘सामान्य अप्रेसन गर्न भनेर लगेकी छोरीमा अन्य समस्या देखियो भनेर डाक्टरले लापरवाही गरेका छन्। दोषीलाई कारबाही हुनुपर्छ। ’ आफन्त टीकाराम विश्वकर्माले नसा फुटेको अप्रेसनका कारण हुनुपर्ने भन्दै पूर्व जानकारी नदिइएको बताए।

मृतकका आफन्तको ठूलो समूहले लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै लुम्बिनी मेडिकल कलेजसँग न्यायको माग गरिरहेका छन्। मृतक लक्ष्मीको शव भैरहवा मेडिकल कलेज, रुपन्देहीमा रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width