सीमा अतिक्रमणविरुद्ध विरोध

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७६
birodh pradashan_Fotor

भारतले लिपुलेम लगायत नेपाली भूमि अतिक्रमण गरी आफ्नो नक्सामा समावेश गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।

अनेरास्ववियुका विद्यार्थीले नेपाली भू–भाग अतिक्रमण गरेकोमा वेसीशहरमा आइतबार विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘गो व्याक इण्डिया’, लिपुलेक हाम्रो हो, कालापानी पनि हाम्रै हो, विदेशी हस्क्षेप सहन्नौ, नेपाली भूमि तत्काल फिर्ता गर, भारतीय सेना नेपाल छोड, खराब छिमेकी चाहिँदैन–नेपाली भूमि मिच्न पाइँदैन, हाम्रो भूमि हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायत नारा लगाउँदै बेसीशहर नगर परिक्रमा गरेका थिए।

अनेरास्ववियुले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न आवश्यक कदम चाल्न भारत सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेको अनेरास्ववियुका जिल्ला संयोजक रोनिश परियारले बताए। उनले भने, ‘भारतले एकहप्ता पहिले नेपालका ती भूभागलाई आफ्नो भूमिमा मिसाएको नक्सा सार्वजनिक गरेको हुँदा सार्वभौम स्वाधीनताको रक्षाका लागि विरोध प्रदर्शन गरिएको हो। ’

मनाङ्गे चौताराबाट शुरु विरोध जुलुस त्रिवेणी टोल, पुरानो बैंक चोक, भीमसेन स्थान, नारायण स्थान, झिंगेखोला हुँदै सेरा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। सभामा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य जुन तामाङले भारतको एक इञ्च जमिन नचाहिएको र आफ्नो भूभाग पनि एक इञ्च पनि गुमाउने अडान लिए। विद्यार्थी तथा युवा नेताले भारतलाई चाँडो आफ्नो गल्ति सुधार्न चेतावनी दिएका छन्।

मस्र्याङ्दी बहुमुखी क्याम्पस र जनविकास कलेजका विद्यार्थी सहभागी विरोध जुलुसमा मस्र्याङ्दी बहुमुखी क्याम्पस स्ववियु सभापति देवेन्द्र गुरुङ, अनेरास्ववियु जनविकास माविका अध्यक्ष निश्चल पाण्डेका साथै अनेरास्ववियु केन्द्रीय स्तरका विद्यार्थी नेता, जिल्लास्तरका विद्यार्थी नेता समेत सहभागी थिए।

Related News

सम्बन्धित समाचार

hero news full width