निर्धारित समयमै साग गेम : सदस्य सचिव

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७६
SAAG Game Pressmeet PKR_Fotor

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले निर्धारित मितिमै १३ औं दक्षिण एसियाली खेलकुद (साग गेम) हुने ग्यारेन्टी दिएका छन्। साग तयारी र योजनाको जानकारी लिन साउथ ओलम्पियन कमिटीको काउन्सिल र ‘सेफ दि मिसन’को टोलीसँगै पोखरा आएका सदस्य–सचिव सिलवालले यहाँ आयोजित पत्रकार सम्मेलनमा साग गेमको तयारी अन्तिम चरणमा पुगेको समेत उल्लेख गरे।

प्रतियोगितालाई सफलतासाथ सम्पन्न गनेर्गरी तयारी थालिएको उनको कथन थियो। उनले प्रतियोगिता अगावै पूर्वाधार निर्माणका कार्यहरु सक्ने ग्यारेन्टी दिए। सहभागी राष्ट्रसँग आफूहरुले साग तयारीबारे संपूर्ण जानकारी गराइसकेको उनले उल्लेख गरे। सदस्य सचिव सिलवालले सहभागी राष्ट्रहरु समेत साग आयोजना र व्यवस्थापनप्रति विस्वस्त रहेको बताए।

सदस्य–सचिव सिलवालले खेलस्थलको तयारी पनि अन्तिम चरणमा पुगेको बताए। दुई÷तीन वटा खेलस्थलबाहेक सबै खेलस्थलहरुको निर्माण कार्य करिब करिब पूरा भएको उनले दोहोर्याए। सिलवालले हिटिङ स्विमिङ पुल एक हप्तामा पूरा हुने बताए। दशरथ रंगशालाको भीआइपी प्यारापिटमा सिट राख्ने कार्य आजभोली नै पूरा हुने उनको दाबी छ। पोखरा रंगशालाको निर्माण कार्य समेत तीब्र रुपमा अघि बढेको उनले बताए। ‘पोखराको फुटबल मैदानमा दुबो लगाउने काम सकिएको छ, ’ उनले भने, ‘ट्रयाक एण्ड फिल्डका कामहरु अघि बढेका छन्। ग्राण्ड स्टाण्डका समानहरु भन्सारसम्म आइपुगेको छ। त्यसलाई छुटाएर ल्याउने काम मात्रै बाँकी छन्। समान आइपुगेको मितिले ग्राण्ड स्टाण्डलाई पाँच दिनभित्र फिट गरेर सकिन्छ। साग गेमका लागि अहिले चार साइडमध्ये दुई साइड मात्रै १० अँट्ने प्याराफिट बन्छ। ’

पोखराले स्पोटर्स भेन्यू पाएको मध्ये ब्याडमिन्टनको खेल पूर्वाधार हप्ता दिनभित्र सकिने उनले बताए। चौर सम्याउने बाहेक आर्चरीको अन्य काम बाँकी नरहेको उनले उल्लेख गरे। कभर्डहल, भारोत्तोलन, ट्रायथलनका लागि पूर्वाधारको समस्या नरहेको उनले विश्वस्त पारे।

साग गेमका लागि नेपालको तयारीमा कुनै कसर बाँकी नराखेको सदस्य–सचिव सिलवालले दाबी गरे। सिलवालले १३ वटा गेमको असार अघि नै र बाँकी खेलको साउन पछिाडीबाट बन्द प्रशिक्षण थालिएको उल्लेख गरे। देशभित्रको स्वदेशी, तथा विदेशी प्रशिक्षकद्वारा विदेशमा प्रशिक्षण एवं प्रतिस्पर्धा गराएर साग गेमका लागि खेलाडी तयार पारिएको उनको कथन छ।

‘नेपाली खेलाडीहरुले प्रभावकारी परिणाम ल्याएका छन्, ’ उनले भने, ‘हिँजो मात्रै चाइना ओपनमा १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ। बंगलादेशको प्रतियोगितामा सहभागी नेपाली खेलाडीले ८ वटा स्वर्ण पदक २ रजत र ३ कास्य पदक प्राप्त गरेका छन्। ’ साग गेमप्रति मिडिया क्षेत्र संवेदशील बन्न पनि सिलवालले आग्रह गरे। साग अवधिभित्र आयोजकको तर्फबाट भएका गल्ती कमजोरीहरुलाई घरभित्रै रहेर कमी कमजोरीलाई औंल्याइदिन उनको आग्रह थियो। मिडिया क्षेत्रलाई साग गेमप्रति जिम्मेवार र संवेदनशील बन्न उनको आग्रह थियो।

‘मिडिया क्षेत्र पनि देशको जिम्मेवार हाम्रो ईज्जत र प्रतिष्ठाभित्र तपाँईहरुको पनि ईज्जत र प्रतिष्ठा पर्छ, ’ उनले भने, ‘मिडिया संप्रेषणमा तद्नुरुप गरिदिन पनि म आग्रह गर्दछु। यसमा हाम्रोसँगै तपाँईहरुको पनि भूमिका ठूलो छ। यहाँ खेल पनि भयो, खेलाडीहरु पनि आएर खेलिदियो, तर मिडियाले लेखिदिएन भने पोखरा पछि पर्न सक्छ। ’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुदमा द्विविधा नरहेको उल्लेख गरे। हालैमात्र बसेको साउथ ओलम्पियन कमिटीको काउन्सिल र सेफ दि मिसनको टोली निर्धारित समयमै साग गेम गर्ने निष्कर्षमा पुगेको श्रेष्ठले जनाए। नेपालमा निर्धारित समयमै शत प्रतिशत रुपमा आयोजना हुने कुरामा श्रेष्ठले ग्यारेन्टी दिए। आयोजक राष्ट्रका सरकारले आफ्नो प्रतिबद्धता जनाउने र उनीहरुको जिज्ञाशा मेटाउने काम भइसकेको उनले जनाए।

श्रेष्ठले सरकारले जनाएको प्रतिबद्धताप्रति नेपाल ओलम्पिक कमिटी र साउथ एसियन ओलम्पिक कमिटीले विश्वास लिएको बताए। काउन्सिल र मिसनको टोलीले गरेको स्पोर्टस् भेन्यूको भ्रमणले पनि आशंक द्विविधामा पूर्णविराम लागेको उनको कथन थियो।

‘काउन्सिल र मिसन टोलीको स्पोर्ट्स् भेन्यूको भिजिट भएको छ, ’ श्रेष्ठले उल्लेख गरे, ‘नेपालमा साग नहुने हो कि, खेल मिति सर्ने हो कि भन्ने आम नागरिकको आशंकालाई स्पोर्टस् भेन्यूको भिजिटले समाप्त पारिदिएको छ। ’

यसैबीच, आइतबार विहान पोखरा रंगशालास्थित साग सचिवालयमा साग गेम सहजीकरण समिति, साउथ एसियन ओलम्पियन कमिटीको काउन्सिल र सेफ दि मिसन टोलीबीच बैठक बसेको थियो। काउन्सिल र मिसन टोलीले सहजीकरण समितिसँग पोखराको खेलस्थल र आयोजनबारे जानकारी लिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width