रोयल सहकारीको नाफा साढे ६ करोड

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६

पोखराको सशक्त सहकारी पोखरा रोयल सहकारीले स्थापनाको १८ औं वर्षमा आइपुग्दा ६ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। बुद्धचोकमा कार्यालय रहेको सो सहकारीले साधारणसभा अवसरमा सो विवरण सार्वजनिक गरेको हो।

कुल ५ हजार ३ सय ३ सदस्य रहेको सहकारीको शेयर पुँजी १८ करोड ५८ लाख ५४ हजार ३ सय रुपैयाँ रहेको छ। यसैगरी बचत निक्षेप १ अर्ब २१ करोड ३९ लाख ४२ हजार ७ सय ८४ रुपैयाँ पुगेको सहकारी अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङले जानकारी दिए। कर्जा लगानी भने १ अर्ब २४ करोड ७६ लाख ३४ हजार ६ सय ५४ रुपैयाँ रहेको छ। यस हिसाबले सहकारीको कुल सम्पत्ति (वासलात) तर्फ १ अर्ब ७० करोड ९७ लाख २२ हजार ७ सय ८६ रुपैयाँ पुगेको सहकारीले जनाएको छ।

रोयल सहकारीको ऋण असुली विभागका प्रमुख उमनाथ आचार्यका अनुसार कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संघ लि (नेफस्कून) का पूर्व अध्यक्ष एवं एशियाली ऋण महासंघका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलाई सम्मान गरिएको थियो। उनले २५ हजार रुपैयाँ राशिको पोखरा रोयल राष्ट्रिय सहकारी पुरस्कार प्राप्त गरे।

सहकारी क्षेत्रको विकास र यससम्बन्धी सचेतना बढाउन भूमिका खेलेकोमा घिमिरेले प्रत्येक २ वर्षमा प्रदान गरिने सो सम्मान प्राप्त गरेका हुन्।

मञ्चविहीन र वक्ताविहीन कार्यक्रमलाई प्रशिक्षणमूलक रुपमा अगाडि बढाइएको थियो। घिमिरेले सो अवसरमा प्रशिक्षण पनि प्रदान गरेका थिए।

यसैगरी गण्डकी प्रदेशस्तरीय पोखरा रोयल पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी सम्मानित भए। उनले १५ हजार रुपैयाँ प्राप्त गरे। यो पुरस्कार पनि हरेक २ वर्षमा प्रदान गरिने सहकारीले जनाएको छ। सहकारी क्षेत्रका समाचारलाई प्राथमिकता साथ प्रकाशन प्रसारण गरी यस क्षेत्रको विकासमा भूमिका खेलेको भन्दै सुवेदीलाई सम्मान गरिएको हो।

सो अवसरमा सहकारीको उत्कृष्ट कर्मचारीतर्फ सन्तोष पौडेल, सुपरीवेक्षक पाँचौंलाई १५ हजार रुपैयाँ राशि सहित सम्मान गरिएको थियो। रोयल प्रतिभा पुरस्कारबाट शेयर सदस्य विक्रमप्रसाद पौडेल सम्मानित भए। ३ दशमलव ७६ जीपीए स्कोर ल्याएका उनलाई ११ हजार रुपैयाँ प्रदान गरियो। सहकारीको उत्कृष्ट सदस्यको रुपमा भने श्यामु थापा र झमानसिं थापालाई सम्मानित गरियो।

उत्कृष्ट केन्द्रको रुपमा मिलेनियम केन्द्र, घाचोक केन्द्र र जमुना रोयल केन्द्रलाई पुरस्कृत गरियो। सो अवसरमा बाल कर्मचारी सौभाग्य घले पनि सम्मानित भए।

संरक्षित पुँजी फिर्ता कोषअन्तर्गत २८ जना सदस्य पनि सो अवसरमा सम्मानित भए। अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ, उपाध्यक्ष रुद्रकुमारी गुरुङ (मैना), सचिव भीमबहादुर गुरुङ र कोषाध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ लगायतको नेतृत्वले यो सहकारीलाई हाल अगाडि बढाइरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width