पर्यटन विकासका लागि पोखरा र भरतपुरबीच सहकार्य

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७६
pokhara-bharatpur (1)

पोखरा, २३ कात्तिक । पर्यटनको विकास र प्रबद्र्धन गर्नका लागि पोखरा र भरतपुर महानगरपालिकाबीच समझदारी भएको छ ।

पोखरामा भएको विशेष कार्यक्रममा दुवै महानगरका मेयरले समझदारी पत्रमा हस्ताक्षर गरे । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रबद्र्धन गर्ने र पर्यटक भित्र्याएर आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य सहित दुई नगरबीच १२ बुँदे सम्झौता भएको हो ।

सम्झौतामा पोखरा र भरतपुरमा रहेका पर्यटकीय गन्तब्यहरुको विकास र प्रबद्र्धन गर्नका लागि सहकार्य गर्ने र यसका लागि पर्यटनसँग सम्बन्धित सूचना तथा जानकारी एवं अध्ययन अनुसन्धानबाट पत्ता लागेका नयाँ बिषयहरुको बारेमा सूचना तथा जानकारीहरु आदन प्रदान गर्ने उल्लेख छ । यस्तै, पोखरा र भरतपुर जोड्ने पृथ्वीराजमार्ग र मुग्लीन नारायणगढ सडकलाई सुन्दर हाईवेको रुपमा विकास र सौन्दर्यीकरण गर्न पहल गर्ने, दुवै महानगरपालिका बीच भैरहेको हवाई सेवा र सडक यातायातलाई अझ विस्ता र सुदृढ बनाउने, दुवै महानगरपालिकामा रहेको तालतलैया, नदी, रामसारमा सूचीकृत सम्पदाहरु जस्ता प्राकृतिक सम्पदाहरुको संरक्षण र सम्बद्र्धन गर्न सहकार्य गर्ने समझदारी पनि भएको छ ।

पोखराको एक सडकलाई भरतपुर मार्ग र भरतपुरको एक मार्गलाई पोखरा मार्ग नामाकरण गर्ने तथा दुवै महानगरका शहरलाई सफा, सुन्दर, स्वच्छ र पर्यटनमैत्री बनाउन प्लाष्टिकका झोला, सुर्तिजन्य पदार्थ बोतल आदिबाट मुक्त क्षेत्र घोषणा गर्दै जाने, दुवै नगरबीच विकासका आफ्ना सफल र असफल अभ्यासबाट प्राप्त सिकाईको आदानप्रदान गर्ने र सफल अभ्यासको अवलम्बन गर्नका लागि प्राविधिक सयहोग समेत आदान प्रदान गर्ने, दुवै नगरमा उद्योग तथा सेवा ब्यवसाय प्रबद्र्धन गर्नका लागि दुवै महानगरमा हरेका उद्योग तथा सेवा ब्यवसायहरुलाई आफना क्षेत्रमा सञ्चालन हुने मेला महोत्सवमा सहभागी गराईने बुँदा सम्झौतापत्रमा लेखिएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन प्रबद्र्धन एवं भ्रमण समेतका विषयहरु संयुक्त रुपमा अगाडि बढाउने र दुवै महानगरको आधिकारिक वेवपेजका लिंकेज समेत गर्ने, दुवै महानगका पर्यटन गुरुयोजना, आवधिक योजना, विषयगत योजना, वार्षिक बजेट तथा कार्यक्रमहरु, नीति, निर्देशिका, कार्यविधि र अन्य प्रकाशनहरु आदानप्र्रदान गर्ने, पोखरा र भरतपुरले आगामी दिनमा बिशेष कार्यक्रममा आमन्त्रित गर्ने र अन्य बिषयहरुमा पनि सहकार्य गरी अगाडी बढ्ने गरी सम्झौता गरिएको पोखरा महानगरका मेयर मानबहादुर जिसीले बताए । अहिले गरिएको सम्झौता ५ वर्षका लागि कायम हुने उनले बताए ।

‘दुवै महानगर कमिटेड हुनुपर्छ । यि सम्झौता कार्यान्वयन गर्न अझै मसिनो योजना बनाएर लैजान्छौं । खासगरी पर्यटन र उत्पादन साटासाट गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘यसका लागि एक्सन कमिटी नै गठन गर्नुपर्छ । पूर्वाधार र पर्यटकीय गन्तब्यको विकास मुख्य एजेण्डा हो ।’ उनका अनुसार पोखराले रत्ननगर नगरपालिकासँग पनि यस्तै खालको सम्झौता गर्दैछ । सौराह र पोखराको पर्यटन मिल्ने भएकोले रत्ननगरसँग पनि समझदारी गर्न लागेको उनले सुनाए ।

भरतपुर महानगरकी मेयर रेणु दाहालले पनि आन्तरिक पर्यटन प्रबद्र्धनमा बढी जोड दिने बताईन् । ‘विदेशी र आन्तरिक दुवै पर्यटक हाम्रा लागि उत्तिकै महत्वपूर्ण छन् । भरतपुरले नयाँ पर्यटकीय गन्तब्यको खोजी गरिरहेको छ,’ उनी भन्छिन्, ‘भैरहेका ठाउँमा स्तरीय पूर्वाधार बनाउने र नयाँ गन्तब्यमा संरचना निर्माणकोे काम धमाधम गरिरहेका छौं ।’ भरतपुरले समेत विराटनगरसँग छिट््टै भगिनी सम्बन्ध स्थापित गर्ने उनको भनाई छ । पोखरा र भरतपुरबीच २०७२ जेठमा भगिनी सम्बन्ध स्थापना भएको पोखरा महानगरका मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । यो सम्झौताले नयाँ सम्बन्ध स्थापित भएको दुवै नगरको विश्वास छ ।

Related News

सम्बन्धित समाचार

hero news full width