पूर्वाञ्चल गोल्डकप: झापा–११ माथि पुलिसको जित

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७६
Police vs Jhapa-11, Purbanchal Gold Cup

पोखरा । विभागीय नेपाल पुलिसले घरेलु झापा ११ एफसीमाथि शानदार जित दर्ता गर्दै पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको समर्थन पाएको झापा ११ लाई पुलिसले २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । पुलिसका लागि सुमन लामा र सौजन याख्खाले एक\एक गोल गरे । झापाको तर्फबाट भने योगेश गुरुङले गोल गरे ।

खेलको १३ औं मिनेटमा फ्रिकिकमार्फत सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । झापा ११ का खेलाडीले डी–बक्स नजिक गरेको फाउलमा सुमन लामाले फ्रिकिकमा सहज गोल गरेका थिए ।

एक गोलको अग्रताले मनोबल उच्च बनाएको पुलिसका खेलाडीेले विपक्षी रक्षकको कमजोरीको फाइदा उठाउँदै झापालाई दवावमा राख्न सफल रह्यो । खेलको ५९ औं मिनेटमा सौजन याख्खाले गोल गर्दै पुलिसलाई दोब्बर अग्रता दिलाए । झापाका गोलरक्षक किशोर गिरी बिट भएको अवस्थामा सौजनले गोल गर्न सफल भएका थिए ।

खेलको ७४ औं मिनेटमा झापाका लागि योगेश गुरुङले गोल गरे । झापाका कप्तान समेत रहेका योगेशले पुलिसका गोलरक्षक शत्रुधन चौधरीसँग वान भर्सेज वानको स्थितिमा गोल गरेका थिए ।

पुलिसका सौजन याख्खा उक्त खेलको ‘म्यान अफ दी म्याच’ बने । सौजनले नगद १० हजार सहित ट्रफी हात पारे । जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका गरी १० टिमको सहभागिता छ । सोमबार सिक्किम एफसी र बेलबारी एफसी मोरङबीच खेल हुनेछ । बेलबारी प्रदेश लिगको रनर–अप टोली हो ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको बेष्ट प्लेयरले एक थान मोटरसाइकल र ट्रफी पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही १५ हजार पाउनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width