सन्दकपुर : देशभित्रको बिरानो ठाउँ

नेपाल बाहेक भारत र भुटानका हिमचुचुरोहरु प्रष्ट देख्न सकिन्छ

Suraj Hazare Dahal
कार्तिक १७, २०७६
Sandakpur 3

इलाम जिल्लाको सबैभन्दा उचाँइमा रहेको रमणिय पर्यटकिय स्थल हो सन्दकपुर । समुन्द्री सतहदेखि ३३३६ मिटरको उचाँइमा रहेको सन्दकपुर इलामको मबु गाउँपालिकामा अवस्थित छ । सूर्योदय हेर्नको लागी महत्वपूर्ण मानिएको सन्दकपुरमा सूर्यास्तमा भने सूर्य बादलभित्र लुक्दै गरेको देखिन्छ । सबैभन्दा बढी हिमश्रृंखला एकै ठाउँबाट देखिने देशको एउटा मात्र ठाँउ सन्दकपुर हो । देश बिदेशका गरि ६० भन्दा बढी हिमश्रृंखला यँहाबाट अवलोकन गर्न सकिन्छ । दोलखाको कालिन्चोकबाट देखिएकै हाराहारीमा यँहाबाट हिमाल मुस्कुराएको देखिन्छ । नेपाल बाहेक भारत र भुटानका हिमचुचुरोहरु प्रष्ट देख्न सकिन्छ । नेपालको सगरमाथा, कंचनजंघा, कुम्भकर्ण, मकालु हिमाल तथा सिक्किमको पन्दीम, पाउहुन्री, सिनीओल्छु र जोंगसोंग अनि भुटानको कुलाकांग्री हिमाल पनि स्पष्ट देखिन्छ ।

विशेष गरि दशैं सकिए लगत्तैको मौसम हिमाल हेर्नका लागी उपयुक्त हुन्छ । त्यहि भएर दशैंको बिदा लगत्तै तर तिहार अगाडि देशका विभिन्न ठाँउ र भारतको पश्चिम बंगाल राज्यबाट थुप्रै पर्यटकहरु यहाँ आउने गर्दछन् । नेपालमा २० वर्ष पुरानो गाडी बन्द गरिएकोले ब्रिटिशले भारतमा शाषण गर्दा ताकाको ८० वर्ष भन्दा पुरानो ल्याण्डरोभर जीप नै यहाँको मुख्य सवारी साधान हो । नेपालतिरबाट जाँदा बाटो गाह्रो भएका र ल्याण्डरोभर नपाइने भएकोले भारतका बंगालीहरुको आफ्नै भूमीबाट यहाँ आउँछन् । नेपालको सन्दकपुरलाई भारतीयहरु सन्दक्फु भन्ने गर्छन् । दुःखको कुरा यो छ कि नेपालतिरबाट सडक अति खतरनाक भएको हुँदा नेपाली पर्यटक नगन्य संख्यामा आँउने हुँदा बिदेशी पर्यटकका कारण यँहा खाएको तथा बास बस्दा महंगो रकम चुकाउनुपर्छ । यो संरक्षित क्षेत्र हिमाल र सूर्योदय हेर्नको लागी मात्र होइन रातो हाब्रे अर्थात रेड पाण्डाको लागी पनि महत्वपूर्ण छ । कोणधारी बनस्पती, चिसो मौसम पनि यँहाको विशेषता हो । जाडोमा यहाँ हिउँ पर्दा दार्जिलिङबाट जिपकाजिप बंगालीहरु हिँउ खेल्न ओइरिन्छन् । हिमाली भेग भएकोले लेक लाग्ने सम्भावना उत्तिकै हुन्छ गर्मीमा भने विभिन्न बुकी फूल जस्तै बिखे तथा लालीगुराँसका कडा बास्नाले उल्टी गराउने र टाउको घुमाउने गर्दछ । नेपाली पर्यटकहरु लेकबाट बच्न इलाम सदरमुकामदेखि नै भुटेको मकै तथा जौ र लसुन लिएर हिंडछन् ।

वैशाख लाग्नासाथ रातो र गुलाफी गुराँसले सन्दकपुर पुग्ने बाटो सिंगारेको देख्न सकिन्छ । हालै मात्र रिलिज भएको चलचित्र आप्पाको अधिकांश छायांकन सन्दकपुरमै गरिएको थियो । गर्मी मौसममा पनि यहाँ बेलुकी अति जाँडो हुने हुँदा बाक्लो लुगा भने साथमा हुनुपर्दछ । नेपाली भूमि भएर पनि यहाँ भारतीय रुपैयाँमा हिसाब गर्ने तरिका अचम्म छ । हरेक कुराको हिसाब भारतीय रुपैयाँमा गरिन्छ तर नेपाली रुपैयाँ पनि स्विकार गरिन्छ । यद्यपी जुनसुकै सेवाहरु जस्तौ खाना, पिउने कुरा, गाडी चढेको भाडा भारतीय रुपैयाँ भनेर नेपाली नोट लिन्छन् । भारतीय पर्यटकमात्र अधिक आउँने हुँदा मुद्रा नेपाली चले पनि हिसाब भारुमा गरिन्छ । सबै कामदारहरु नेपाली नै हुन्छन् । चिया पिएको कति भन्दा रु २० भन्छन् र बसेको रु १५०० भन्छन् र जब नेपाली नोट दिइन्छ तब भारतीय सटही अनुसार लिने गर्छन् अर्थात एक कप चियाको नेरु ३२ र सुतेको नेरु २४०० तिर्नुपर्ने हुन्छ ।

देशको यस्तो रमणिय स्थल र दुई देशको सिमामा अवस्थित सन्दकपुरमा नेपाल सरकारको कुनै उपस्थिती छैन । एकजना पनि नेपाल प्रहरीका जवान यँहा भेटिदैनन् । मबु गाउँपालिका भरि चेकपोष्ट पनि छैन तर नेपाली सिमाको पारी शानका साथ बिदेशी झण्डा हरपल फरफराइ रहेको हुन्छ । नेपाल तिर सुविधायुक्त दुई ठूला होटल रहेका छन्, होटल शेर्पा चलेट र सनराइज होटल । यि दुई होटलले चर्को शुल्क लिने गरेका छन् ।

खर्च र बसाई ः

सन्दकपुर पुग्न पोखराबाट काँकडभित्ताका लागि चल्ने बस चढेर झापाको चारआली भन्ने ठाँउमा ओर्लिनुपर्छ । दिउँसो ४ बजेको बस चारआली भोलीपल्ट बिहान ५ बजे पुग्छ । त्यँहाबाट २ घण्टामा जिपमा कन्याम र फिक्कल हुँदै इलाम बजार पुगिन्छ । इलाम बजारबाट सानो गाडीमा १० मिनेटमा बिप्ल्याटे पुगिन्छ । बिप्ल्याटेबाट जिपमा दुई घण्टामा जमुना गाउँपालिका पुगेर बास बसेर भोलिपल्ट ६ घण्टा हिंडेर नेपाल भारत सिमानाको गैरीबास पुगिन्छ । त्यसछि दार्जिलिङबाट जिप रिजर्ब गरेर आएका भारतीय पर्यटकसँग लिफ्ट माग्न सकिन्छ । जिप चढेर दुई घण्टामा सन्दकपुर पुगिन्छ । पोखराबाट सन्दकपुर र इलाम घुम्दा सबै खर्च गरि एकजनाका लागि रु ३० हजार छुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width