फुटपाथ व्यापार हटाउन सात दिनको समय

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७६
footpatha

पोखरा, १७ कात्तिक पोखराका मुख्य बजारका फुटपाथलाई अतिक्रमण गरी व्यापार, व्यवसाय गरेको पाइएपछि त्यसलाई हटाउन पोखरा महानगरपालिकाले ७ दिने समयावधि तोकेको छ ।

विशेषगरी पोखराको महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, न्यूरोड, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा, बगर लगायतका बजार क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले फुटपाथ अतिक्रमण गरेको पाइएपछि त्यसलाई हटाउन महानगरले सात दिने अल्टिमेटम दिएको हो ।

आइतबार पोखराको महेन्द्रपुलबाट फुटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय गर्नेहरुलाई सामग्री हटाउन अल्टिमेटसहितको पत्र दिइएको पोखरा महानगरपालिकाले जनाएको छ । व्यापार गर्नेहरुले फुटपाथ अतिक्रण गरी सामान राखेको र कतिपय ठाउँमा एउटा पसलको अगाडि अर्को पसल पनि थापेको पाइएकाले त्यसलाई हटाउन आइतबारदेखि पत्र दिन सुरु गरिएको फुटपाथबाट सामग्री हटाउन महानगरले गठन गरेको समितिका संयोजक एवं महानगरको निरीक्षण महाशाखाका प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।

मुख्य बजार क्षेत्रमा फुटपाथ अतिक्रण गरी व्यापार व्यवसाय गरेको सबैलाई पत्र दिइने र पत्र दिएको मितिदेखि सात दिन भित्र सामग्री नहटाए कारबाही गरिने उनले बताए । ५ हजार देखि ५० हजारसम्म कारबाही गरिने महानगरपालिकाले बताएको छ ।

‘किराना पसल सटरमा छ’, थापाले भने,‘ त्यही किराना पसलको अगाडि एक छेउमा फुटपाथ अतिक्रमण गरी फलफूल पसल राखिएको पाइएको छ, त्यो हटाउन महानगरले पत्र दिएको हो, नहटाए कारबाही गरी त्यहाँबाट सामान हटाइनेछ ।’ सामान हटाउनका लागि पत्र दिन संयोजक थापाको नेतृत्वमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि खटिएका छन् ।

गत कात्तिक ७ गते पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले फुटपाथ अतिक्रमण गरेर राखिएका सामग्री हटाउने निर्णय गरेको थियो । बैठकले पृथ्वीचोकस्थित सस्तो बजार अगाडि माइक्रो स्टेसनलाई हटाइ फुटपाथ खाली गराउने निर्णय पनि गरेको छ । चिप्लेढुंगाको चौतारी अगाडि कुनै पनि कार्यक्रम गर्न नदिने र कसैले कार्यक्रम गरेमा कारबाही गर्ने निर्णय गरेको थियो ।

बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, महानगरका निमित्त प्रमुख प्रकाशकीय अधिकृत गंगालाल सुवेदी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्र, महानगरका इन्जिनियर सुरेन्द्र पौडेल लगायतको उपस्थिति थियो । थापाको संयोजकत्वमा गठित समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यायल कास्की रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width