कास्की उपनिर्वाचन उम्मेदवार टुंग्याउन दललाई सकस

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७६
main photo 3_Fotor

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि कास्की क्षेत्र नम्बर २ जनप्रतिनिधिविहीन छ। यसैका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। यसका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ। राजनीतिक दलहरु उम्मेदवार टुंग्याउन आन्तरिक छलफल गरिरहेका छन्। तत्कालीन नेकपाको साझा उम्मेदवार अधिकारीको ठाउँमा वरिष्ठ नेता वामदेव गौतम चुनाव लड्ने चर्चा केही समयअघि चलेको थियो। सचिवालय सदस्य समेत रहेका गौतमले चुनाव नलड्ने घोषणा गरेपछि अरु उम्मेदवारको चर्चा चुलिएको हो। यद्यपि वामदेवलाई नै उम्मेदवार बन्न नेताहरुले पनि दबाब दिएका श्रोतले बतायो। ‘नेताहरुको इन्टरेष्ट छ वहाँ उम्मेदवार बन्नुहोस् भन्ने। तर वामदेव कमरेडले नै सार्वजनिक रुपमा नउठ्ने वक्तव्य दिनुभएको छ, ’ श्रोत भन्छ, ‘यो अवस्थामा जित्ने ग्यारेण्टी हेरेर मात्रै आउने अवस्था रहला। तर सर्वस्वीकार्य हुने अवस्था चाहीँ छैन। ’

रवीन्द्रपत्नी विद्या भट्टराईसहित, सोमनाथ अधिकारी प्यासी, श्रीनाथ बराल, राजकाजी गुरुङले बढी दावी गरेका छन्। यद्यपि तुलबहादुर गुरुङ, धनराज आचार्य, भीम कार्कीलगायतको नाम चर्चामा छ। ‘छिटो टुंग्याउने कुरा हो। छलफल भैरहेको छ। तर निर्णय भएको छैन, ’ नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘सकेसम्म सर्बसम्मत निर्णय गर्ने प्रयास भैरहेको छ। ’ नेकपाले चुनाव केन्द्रीत कार्यक्रम भने गरिरहेको छ। ‘३ जनाको नाम मात्रै मागेको छ। विवाद नहुने गरी आकांक्षी सबैको नाम पठाएर केन्द्रबाटै निर्णय गर्ने अवस्था पनि रहन सक्छ, ’ एक नेताले भने, ‘चुनाव केििन्द्रत कार्यक्रम चाहीँ भैरहेका छन्। तर उम्मेदवार को भन्ने मानसिकता बनेको छैन। ’

काँग्रेसले अघिल्लो चुनावकै प्रतिश्पर्धी देवराज चालिसेलाई सिफारिस गर्ने तयारी गरेको छ। आइतबार बसेको क्षेत्रीय समितिको बैठकले चालिसेलाई बहुमतका आधारमा एकल उम्मेदवार घोषणा गरेको हो। ३९ सदस्यमध्ये ३१ बढी चालिसेको पक्षमा छन्। उम्मेदवारका अन्य आकांक्षीहरु चाहीँ सबै नाम केन्द्रमा पठाउनुपर्ने अडानमा छन्। गएको असोज १४ गते १६ जनाले उम्मेदवारमा आकांक्षा देखाएका थिए। तीमध्ये ५ जना निर्वाचन हुने क्षेत्रभन्दा बाहिरका छन्। पार्टी केन्द्रीय समितिले बढीमा ३ जनाको मात्रै नाम सिफारिस गर्न निर्देशन दिएपछि बहुमतको आधारमा निर्णय गरिएको क्षेत्र नम्बर २ (क) का सभापति विजयराज आचार्यले जानकारी दिए।

‘धेरै नाम पठाउँदा केन्द्रबाट चलखेल हुन सक्छ। त्यसैले सर्वसम्मत रुपमा एउटै नाम पठाए यो क्षेत्रको लागि राम्रो हो, ’ उनले भने, ‘केन्द्रको निदेर्शन पनि बढीमा ३ जना मात्रै सिफारिस गर्नुपर्ने छ। त्यसैले बैठकका बहुमत सदस्यले चालिसेको नाम प्रस्ताव गरेका हुन्। ’ क्षेत्र नम्बर २ का सभापति माधव बास्तोलाले पनि दुवै पक्षका निवेदनसहितको सिफारिस जिल्ला कार्यसमितिमा पठाउने निर्णय भएको बताए। ‘बहुमत र अल्पमत भन्दा पनि वहाँलाई नै बनाउनुपर्छ भनेर फ्लोरबाट कुरा आएको छ। केही साथीहरु सबै नामावली पठाउनुपर्छ भन्ने पक्षमा पनि हुनुहुन्छ, ’ उनले भने, ‘दुवैको कुरालाई निर्णय गरेर माथिल्लो निकायमा पठाउँछौं। ’

उम्मेदवार सिफारिस गर्नका लागि हालसम्म समितिले ५ पटकसम्म बैठक बसेको छ। तर कसलाई सिफारिस गर्ने भन्नेमा एकमत नभएका कारण अन्यौलता अझै पनि कायम देखिन्छ। कास्की २ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्तिक २१ गते मनोनयनपत्र बुझाउने मिति तोकेको छ। जसका लागि तिहार लगत्तै प्रकृया सुरु गर्नुपर्ने भएकोले त्यो भन्दा पहिले नै उम्मेदवार टुंग्याउने वा थोरै मात्रै नाम केन्द्रमा सिफारिस गर्ने गरी दलहरु जुटिरहेका छन्।

चालिसेलाई स्व. अधिकारीले साढे ८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। काँग्रेसबाट पूराना नेताहरु खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्यले पनि आकांक्षा देखाएका छन्। यसबाहेक क्षेत्र नम्बर २ का सभापति माधवप्रसाद बास्तोला, महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्की, वीरेन्द्रनारायण विजुक्छे, क्षेत्र नम्बर २ (क) का सभापति बिजय आचार्य, गुरु बराल, केशर निदोर्षी, काँग्रेस कास्की कोषाध्यक्ष लक्ष्मी पाण्डे, महिला नेतृ खेमकुमारी बराल, रंगीला आचार्य, विमला भण्डारीले आकांक्षा देखाएका थिए।

यो क्षेत्रको चुनावका लागि अरु पार्टीले पनि उम्मेदवार घोषणा गर्दैछन्। साझा पार्टीबाट सम्भावित उम्मेदवार रजनी केसीले शुभेच्छुकहरुसँग भोट माग्न थालिसकेकी छन्। उम्मेदवार बन्नकै लागि उनी काँग्रेस छोडेर साझामा प्रवेश गरेको चर्चा छ। साझाबाट गण्डकी प्रदेश संयोजक महेश भण्डारी, सुशीला केसीलगायतको नाम पनि अगाडि आएको छ। साझा पार्टीले यो चुनावलाई मिनी जनमत संग्रहको रुपमा लिएको एक नेताले बताए। ‘सकेसम्म महिला उठाउने कुरा हो। जिल्लाबाट त्यही सल्लाह दिएका छौं, ’ ती नेताले भने, ‘समावेशी बनाएर लैजानुपर्छ र यसले राम्रो म्यासेज जान्छ भन्ने हो। तर जिल्लाबाहिरको मान्छे वा केन्द्रीय समितिबाटै पनि उम्मेदवार बन्न सक्ने स्थिति छ। बैठकबाटै टुंगिएला। ’ साझा पार्टीको केन्द्रीय समिति बैठक मंगलबार पोखरामा हुने र त्यही बैठकले उम्मेदवारको टुंगो लगाउने छ। यसका लागि केन्द्रीय संयोजक रवीन्द्र मिश्र पोखरामै आन्तरिक भेटघाटमा व्यस्त छन्।

समाजवादी पार्टीबाट पनि उम्मेदवार छनौट लगभग अन्तिम चरणमा पुगेको छ। समाजवादीबाट किरण थापा उम्मेदवार बन्ने सम्भावना अत्यधिक छ। उनी यसअघि पनि यही क्षेत्रको प्रदेशसभा (क) मा उम्मेदवार बनेका थिए। यद्यपि धर्म गुरुङ र रामबहादुर नेपालीको नाम पनि सिफारिस भएको छ। यो क्षेत्रमा अघिल्लो चुनावमा १३ जना उम्मेदवार सहभागी थिए। उपनिर्वाचनमा ७१ हजार ८ सय ७१ जनाले मतदान गर्दैछन्। यसका लागि ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै