आन्तरिक पर्यटकले भरियो पोखरा

रासस
असाेज २८, २०७६
maxresdefault

पोखरा, २८ असोज । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपालगायतका तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।

दशैँ तिहारको बीचमा विभिन्न स्कूल तथा क्याम्पसमा बिदा भएका कारण पनि देशका विभिन्न भागबाट आउने पर्यटकले यहाँको पर्यटन चलायमान बनाएको हो । समूह समूहमा आएका पर्यटकका साथै पारिवारिक घुमघाममा आएका पर्यटक यतिखेर कतै सामूहिक फोटो खिचाउँदै छन् । त कतै सेल्फी खिच्दै गरेका देखिन्छन् । दशैँ बिदा शुरु भएलगत्तै विभिन्न भागबाट पोखरा आउने पर्यटकका कारण यहाँका पर्यटन व्यवसायीलाई यो यामको उपयोग गर्न भ्याइनभ्याइ छ ।
विगतका वर्षमा यस याममा विदेशी पर्यटककको पनि राम्रै चाप देखिने गरेकामा यस वर्ष भने उक्त सङ्ख्या उत्साहजन नदेखिएको मेरिगोल्ड होटेल लेकसाइटका सञ्चालक विश्वराज अधिकारीले बताए । विदेशी पर्यटकको आगमन हुने मुख्य याम भए पनि उनीहरूको सङ्ख्या उल्लेख्य नभएको जानकारी दिर्दै उनले आएका विदेशी पनि गाउँतिर आकर्षित बन्ने गरेको बताए ।

“पोखराको लेकसाइट र आसपासमा यतिखेर विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या धेरै देखिन्छ, विदशी पर्यटक शहरभन्दा गाउँतर्फ आकर्षित बनेका छन्”, माछापुच्छ्रे गाउँपालिका वडा नं ६ उपल्लो अस्ताममा अन्नपूर्ण इको भिलेजसमेत सञ्चालन गर्दै आएका अधिकारीले भने । दशैँको बिदा शुरु भएयता लेकसाइट क्षेत्रमा आन्तरिक पर्यटकको चाप भने उत्साहजन देखिएको बताउँदै उनले दशैँ र आसपासका केही दिनमा यहाँका होटेलमा झण्डै ९५ प्रतिशतसम्म आन्तरिक पर्यटकको भरिएको जानकारी दिए ।

अन्नपूर्ण चक्रीय पदमार्ग, धौलागिरि चक्रीय पदमार्ग र मर्दी हिमाल ट्रेक जाने मुख्य गन्तव्य पोखरा भएकाले पदयात्री पर्यटकका कारण पनि यस समयमा पोखरामा पर्यटकको चाप हुने गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष एवं होटल रानिवन अर्किट, लेकसाइटका सञ्चालक हरि भुजेलले बताए ।
उनका अनुसार प्रत्येक वर्ष सेप्टेम्बरको मध्यदेखि अक्टोबर, नोभेम्बरसम्म पदयात्राको मुख्य याम मानिन्छ । विश्वकै उत्कृष्ट १० वटा पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग पोखरा हुँदै जाने भएका कारण पदयात्री पर्यटकले पनि यहाँका पर्यटनमा टेवा पुर्याएको उनले बताए ।

दशैँ तिहारको समयमा धार्मिकरुपमा आउने भारतीय पर्यटकका कारण पनि पोखराको पर्यटन चलायमान हुने गरेको छ । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेपछि भारतका विभिन्न स्थानबाट मुक्तिनाथ पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

मुक्तिनाथ जानका लागि पोखरा अनिवार्य आउनुपर्ने भएका कारण पनि ती पर्यटक मुक्तिनाथ जाँदा र फर्कंदा केही दिन पोखरामा बिताउने गरेका छन् । पोखरा आउने पर्यटकले यहाँस्थित फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्ने गर्दछन् ।

नेपालका लागि भारत र चीन मुख्य पर्यटन बजार भएको बताउँदै प्रबन्धक थपलियाले दशैँलगत्तै चिनियाँ राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमणले यहाँ चिनियाँ पर्यटकको आमगन बढ्नसक्ने विश्वास व्यक्त गरे । विसं २०७२ को भूकम्पले प्रभावित नेपालको पर्यटन पछिल्ला वर्षमा वर्षेनी बढिरहेको छ । तथ्याङ्कअनुसार सन् २०१५ मा जम्मा पाँच लाख ३९ हजार विदेशी पर्यटक नेपाल भित्रिएकामा सन् २०१६ मा उक्त सङ्ख्या सात लाख ५८ हजार पुगेको थियो ।

त्यस्तै विसं २०१७ मा नौ लाख ४० हजार विदेशी पर्यटक नेपाल आएकामा २०१८ मा ११ लाख ७३ हजार पर्यटक आएका थिए । पछिल्ला वर्षमा दशैँका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैँ पेश्की एवं बोनस दिने गरेका कारण पनि अधिकांशले यसको उपयोग घुमफिरमा गर्ने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width