सबै चाडवार्ड र संस्कृति नेपाली पहिचान हुन् – मन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७६
fastival

गलकोट, २८ असोज । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नेपालमा मनाइने सबै चाडवार्ड र संस्कृति नेपाली पहिचान भएको बताएका छन् ।

बागलुङको गलकोट नगरपालिका वडा नं. ६, ठूलाथरस्थित संगम युवा क्लबको ३७ औं वार्षिकोत्सव एवं नेपालीहरूको महान् चाड बडा दशैंको अवसरमा आयोजित “बडा दशैं मेला–२०७६”को आइतबार समापन गर्दै मन्त्री गुरुङले सो कुरा बताएका हुन् ।

नेपालमा सबै जाति र समुदायले मान्ने चाडवार्ड र संस्कृति सम्पूर्ण नेपालीको साझा पहिचान भएको बताउँदै उनले कुनै जाति या समुदाय विशेषमा संस्कृतिलाई सिमित गरिन नहुने बताए । धेरै ठाउँमा दर्शकहरू नाचगानमा मात्र आकर्षित भएको देखेको बताउँदै मन्त्री गुरुङले गलकोटका दर्शकको खेलप्रतिको आकर्षण देखेर आफू हर्षित भएको बताए । गलकोटमा खेलकुदको विकासका लागि क्लबले बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि गरेको प्रस्तावप्रति धन्यवाद व्यक्त गर्दै उनले प्रदेश सरकारले गलकोटमा कभर्डहल निर्माणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

गलकोट नगरपालिकालाई समृद्ध नगरपालिकाका रुपमा स्थापित गर्न यहाँकै जनताको ठूलो भूमिका रहने भन्दै मन्त्री गुरुङले सरकारले गर्छ भनेर मुख ताकेर बस्ने जमाना सकिएको उल्लेख गरे । उत्पादनमा जोडिन सके मात्र समृद्धि हासिल गर्न सकिने भन्दै उनले आर्थिक समृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा लाग्नु अपरिहार्य रहेको बताए ।

गण्डकी प्रदेशकी सांसद् दिलमाया रोका “दीपा”ले व्यवसायिक भलिबल खेलाडी उत्पादनमा संगम युवा क्लबले दिएको योगदान महत्वपूर्ण रहेको बताउँदै युवाहरूलाई विकास, निर्माणमा सहभागी गराउँदै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

गलकोट क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग आफूले पहल गरिरहेको बताउँदै उनले देशको समृद्धिका लागि युवाहरूको सक्रियता आवश्यक रहेको बताए । ठूलाथर गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको संगमस्थल समेत रहेको भन्दै कभर्डहल निर्माणका लागि आफूले सक्दो पहल गर्ने विश्वास समेत दिलाए ।

गलकोटका वरिष्ठ समाजसेवी एवं बुद्धिजीवी यामबहादुर श्रीसले गलकोटको समृद्धिका लागि तीनै तहका सरकारको विशेष ध्यान जानुपर्ने भन्दै आवश्यकता हेरेर विकासका लागि बजेट विनियोजन गरिनुपर्ने बताए ।लोपोन्मुख मौलिक लोकसंस्कृतिको संरक्षण एवं भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउँदै उनले आगामी मंसिर ४ गतेदेखि आयोजना हुने दोस्रो गलकोट घुम्टे महोत्सव र आगामी फागुन महिनामा हुने प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाका लागि समेत सहयोगका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

संगम युवा क्लबका अध्यक्ष राजबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा युवा समाजसेवी एवं जिल्ला भलिबल संघ, बागलुङका उपाध्यक्ष योगेश भण्डारी, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसले पनि बोलेका थिए । मेला अवधिभर कार्यक्रमको सञ्चालन क्लबका सचिव राजन कार्की, सह–सचिव गगन विक र मदन श्रीसले गरेका थिए । त्यस्तै, कार्यक्रममा लोपोन्मुख सरायँ नाचका गुरुबा टेकवीर विकको नेतृत्वमा सरायँ नाच प्रस्तुती समेत राखिएको थियो । यसअघि, मेलाको उद्घाटन गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले गर्नुभएको गरेका थिए ।

वडास्तरीय लिग भलिबलको उपाधि वडा नं. ५ लाई

यसैबीच, मेला अन्तर्गत आयोजित गलकोट नगरपालिका अन्तर्गतका वडास्तरीय लिग भलिबल प्रतियोगिताको उपाधि वडा नं. ५ ले जितेको छ । उपाधिसँगै वडा नं. ५ ले ८० हजार नगद पुरस्कार जित्न सफल भयो । त्यस्तै, उपबिजेतामा चित्त बुझाउँदै वडा नं. ६ ले ४० हजार नगद पुरस्कार जित्यो । प्रतियोगितामा सान्त्वना हुँदै वडा नं. २ र वडा नं. ७ ले १५÷१५ हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भए । प्रतियोगितामा गलकोट नगरपालिकाका ११ वटा वडा सहभागी भएका थिए ।

त्यसैगरी, खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि भने सुरुची ट्राभल्स, काठमाडौंले जित्न सफल भएको छ । उपाधिसँगै सुरुचीले ४० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र जित्यो । त्यस्तै, उपबिजेता बनेको कालीगंगा यातायात प्रालि, बागलुङले २५ हजार नगद, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । मेलाकै अवसरमा आयोजित खुल्ला भेट्रान्स भलिबल प्रतियोगितामा मनसुन रेष्टुरेण्ट, गलकोट–३, हटियाले उपाधि जित्न सफल भयो । उपाधिसँगै मनसुनले खसी, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी, उपबिजेता भएको आयोजक संगम युवा क्लबले बोका, मेडल र प्रमाणपत्र जित्यो ।

खुल्ला एकल नृत्यतर्फ नवीना बुढाथोकी प्रथम हुँदै २० हजार नगद पुरस्कार जितिन् । एकल नृत्यमा सुष्मा श्रीस द्वितीय र सानिया चालिसे तृतीय हुँदै क्रमशः १० हजार र ५ हजार नगद पुरस्कार साथमा मेडल जित्न सफल भए । त्यसैगरी, मौलिक लोकसांस्कृतिक प्रदर्शनीतर्फ संस्कृति संरक्षण मञ्च, गलकोट–५, सिमलबोटको कृष्ण चरित्र, संस्कृति संरक्षण मञ्च, गलकोट–६, ठूलाथरको कृष्ण चरित्र (झुम्रा), उद्यमशील आमा समूह, गलकोट–६, ठूलाथरको ठाडो भाका, संस्कृति संरक्षण मञ्च, गलकोट–११, रिघाको कौरा र पँधेराखोला नौमती बाजा समूह, ताराखोला गाउँपालिकालाई प्रोत्साहन स्वरुप क्रमशः १० हजार नगद प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा गलकोट नगरपालिका वडा नं. ६ का वडा सदस्यद्वय भीमबहादुर विक र मनोजकुमार थापा, पूर्व राष्ट्रिय भलिबल खेलाडी एवं जिल्ला भलिबल संघ, बागलुङका उपाध्यक्ष योगेश भण्डारी, राष्ट्रिय रेफ्री गोपाल थापा, क्लबका अध्यक्ष राजबहादुर पुन, विशेष सहयोगी दुर्गाबहादुर खत्रीलगायतले पुरस्कार वितरण गरेका थिए ।

लाइभ दोहोरीमा झुमे गलकोटे

बडा दशैं मेला–२०७६ मा चर्चित कलाकारहरूको लाइभ दोहोरी प्रस्तुतीमार्फत् गलकोटेहरूले मनोरञ्जन लिए । चर्चित कलाकारहरू लोक तथा दोहोरी गायकद्वय नवीन राना र रेशम निर्दोष, लोक तथा दोहोरी गायिकाद्वय काजल गुरुङ र चिना थापा, लोक तथा दोहोरी गायक विष्णु विकले लाइभ दोहोरी प्रस्तुती दिए भने डीजे एरिकले युवाहरूलाई नचाए ।

“कृष्ण चरित्र” भाग–१ को म्यूजिक भिडियो सार्वजनिक

गलकोट नगरपालिका वडा नं. ६, ठूलाथरको मौलिक लोकसंस्कृतिको रुपमा रहेको “कृष्ण चरित्र” भाग–१ को म्यूजिक भिडियोको सोही अवसरमा मन्त्री गुरुङले सार्वजनिक गरे । चार वटा गीत समावेश रहेको सो कृष्ण चरित्रमा गुरुबा शेरबहादुर पुनसहित गायक नवीन राना, योगेश भण्डारी, गायिका जुना श्रीस, जयालक्ष्मी छन्त्याल, गायकहरू बमबहादुर काउचा, दानबहादुर श्रीसले स्वर दिएका छन् । ठूलाथरमा प्रचलित कृष्ण चरित्रको गुरुबाहरूमा क्रमशः रनबहादुर पुन, दीलबहादुर पुन र ओमबहादुर सुनार रहेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

    रासस भाद्र १४, २०७७
    काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
  • थारु समुदायको संसारी पूजा स्थगित

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
    नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…

hero news full width