मुस्ताङमा आन्तरिक पर्यटकको चहलहल

रासस
असाेज २७, २०७६
dial-nepal3
  • मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ ।
  • पछिल्ला दिन घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ ।
  • मुस्ताङमा २८० वटा होटल तथा लज सञ्चालनमा छन् ।
  • असोज–कात्तिक र फागुन–चैत–वैशाख महीना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ ।
  • नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास हुँदै गएका कारण पनि मुस्ताङ अधिकांशको रोजाईमा पर्दै गएको छ ।

मुस्ताङ, २७ असोज । हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ ।

असोज महिनाको शुरुआतदेखि नै पर्यटकको आवागमन बढेपछि यहाँका होटेलमा अग्रिम बुकिङ हुन थालेका छन् । पर्यटकको बढ्दो आगमनले यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन् ।

पछिल्ला दिन घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ हुन थालेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए । उनका अनुसार मुस्ताङमा २८० वटा होटल तथा लज सञ्चालनमा छन् ।

“बडा दशैँको घटस्थापना लगत्तै देशका विभिन्न ठाउँबाट मुस्ताङ घुम्न आउने क्रम बढिरहेको छ,” तुलाचनले भने “पछिल्ला समयमा सडक, यातायातको सुविधा, छुट्टी र अनुकूल मौसमका कारण मुस्ताङ आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ ।” केही दिनयता पाहुनाको चापले आफूहरुको दैनिकी व्यस्त बन्दै गएको पुथाङस्थित शाभना होटलका सञ्चालक सुमन थकालीले जानकारी दिए ।

पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडक मार्ग भएर दैनिक तीन हजार जनाभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्याल मुस्ताङले जनाएको छ । ट्राफिक प्रहरी नायब निरीक्षक बद्रीनाथ शर्माका अनुसार मुस्ताङमा गाडी र मोटरसाइकलबाट पर्यटक मुस्ताङ भित्रिएका छन् । असोज–कात्तिक र फागुन–चैत–वैशाख महीना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ ।

पछिल्लो समय चर्चामा रहेको ‘कबड्डी कबड्डी कबड्डी’ नेपाली चलचित्रको छायाङ्कन भएको तल्लो मुस्ताङस्थित थासाङ गाउँपालिकाका लेते, नाउरीकोट, कुन्जोमा आन्तरिक पर्यटकको चाप बढेको सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले बताए । थासाङ गाउँपालिकाको सेकोङ ताल, भुछर ताल, टिटी ताल, गुरुसाङ्बो गुफा, घाँसा चरा अवलोकन आदिमा पर्यटक रमाउने गरेका छन् ।

पछिल्ला समयमा यहाँको होटेलका साथै ठाउँठाउँमा सञ्चालित घरवास पनि पर्यटकको रोजाइमा परेका छन् । अघिल्लो वर्ष मात्रै एक हजार आन्तरिक पर्यटकले ठिनी होमस्टेमा बास बसेको हामेस्टेका सञ्चालिका जुमा थकालीले जानकारी दिए । यस वर्ष अघिल्लो वर्षभन्दा दोब्बर सङ्ख्यामा पर्यटक आउने अपेक्षा गरिएको उनले बताए ।

नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास हुँदै गएका कारण पनि मुस्ताङ अधिकांशको रोजाईमा पर्दै गएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख तुलसी दाहालले मुस्ताङमा पछिल्लो समय बाह्यको तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढी हुँदै गएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width