याङजाकोटको झयाली पोखरी पुनःनिर्माण

आदर्श समाज सम्वाददाता
असाेज २७, २०७६
72198621_3129605030402974_5886481330341937152_o

पोखरा २७ असोज । कास्कीको मादी गाउँपालिका– ३ याङजाकोट गाउँको बीचमा रहेको प्राचीन ऐतिहासिक झयाली पोखरीको पुनःनिर्माण गरिएको छ ।
गाउँपालिकाको आयोजना र पहलमा सो पोखरीको पुनःनिर्माण गरी पोखराको बीचमा भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ भने पोखरीको चारैतिर तारबारले घेरेर संरक्षण गरिएको छ ।

यसरी पुनःनिर्माण गरी संरक्षण गरिएको पोखरीको आइतवार एक कार्यक्रमका बीच मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले आफूहरुको योजनामा गाउँलेहरुले पनि साथ दिएकाले योजना तोकिएकै समयमा सम्पन्न भएको बताए ।

कतिपय अवस्थामा योजना र पैसा मात्रै भएर काम सम्पन्न नहुने भन्दै यसलाई सम्पन्न गर्न नेतृत्व गर्न व्यक्तिहरुको पनि त्यतिकै ठूलो भूमिका रहने बताए ।अबदेखि याङजाकोटमा बुद्ध जयन्ती मेला लाग्दा पोखरीको बुद्ध मूर्तिमा पूजा गरेर मेला सुरु गर्न सकिने समेत उनले बताए ।

पोखरी वरिपरिबाटो ढलान गर्ने, फूल रोप्ने बत्ती जडान गर्ने लगायतको धेरै काम बाँकी नै रहेको र पोखरीलाई अझै सुन्दर बनाउने योजनामा आफूहरु रहेको उनले बताए ।

गाउँपालिकाको केन्द्र याङजाकोटमा राख्ने निर्णय राजपत्रमा प्रकाशित भईसकेको भन्दै यसलाई अब कसैले परिवर्तन गर्न नमिल्ने बताए । आफूहरुले गाउँपालिकाको भवन बनाउन बजेट छुटाउनेदेखि भवनको डिपिआर तयार गर्ने र नक्सा बनाउने सबै काम सकेर निर्माणको लागि तयारी भएर बसेको भन्दै अब स्थानीय जनताले गाउँपालिकाको नाममा जग्गा पास गरिदिनुपर्ने भएकोले यसको लागि सहयोग गर्न सबै जनतासँग आग्रह गरे ।

मादी गाउँपालिकामा अहिले १० वटा मोटेरेबल पुल निर्माणको चरणमा रहेको भन्दै यसमा करोडौ लगानी भईरहेको जानकारी उनले दिए । यस्तै सिक्लेसको बाटो पिच हुने काम अघि बढी सकेको र याङजाकोटको बाटोको लागि पहिलो चरणको टेन्डररद्ध भएकोले अब छिटै दोस्रो चरणको टेन्डर आवहन गरेर पिचको प्रक्रिया अघि बढाउने बताए ।

ज्याउदु दोबाटो मोटर बाटोको स्तर उन्नतिको लागि केन्द्रीय सरकारको बजेट परेको भन्दै अब त्यसको काम छिटै सुरु हुने बताए । कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष सत्यराज सापकोटा, ११ का अध्यक्ष मित्र गुरुङ, ३ का अध्यक्ष मनबहादुर गुरुङ, वडा सदस्य धनमाया गुरुङ, याङजाकोट तमू समाज पोखराका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङ, मादी गाउँपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारी लगायतले बोलेका थिए ।

झयाली पोखरी निर्माण उपभोक्त समितिका अध्यक्ष सूर्य गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नन्दजंग गुरुङले गरेका थिए । कोषाध्यक्ष जुनकुमारी गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width