प्रबर्धनमा सिटी रेवानलाई वाइपास नगर्न चेतावनी

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७६
City REBAN

कार्यक्रमका प्रमुख अतिथि (बायाँबाट दोस्रो) आनन्दराज मुल्मीलाई मायाको चिनो प्रदान गरिँदै । तस्वीर : आदर्श समाज ।

रुपनारायण ढकाल, पोखरा, १५ असोज । पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसिएसनले पर्यटन प्रबर्धन अभियानमा आफ्नो संस्थालाई सरकारले वाइपास गरेको भन्दै त्यसको मूल्य चर्को पर्न सक्ने चेतावनी दिएको छ ।

पर्यटन प्रवद्र्धनको लागि सँगसँगै भन्ने नारासहित बुधबार पोखरामा आयोजित संस्थाको १८ औं वार्षिक साधारण सभा एवं शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका पदाधिकारीले त्यस्तो चेतावनी दिएका हुन् । सरकारले देशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० तयारी गर्दै गर्दा अतिथि सत्कारको महत्वपूर्ण हिस्सा ओगट्ने संस्थालाई संघीय तथा गण्डकी प्रदेश सरकारले समेत वास्ता नगरेको भनाइ संस्थाका पूर्व अध्यक्ष केपी शर्मा पाध्याले राखे ।

सिटी रेवान भनेर समेत चिनिने सो संस्थाले यस क्षेत्रमा पर्यटक सेवाको ८० प्रतिशत हिस्सा ओगट्ने भन्दै गण्डकी प्रदेश सरकारले अहिले जारी प्रदेश प्रवद्र्धन अभियानमा सो संस्थालाई नसमेट्नु दुःखद भएको भनाइ राखे । पर्यटन वर्षका लागि गठित विभिन्न समितिमा समेत सिटी रेवानलाई कुनै प्रतिनिधित्व नगराइँदा आफूहरुलाई अपमानबोध भएको गुनासो उनले गरे । बेगनासताल, सराङ्कोट, पृथ्वीचोक र धम्पुस क्षेत्रका होटल तथा रेष्टुराँ समितिलाई समेत वाइपास गरेर त्यस्ता समिति बनाइएको र प्रदेश प्रवद्र्धन अभियानमा समेत कुनै प्रतिनिधित्व नगराइएको भनी उनले आक्रोश पोखे ।

अर्को फरक प्रसंगमा बोल्दै उनले प्रहरी प्रशासनले लेकसाइडका कतिपय होटल र रेष्टुुराँलाई राति २ बजेसम्म खोल्न दिने गरेको तर सिटी एरियामा ९ वा साढे ९ बजे नै होटल तथा रेष्टुराँ बन्द गर्न बाध्य पार्नु अन्याय भएको उनले बताए । बाहिरबाट पहिला पर्यटक पुरानो वसपार्क वा पृथ्वीचोक एरियामा उत्रने स्मरण गराउँदै उनले सोही क्षेत्रमा समेत राति पसल खोल्न नदिएर पर्यटकलाई भोकै राख्ने वातावरण प्रहरी प्रशासनले सिर्जना गरेको आरोप उनले लगाए । ‘कतिपय व्यवसायीलाई त चौकी नै लगेर थुन्ने काम पनि भएका उदाहरण छन्,’ उनले भने, ‘राति २ बजे आए पनि पर्यटकले खान त पाउनु प-यो नि ।’ बसपार्क क्षेत्रको विकृतिबारे चर्चा गर्दै उनले होटलका प्रतिनिधिले बसपार्कमा ओर्लने पर्यटकको झोला तान्न बन्द गर्नुपर्ने भनाइ राखे । राति एकपटक बसपार्क ओर्लिंदा आफ्नै झोला तान्ने काम समेत भएको घटना सुनाउँदै उनले यो पर्यटकीय पोखराका लागि लज्जाको विषय भएको बताए ।

स्थायी लेखा नम्बर (पान) व्यवस्थाले व्यवसायमा अफ्ठ्यारो परेको भन्दै उनले हुम्ला, जुम्ला, डोल्पा जस्ता र भारतका नागरिकलाई समेत जागिर दिनुपर्ने अवस्थामा होटल तथा रेष्टुराँहरु मजदूरको पान बनाउँदै हिड्न साध्य नभएको उनले बताए । आफ्नो तरिकाले चेक वा नगद जे दिए पनि आफूहरुले तलब दिइराखेको तर एक्कासी पान भनेर अन्योलको सिर्जना गरिएको भनाइ उनको छ । पोखरा उद्योग वाणिज्य संघले पनि यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मूल्मीले निजी क्षेत्रलाई टाढा राखेर भ्रमण वर्ष सफल हुन नसक्ने बताए । विकास र पूर्वाधार विकासमा समेत सरकार अल्मलिएको भन्दै उनले प्रवद्र्धनका काममा निजी क्षेत्रलाई बिर्सन नमिल्ने बताए । यसका लागि सरकारलाई दबाब दिन र बुझाउन जरुरी भएको उनले बताए । संघीय र प्रदेश सरकार समेत व्यवसायीका समस्या समाधानमा सक्षम नदेखिएको उनले बताए । यस्तो परिस्थितिमा सम्बन्धित संस्था नै सशक्त भएर सरकारलाई दबाब दिनुपर्ने बेला आएको भनाइ उनको छ ।

यसैगरी उनले संस्थाहरु जिम्मेवार बन्दै आफूलाई परिस्कृत गर्नुपर्ने अवस्था आएको भनाइ पनि राखे । सभ्य, सुसंस्कृत र पर्यटनमैत्री हुनुपर्ने जिम्मेवारी पनि सिटी रेवानजस्ता संस्थाको काँधमा आएको उनले सो अवसरमा बताए । सिटी रेवानले गर्दै आएको मेलाको स्वरुप परिवर्तन गर्नुपर्ने सुझाव दिँदै उनले यातायातमा अवरोध नपुग्ने गरी यहाँको न्यूरोडमा नै त्यस्तो महोत्सव गर्न सकिने र यसमा प्रदेश सरकारले असहयोग गर्न नसक्ने भनाइ राखे । काठमाडौं दरबारमार्ग र वसन्तपुरमा समेत मेला र महोत्सव हुने गरेको उनले स्मरण गराए । पोखराको अस्तित्व र पहिचानमा मेला र महोत्सवको भूमिका उल्लेखनीय रहेको बताए । रेष्टुराँहरुमा दोहोरी गाइने गरेको सन्दर्भ स्मरण गराउँदै यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने मुल्मीले बताए । ‘दोहोरी यहाँको सांस्कृतिक पहिचान र हाम्रो धरोहर हो,’ उनले थपे ।

व्यवसायमा प्रतिस्पर्धा र चुनौती बढेको सन्दर्भमा स्वच्छता, पारदर्शिता र स्तरीयता आवश्यकता पर्ने सुझाव मुल्मीले राखे । मानिसको खर्च गर्ने क्रममा केही संकुचन आउँदा बजारमा अहिले मन्दीको संकेत देखा परेको दाबी उनले गरे । सिटी रेवान अध्यक्ष दीपक तिमिल्सिनाले पोखराको लेकसाइड क्षेत्रमात्र पर्यटकीय क्षेत्र नभएको भन्दै पर्यटनमा योगदानको हिसाबले सिटी रेवानको भूमिका बिर्सन नमिल्ने बताए । आफूहरुले सहकार्य गर्न खोज्दा नेपाल पर्यटन बोर्ड र अन्य सरकारी पर्यटनसम्बद्ध संस्थाले बेवास्ता गरेको भन्दै यस्तो पाराले भ्रमण वर्ष सफल हुनेमा शंका रहेको भनाइ उनले राखे । धार्मिक, प्राकृतिक र अन्य पर्यटकीय क्षेत्र लेकसाइडमा भन्दा सिटी एरियामा बढी भएको भन्दै संख्या र लगानी पनि लेकसाइडभन्दा अन्यत्रै बढी भएको दाबी उनले गरे । लेकसाइडका कतिपय होटलले फेवाताल मिचेको र सबै व्यवसायीलाई समेट्न समेत नसकेको आरोप लगाउँदै उनले बजार क्षेत्रको भूमिका उचित मूल्यांकन हुनुपर्ने बताए ।

कार्यक्रममा पृथ्वीचोक होटल व्यवसायी समिति अध्यक्ष हरिप्रसाद पाण्डे, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङ, सिटी रेवान सल्लाहकार पार्वती जिसी, अर्का सल्लाहकार जगन्नाथ ढकाल र पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी लगायतले भनाइ राखेको सिटी रेवान महासचिव जीवन दाहालले जानकारी दिए । समाजवादी पार्टी नेपालको गण्डकी प्रदेश सचिव समेत रहेकी जिसी र दोहोरी गीत प्रतिष्ठानको गण्डकी प्रदेश समितिलाई सो अवसरमा सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width