पर्यटकीय स्थल घोडेपानीमा मोनाको तेस्रो अधिवेशन

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६
IMG_8624

म्याग्दी, १५ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन पर्यटकीय स्थल घोडेपानीमा सुरु भएको छ ।

विश्वको विभिन्न देशमा बसोबास गर्ने म्याग्देलीहरुको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन जिल्लाको अन्नपुर्ण गाउँपालिका– ६ घोडेपानीमा मंगलबार देखी सुरु भएको हो । तीन दिनसम्म संचालन हुने महाधिवेशनको संघीय सरकार महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गरिन् ।

मन्त्री थापाले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै प्रवासमा पसीना बगाएर कमाएको पैसा जिल्लाको आर्थिक, सामाजिक , स्वास्थ्य, शिक्षा तथा मानवीय क्षेत्रमा लगानी तथा सहयोग गरेर देश विकासमा इट्टा थप्ने काम गरेको बताइन् । साथै उनले सरकारको समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न प्रवासी नेपालीहरुलाई लगानी गर्न आग्रह गरिन् ।

‘लामो समय पछि देशमा स्थायी सरकार आएकाले लगानीको वातावरण बनेको छ’ मन्त्री थापाले भनिन् । ‘सरकारको समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्न लगानीले मात्र सम्भव भएकाले प्रवासी म्याग्देलीहरुलाई स्वदेशमा लगानी गर्न आग्रह गर्दछु ।’ जिल्लामा जलविद्युत ,कृषि , पर्यटन तथा विभिन्न क्षेत्रमा प्रयाप्त सम्भावना भएकाले लगानी गरी युवाहरुलाई स्वदेशमा बस्न सक्ने बातावरण निर्माण गर्नमा सहयोग गर्न समेत आग्रह गर्दै लगानी सुरक्षितका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । भ्रष्टाचार ,हिंसा ,बेरोजगार तथा सुशासन सरकारका लागि ठुलो चुनौती भएको बताइन् । मन्त्री थापाले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नितिगत निर्णय गरी कानुन निर्माण गरको जानकारी दिइन् । अहिलेको सरकार सबैभन्दा बढी भ्रष्टाचार नियन्त्रण गर्न सफल भएको मन्त्री थापाको दावी छ ।

साथै महिला माथि हुने हिंसा बढेको बताउँदै मन्त्री थापाले यसको अन्त्यका लागि सरकारले महिला हिंसा विरुद्धको अभियानलाइ नीतिगत रुपमा निर्णय गरी अगाडि बढाउन लागेको जानकारी दिइन् । सरकारले विकास निर्माणमा हुने कालोबजारीलाई नियन्त्रण गर्नका लागि कडा कदम चालेको बताइन् । पहिले विकास निर्माणमा सडक निर्माण गर्दा दिइदै आएको अग्रिम भुक्तानीलाई घटाएको बताइन् । पछिल्लो समय मेलाका नाममा हिंसात्मक गतिविधि बढेकाले नियन्त्रण गर्नका लागि कदम चाल्न स्थानीय सरकारलाइ निर्देशन दिइन् ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीर ,निवर्तमान सभापति एवम् संविधान सभा सदस्य सांसद रेशमबहादुर बानियाँ र नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले प्रवासी म्याग्दीलीहरुले जिल्लाको विकास ,आर्थिक, सामाजिक , शिक्षा ,मानवीय , स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा पु¥याएको योगदान जिल्ला र देशका लागि नमूनायोग्य काम भएको बताए ।

यसैगरी जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी ,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,मालिका गाउँपालिका अध्यक्ष श्री प्रसाद रोका ,अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजा पुन र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्लामा कृषि ,पर्यटन ,जलविद्युत लगायत विभिन्न क्षेत्रमा पर्याप्त सम्भावना भएकाले प्रवासमा कमाएको पुँजी लगानी गर्न आग्रह गरे ।

लगानी मैत्री वातावरण निर्माणका लागि स्थानीय सरकार र प्रशासनले सहयोग गर्ने प्रतिबद्धता जनाए । क्याप्टेन गर्बुजा पुनले अन्नपुर्ण जलविद्युत र पर्यटनको प्रचुर सम्भावना बोकेको गाउँपालिका भएकाले विश्वको पर्यटकीय स्थल पुनहिल र जलविद्युतमा लगानी गर्न समेत आग्रह गर्न आग्रह गरे । कार्यक्रममा मोना अन्तराष्ट्रिय कार्यसमितिका अध्यक्ष चक्रबहादुर थापाले पर्यटकीय स्थल घोडेपानी र पुनहिलको पर्यटन प्रवद्र्धन र पुर्वाधार विकासमा लगानी भित्र्याउनका लागि घोडेपानीमा महाधिवेशनको आयोजना गएिको बताए ।

उनले मोनाले जिल्लामा गरेका विभिन्न गतिविधि तथा कार्यक्रमका बारेमा जानकारी गराए । मोनाले जिल्लाको आर्थिक ,सामाजिक ,स्वास्थ्य ,शिक्षा तथा मानवीय क्षेत्र संगै अन्य उत्पादनमुलक क्षेत्रमा लगानी गर्न चाहेकाले लगानीमैत्री बातावरण निर्माण गरिदिन आग्रह गरे । प्रवासमा कमाएको पुँजी स्वदेशको विकासमा लगानी गर्न चाहेपनि पनि लगानीमैत्री वातारण नभएको गुनासो गरे ।

लगानीले मात्र विकास सम्भव भएकाले सबैले लगानीमैत्री वातावरण निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिए । अध्यक्ष थापाको अध्यक्षता,महासचिव मिम पुर्जाको संचालन र गैरआवासीय नेपाली संघ युकेका निवर्तमान अध्यक्ष तथा कार्यसमितिका सल्लाहकार योगकुमार फगामीको स्वागतमा सम्पन्न कार्यक्रममा मोनाका संस्थापक अध्यक्ष तेजप्रकाश पुन, मोना कतारका अध्यक्ष तिलु शर्मा ,मोना नेडरल्याण्डका अध्यक्ष एवम् महाधिवेशन व्यवस्थापक संयोजक जंगबहादुर पुन र वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल लगायत विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुले बोलेका थिए ।

कार्यक्रममा मोनालाई सहयोग गर्ने व्यक्ति र विभिन्न क्षेत्रमा सक्रिय समाजसेवीहरुलाई सम्मान गरिएको थियो । महाधिवेशनमा २८ देशको प्रतिनिधिहरु सहभागी रहेका छन् । साथै महाधिवेशनको अवसरमा घोडेपानीमा निशुल्क दन्त शिविर संचालन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width