वित्तीय संस्थाको गुणस्तरमा ध्यान दिऔं : अर्थमन्त्री

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६
Artha Mantri Yubaraj Khatiwoda_Fotor

अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय संस्थाहरुको संख्याभन्दा गुणस्तर महत्वपूर्ण भएको बताएका छन्। बैंक तथा वित्तीय संस्था र लघुवित्तको संख्या नेपालमा प्रशस्त रहेको तर अब गुणस्तर बढाउनुपर्ने बेला आएको उनले बताए।

काभ्रेको पनौतीमा अभियान लघुवित्त वित्तीय संस्थाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले लघुवित्तमात्र नभई सहकारीसम्मलाई अब गुणात्मक बाटोतर्फ डोर्याउनेतर्फ केन्द्रिय बैंकले प्रयास अगाडि बढाएको बताए। ग्राहक, संगठन, आधुनिक प्रविधिको प्रयोग जस्ता विषयलाई ध्यान दिएर गुणस्तर बढाउन सकिने उनको भनाइ थियो।

लघुवित्तहरुले ऋण बाहेक थप सेवा पनि दिनुपर्नेमा उनले जोड दिए। मन्त्री खतिवडाले नेपालमा गरीबीको दर क्रमशः घट्दै गएको बताउँदै लघुवित्तको संख्या पनि अब विस्तारै घट्दै तिनीहरु बैंकमा परिणत हुने क्रम सुरु हुने भनाइ राखे। सो अवसरमा उनले लघुवित्तको काम र नाफाप्रति आलोचना पनि गरे। गरीबी निवारण र तल्लोस्तरसम्म वित्तीय पहुँच पुगोस् भनेर लघुवित्तको अवधारणा आए पनि कतिपय लघुवित्तले विकृति फैलाउने काम गरेको आरोप उनले लगाए। लघुवित्तले कमाउने नाफा स्वभाविक हुनुपर्ने भन्दै उनले बढी नाफाका लागि प्रतिस्पर्धा नगर्न लघुवित्तलाई आग्रह गरे। दोहोरो ऋण लिने, अर्को संस्थाको सदस्य तान्ने, धनीलाई पनि गरीब देखाएर ऋण दिने तथा असुली नभएको ऋणलाई नवीकरण गर्ने जस्ता प्रवृत्ति लघुवित्तमा देखिएको मन्त्री खतिवडाले औंल्याए।

अर्थमन्त्री खतिवडाले दोहोरो कर समस्या समाधान गर्न कानून नै संशोधन गर्न लागिएको बताउँदै तीन तहका सरकारले लगाएको करमध्ये दोहोरो परेका अधिकांश समस्या समाधान भएको दाबी गरे। बाँकी रहेका करसम्बन्धी समस्या समाधानका गर्न ऐन नै संशोधन गर्न लागिएको उनले सुनाए। यसैगरी एउटा तहले उठाएको कर अर्को सरकारले हस्तान्तरण गर्ने र रोयल्टी वितरणलाई प्रभावकारी बनाउन अटोमेटिक विनियोजन हुने प्रणाली बनाउन लागिएको समेत उनले जानकारी गराए।

वाणिज्य बैंकहरुले तल्लो तहसम्म वित्तीय पहुँच बढाउन शाखा विस्तारमा जोड दिनुपर्ने उनको भनाइ थियो। अर्बौ नाफा कमाउने बैंक भए पनि १० वर्षमा १० शाखा पनि विस्तार गर्न नसक्ने हो भने त्यो देशको हितमा छ भनेर भन्न नसकिने उनले सुनाए। यही सन्दर्भमा उनले अहिले स्वदेशी विज्ञता, पुँजी, अनुभव र जनशक्ति बढेको बताउँदै आफ्नो वित्तीय क्षेत्र आफै हाँक्न सक्ने अवस्थामा नेपाल पुगेको भनाइ राखे।

१९९४ मा नेपाल बैंक स्थापना भएदेखि २०७४ सालसम्म आइपुग्दा बैंकहरुको शाखा जम्मा साढे ५ हजारमात्रै रहेको र आफू मन्त्री भएपछि बैंकका शाखा ८ हजार ८ सय ५० वटा पुगेको उनले जानकारी दिए।

‘दुई वर्षमा यति धेरै बैंकका शाखा कसरी पुगे? त्यसको पृष्ठभूमि छ। हामी सरकारमा आएपछि सबै स्थानीय तहहरुमा बाणिज्य बैंकको शाखा विस्तार गर्नुपर्छ भन्ने नीति लियौं, ’ उनले भने। दुई वर्षमा बीमा सेवा पुग्ने जनसंख्या १० प्रतिशतभन्दा कमबाट वृद्धि भएर २० प्रतिशत पुगेको र वैदेशिक रोजगारीको म्यादी बीमा पनि जोड्ने हो भने २५ प्रतिशत नागरिकमा बीमा पहुँच पुगेको उनले सुनाए।

उनले थपे, ‘देशमा आर्थिक गतिविधि बढेको छ, निक्षेप बढेको छ, ऋण बढेको छ, जसको प्रतिबिम्ब आर्थिक वृद्धिदरमा देखिन्छ। मानिसहरु आर्थिक परिसूचक बिग्रिए भनिरहेका छन्। के हेरेर त्यस्तो भन्नुभयो कुन्नि? मैले बुझिरहेको छैन। अर्थतन्त्र खस्कियो, लगानीको वातावरण बिग्रियो भन्ने आरोपका आधार के हुन्? मान्छेहरु कुन तथ्यांक हेरेर त्यस्तो आरोप लगाइरहेका छन्? ’

Related News

सम्बन्धित समाचार

hero news full width