ट्राफिक प्रहरीद्वारा चालक सहचालक सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
Samman 2

वालिङ, १३ असोज । सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ बजारमा सोमबार बिहानै ट्राफिक प्रहरीले सिट्ठी फुक्दै यात्रुबहाक बसहरुलाई सडकको किनारामा रोक्न निर्देशन गरे । ट्राफिक प्रहरीले रोकेपछि केही गल्ती भयो कि अथवा चेकजाँचका लागि होला भन्दै चालकले गाडीलाई साईड लगाए ।

ट्राफिकले चालकलाई सिटबाट ओर्लेर सडकको छेउमा राखिएको कुर्सीमा बस्न अनुरोध गरेसँगै कौतुहलताका साथ चालक कुर्सीमा बसे । यसरी एकपछि अर्को गर्दै सवारी चालकहरु कुर्सीमा थपिंदै गएपछि ट्राफिक प्रहरीले कार्यक्रमकाबारेमा जानकारी दिदंै चालकहरुलाई कारबाही होईन सम्मान गर्नकालागि यहाँ राखिएको भनेपछि चालकहरु दङ्ग परेका थिए ।

सानो, ठूलो जस्तोसुकै गल्तिमा पनि जरिवाना गर्दै आएको ट्राफिक प्रहरीले कारबाहीको शैलीमा परिवर्तन गरी सम्मान गरेकोमा आँफूलाई अचम्म लागेको वालिङ काठमाडौं चल्ने बसका चालक रोशन श्रेष्ठले बताए ।सवारी चालक, सहचालकहरुलाई कारबाही भन्दा पनि सकारात्मक तरिकाले आनीबानीमा सुधार ल्याउन सके दिगो र प्रभावकारी हुने भन्दै ट्राफिक प्रहरी पोष्ट वालिङले यो अभियानको थालनी गरेको ट्राफिक प्रहरी पोष्टका प्रमुख तेजबहादुर रावलले बताए ।

राजमार्गमा गुडिरहेको सवारी साधनलाई रोकेर चालक र सहचालकलाई खादा र माला लगाएर सम्मान गरिएको ट्राफिक प्रमुख रावलले बताए । ट्राफिक प्रमुख रानाभाटका अनुसार विशेष गरी चाडपर्वका समयमा हुन सक्ने अप्रिय घटनाहरु घट्न नदिनका लागि सचेतनास्वरुप यो अभियान सञ्चालन गरिएको हो ।
यात्रुहरुलाई सही गन्तब्य पु¥याउने जिम्मा चालक, सहचालकहरुको भएको हुँदा विशेषगरी चालक सहचालकहरुलाई सकारात्मक तरिकाले सचेत बनाउँदै दुर्घटना न्यूनीकरणका लागि सहयोग गर्नका लागि सम्मान गरिएको ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताए ।

“दुर्घटना न्यूनिकरणका लागि सवारी चालकहरुलाई कारबाहीभन्दा पनि सकारात्मक तबरबाट समस्याको समाधान गर्नका लागि उनीहरुलाई सचेत बनाउनका लागि खादा मालाद्वारा सम्मान गरिएको हो” ईप्रका प्रमुख शर्माले भने, “सवारी चालक सहचालकहरुले ट्राफिक प्रहरीलाई हेर्ने दृष्टिमा पनि परिवर्तन गर्नमा यस अभियानले महत्वपूर्ण टेवा पुग्ने छ ।”जरिवाना भन्दा पनि सम्मानले चालकहरुलाई नैतिक बन्धनमा राख्दै थप सचेत बन्नका लागि प्रेरित गर्ने वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए ।

चालक सहचालकलाई खादा तथा मालाद्वारा सम्मानसँगै उनीहरुलाई सवारी साधन चलाउँदा मापसे नगर्न, क्षमताभन्दा बढी यात्रुहरु नचढाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न सचेत गराउनुकासाथै यात्राका क्रममा सवारी चालक, सहचालकहरुबाट कुनै अस्वभाविक ब्यवहारहरु भएमा पनि तत्काल प्रहरीमा खबर गर्न पनि प्रहरी निरीक्षक घिमिरेले यात्रुहरुसँग आग्रह गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width