लुम्लेमा महायज्ञ जारी

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
maxresdefault_Fotor

धेरै दान दिने लुम्ले घुम्ती निवासी मनबहादुर गुरुङको परिवारलाई फूलमालाले स्वागत गरिँदै। तस्वीरःश्रीभद्र पौडेल/आदर्श समाज

लुम्लेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ शनिवारदेखि शुरु श्रीमद्भागवत महापुराण एवं देवीभागवत नवाह ज्ञानमहायज्ञ जारी छ।

आइतवार महायज्ञमा सबैभन्दा धेरै लुम्ले घुम्ती निवासी मनबहादुर गुरुङको परिवारले नगद १ लाख ५ हजार ५ सय ५५ दान गरेका छन्।

त्यस्तै जागृति आमा समूहबाट १७ हजार ७ सय ७७, माझखोला निवासी टुकनाथ (नारायणप्रसाद) देवकोटाको परिवारबाट १५ हजार १ सय ५५, पुच्छरघर निवासी खुसीमान गुरुङ परिवारबाट १५ हजार १ सय ५० लगायत अन्य थुपै दाताबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ।

भागवत्कथा वाचन गर्दै कथा शिरोमणि पं. दीपकप्रसाद पौडेलले पृथ्वी उत्पति हुनुमा रहस्य रहेको भन्दै मानिस विचार र कर्मले असल हुनुपर्ने औँल्याए। उनले हिन्दू धर्मको महत्वमाथि पनि प्रकाश पारेका थिए।

यस पटकको दशैँका लागि घटस्थापनाको दिन पारेर लुम्लेवासीले आइतवार महायज्ञ स्थलमा सामूहिक जमरा पनि राखेका छन्।

त्यस्तै सामूहिक टीका लगाउने योजना पनि उनीहरुले बनाएका छन् । यज्ञबाट ५० लाख दान संकलन गर्ने लक्ष्य राखिएको छ। महायज्ञ असोज १९ सम्म चल्नेछ।

महायज्ञका सहसंरक्षक वडाध्यक्ष चित्रबहादुर गुरुङले लुम्लेलाई धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्ने योजनाका साथ यज्ञ थालिएको बताए। उनले लुम्लेवासी एकजुट भएर यज्ञ सम्पन्न गर्नुको विकल्प नभएको पनि औँल्याए।

यज्ञमा सामूहिक पितृ तर्पण, हवन, अन्नदान, भूमिदान, तुलादान, धान्याचल, ब्राम्हण भोजन, विवाह, व्रतबन्ध, गुन्यूचोली, नवग्रहपूजा, चौरासी पूजा सहित पितृको तस्वीर राखी आरति अर्पण गर्दै दान गर्न पनि सकिने आयोजकले जनाएको छ। आइतवार यज्ञमा मूल आयोजक समिति अध्यक्ष भरत देवकोटा, महासचिव दिनेशकुमार जिसी, वडाध्यक्ष चित्रबहादुर गुरुङ लगायतले धारणा राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width