घाट जाने बाटोमा छेकवार

आक्रोशित स्थानीयको पर्खालमाथि घन

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७६
pasal-anugaman_Fotor

पोखरा २१, द्वार कश्यार घाट झर्ने सार्वजनिक बाटो छेकेर लगाइएको पर्खाल फोर्दै स्थानीय। तस्वीर : विजय।

सार्वजनिक जग्गाहुँदै पोखरा–२१, द्वार कश्यार घाटसम्म पुग्ने बाटोमा एकाएक पर्खाल लगाएर आवातजावत रोक लगाइएपछि आक्रोशित स्थानीयले विहीवार सो पर्खाल भत्काएका छन्। उनीहरुले मूलद्वारमा लगाएको ताला समेत घन हानेर फोडेका छन्।

वर्षौदेखि सर्वसाधारणले प्रयोग गदैर्आएको पोखरा–२१ (साविक निर्मलपोखरी–१) छुच्छी गौंडादेखि जम्मुतरासम्मको सो बाटो छेक्ने गरी गत साउन १४ मा पर्खाल लगाउँदा सो क्षेत्रका स्थानीयलाई आवातजावतमा समस्या उत्पन्न भएको थियो। लास लिएर गएका मलामीसमेत पर्खाल लगाइएको कारण फर्काएर घुमाउँरो बाटो हुँदै कश्यार घाट पुग्न बाध्य भए। सो क्षेत्रमा ४६ घरधुरीको बसोबास छ। उनीहरुलाई बाटो छेकिँदा असुविधा हुनुका साथै साना हातहरु नामक संस्थामा आश्रित २ सय ५० जना बालबालिका पढ्न जान पाएनन्।

आक्रोशित स्थानीय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले विहीवार सोही स्थानमा पत्रकार सम्मेलन गरी पत्रकारको रोहवरमा पर्खाल भत्काएका हुन्। छेकिएको सो ६ सय मिटर बाटोको तलमाथि गरी ४३ रोपनी सार्वजनिक जग्गा पर्दछ। स्थानीयका अनुसार जसको प्रचलित मूल्य साढे २१ करोड रुपैयाँ पर्न आउँछ। स्रोतका अनुसार मनकामना केवलकार प्रालिका कृष्णकुमार श्रेष्ठबाट सो जग्गा नेपाल स्वाभिमान प्रालि, अनिता सिंह र कुशल बरालले खरिद गरेका हुन्। खरिद जग्गा भारतीय आयुवेर्द कम्पनी पतंजलिले प्रयोग गर्ने बताइएको छ।

पत्रकार सम्मेलनमा नेकपा कास्की जिल्ला कमिटी सदस्य एवं साविक निर्मलपोखरी गाविसका पूर्व अध्यक्ष कमलमोहन पौडेलले वर्षौदेखि प्रयोग हुँदै आएको सार्वजनिक जग्गाको बाटो भूमाफियाले चलखेल गरी हडप्ने प्रयास गरेको आरोप लगाए। उनले लगतकट्टा नभएको विषयमा कुनै पनि हालतमा बाटो छेक्न नपाइने भन्दै आवश्यक सहयोगको लागि सरोकारवालालाई आग्रह गरे।

सो सम्बन्धमा स्थानीयले पोखरा महानगरपालिका न्यायिक समितिमा उजुरी समेत दिएको जानकारी दिएको द्वार टोल विकास संस्था अध्यक्ष बोधराज आचार्यले दिए। उजुरीमा प्रतिवादी बनाइएकाहरु उपस्थित नभएपछि सुनुवाइ नभएको भन्दै महानगरले फर्काएपछि स्थानीय आफै बाटो खुलाउने निर्णयमा पुगेको आचार्यले बताए। न्यायिक समितिले भने जग्गासँग सम्बन्धित मानिस नभएकोले तत्काल सुनुवाइ हुन नसकेको र उपस्थित हुन सम्बन्धितलाई पत्राचार गरेको जनाएको छ। सो बाटो भूमाफियाले ठूलो रकम असुल्ने चलखेलमा पर्खाल लगाएको स्थानीयको आरोप छ।

स्थानीयको दैनिक जीनव सहज, बाटो व्यवस्थित, विकासको पूर्वाधार, घाट व्यवस्थानसहित चोरी निकासी रोक्ने कार्यमा सार्वजनिक सो बाटो अत्यावश्यक हुने पूर्व वडाध्यक्ष कमलमोहन पौडेल बताउँछन्।

तत्कालीन निर्मलपोखरी गाविस १ (हाल पोखरा मनपा २१) मा दोबिल्ला बागमारा पक्की सडकको छुच्चीगौंडादेखि करिब २ सय मिटर उत्तर सेती नदीतर्फको घुम्तीबाट जमुतराहुँदै कसियरघाट जाने स्थायी रुपमा मोटरेबल बाटो तत्कालीन निर्मलपोखरी गाविसले निर्माण गरी संचालनमा ल्याइएको सार्वजनिक जग्गा भएकोले सोही अनुरुप प्रयोग हुँदैआएको स्थानीयको दाबी छ।

स्थानीय चक्रपाणि आचार्यले तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति, स्थानीय जनचेतन मावि र जग्गादाताहरुको संयुक्त पहलमा २०५४ देखि उक्त बाटो सञ्चालनमा रहेको बताए। हाल सो क्षेत्रमा थ्रि एञ्जल्स नेपालको ६८ रोपनी जग्गासमेत रहेको थ्री एञ्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमले जानकारी दिइन्। उनका अनुसार संस्थाले विद्यालय, बालगृह तथा सुरक्षित आवासगृह प्रयोजनको निमित्त सो जग्गा खरिद गरेकोमा बाटो रोक्दा मर्कामा परेको बताइन्। कार्यक्रममा साना हातहरु संस्थाका शाखा प्रमुख कृष्ण मगर, थ्रि एञ्जल्स नेपालका प्रमुख कार्यकारी निर्देशक डा राजेन्द्र गौतम, परियोजना तथा कार्यक्रम निर्देशक डा मदन थापा, शैक्षिक विभाग प्रमुख रमेश पाण्डे, मानव संशाधन विभाग म्यानेजर किसानबहादुर गुरुङ, मिडिया एण्ड मार्केटिङ डाइरेक्टर गणेशकुमार श्रेष्ठ, दोबिल्ला घाट विकास समितिका भरत रायमाझी, अबरुद्ध बाटो खुलाऊ संघर्ष समितिका ध्रुव रायमाझी, दाताराम आचार्य लगायतले बोलेका थिए। उनीहरुले लगत कट्टा नभएको भन्दै यसरी सार्वजनिक जग्गा छेक्दै जाने र आवातजावतमा रोक लगाउने गरे गलत नजीर बस्ने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width