तारेहोटलको सट्टा गाउँमा सभा सम्मेलन

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
Gauma Sabha_Fotor

मनास्लु र धौलागिरि हिमालको आरोहण दिवस मनाउन केही महिना अघि पोखराबाट बागलुङको भकुण्डे पुगेका व्यवसायी र अतिथि। तस्वीर : आदर्श समाज।

शहरका तारेहोटलमा ठूलो खर्च गर्नु सट्टा गाउँका सामान्य होमस्टेमा पुगी सभा सम्मेलन गर्ने प्रचलन पछिल्ला वर्षमा देखिन थालेपछि ग्रामीण पर्यटनको विकासमा टेवा पुग्न थालेको सरोकारवालाले बताएका छन्।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल संघ र गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशजस्ता संस्थाहरुले यस्तो क्रमको शुरुवात गरेसँगै थुप्रै पर्यटकीय र अन्य संघसंस्थाले समेत गाउँमा पुगी कार्यक्रम गर्ने क्रम बढेर गएको छ। केही हप्ता अघि ट्रेकिङ इक्वीपमेण्ट सप एशोसिएसन (टेसा) ले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित हेम्जाकोट पुगी आफ्नो साधारण सभा सम्पन्न गर्यो।

त्यसलगत्तै इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) ले कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित भदौरेमा त्यस्तै सभा सम्पन्न गरेको थियो। केही महिना पहिला रेवान पोखराको टोली समेत सो क्षेत्रमा पुगी पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको थियो। यतिमात्र नभई पछिल्लो पटक टुरिष्ट बुकसप एशोसिएसन पोखराले समेत पर्वतको जयकोट होमस्टेमा पुगी आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको थियो।

यसप्रकार गाउँमा पुगी कार्यक्रम गर्नुले पोखरा मात्र पर्यटकीय क्षेत्र नभई नेपालका गाउँहरुले पनि उत्तिकै पर्यटकीय महत्व बोकेको पुष्टि हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। गाउँहरुमा सभा सम्मेलन गर्ने खालको पर्यटनको सम्भावना प्रवल रहेको विचार पनि उनले भदौरेमा आयोजित कार्यक्रममा सुनाएका थिए। सोही गाउँमा रहेको बहादुरे माविका प्रधानाध्यापक रामप्रसाद पौडेलले समेत ठूला होटलमा जानु सट्टा गाउँमा आएर कार्यक्रम गर्दा गाउँलेलाई फाइदा पुग्ने भनाइ राखे।

अहिले गण्डकी प्रदेश सरकारले समेत आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेको सन्दर्भमा गाउँ गाउँमा पुगी कार्यक्रम गरेर पर्यटकीय गतिविधिमा टेवा दिनुलाई सकारात्मक मान्न सकिन्छ। प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा होमस्टेकै विकासका लागि भन्दै ३० करोड रुपैयाँ विनियोजन समेत गरेको थियो। तीन सय होमस्टेलाई १० लाखका दरले अनुदान दिने भनिएकोमा २ सय ७४ होमस्टेहरुले अनुदान सुविधा लिन सफल भएका थिए।

ग्रामीण पर्यटनलाई टेवा दिन भनेर नै टान पश्चिमाञ्चल संघ पोखराले विगत एक दशकदेखि गाउँमै पुगी अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमाल आरोहणका दिवस मनाउने परम्परा थालनी गरेको थियो। यसैक्रममा टानले कास्कीका ल्वाङ, हेम्जाकोट, काब्रे, अस्ताम, घलेल, भुम्दीकोट, मिर्सा, घलेखर्क, ताङतिङ, दाङसिङ मोहरिया, याङ्जाकोट, म्याग्दीका दोवा, खिवाङ, कुहु, बाग्लुङको भकुण्डे र तनहुँको रघुगाउँ जस्ता गाउँमा पुगी विभिन्न कार्यक्रम गरी प्रवद्र्धनका अभियान संचालन गरेको थियो।

उल्लेखित होमस्टेको विकास गरिएपछि लायन्स क्लब, लियो क्लब, रोट्रयाक्ट क्लब र अन्य संघसंस्थाले समेत गाउँमा कार्यक्रम गर्ने क्रममा पछिल्ला वर्षहरुमा बढोत्तरी देखिएको छ। भिटोफले समेत विभिन्न गाउँहरुमा पुगी सभा सम्मेलन गर्ने र त्यहाँका होमस्टे संचालकहरुलाई तालिम समेत दिनेक्रम थालनी गरेको निकै वर्ष भइसकेको छ। नवलपुरको अमलटारी, लमजुङको काउलेपानी र राइनासकोट, स्याङ्जाको पिप्ले देउराली र कास्कीको कालावाङ घरेडी लगायतका क्षेत्रमा भिटोफले होमस्टे प्रवद्र्धनमा सघाएको भिटोफ गण्डकीका अध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए।

खासगरी माइस टुरिजम अर्थात् सभा सम्मेलन र प्रदर्शनीहरु गर्ने खालको पर्यटनलाई अभिवृद्धि गर्न गाउँहरुका होमस्टेलाई प्रयोग गर्न सकिने प्रशस्त सम्भावना रहेको छ। गाउँमा उत्पादन भएको अर्गानिक तरकारी, अन्य खानेकुरा, त्यहींका जनावर र पंक्षीको मासु उपभोग तथा पर्यटनमा ग्रामीण वासिन्दालाई समेत अभ्यस्त बनाउने हिसाबले गाउँमा पुगी कार्यक्रम गर्ने चलनले त्यहाँका बासिन्दाको आर्थिकस्तर उकास्न समेत मद्दत पुग्नेमा कुनै द्विविधा नहोला।

गाउँमा पुगी कार्यक्रम गर्दा त्यहाँका बासिन्दाले अतिथि सत्कार सिक्ने मौका पाउने मात्र नभई केही कमाई समेत हुँदा उनीहरुको जीवनस्तर उकास्न मद्दत पुग्ने विचार टान पश्चिमाञ्चल संघ पोखराका अध्यक्ष हरि भुजेलले ती गाउँमा आयोजित कार्यक्रममा व्यक्त गर्ने गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width