आफ्नै कारण सरकार धरापमा : आचार्य

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
congress news photo_Fotor

नेपाली काँग्रेस केन्द्रीय सदस्य महेश आचार्यले सरकारका गतिविधि कारण नै सरकार नै धरापमा परेको बताएका छन्।

पोखराको भरतपोखरीमा जागरण अभियानको दोस्रो चरणको कार्यक्रम समापन गर्दै उनले दुइतिहाई दम्भका कारण नै सरकार धरापमा परेको बताए। उनले सरकार एकलौटी ढंगबाट चलिरहेको टिप्पणी गरे।

देशको राष्ट्रियता नै खतरामा पर्ने गरी सरकार चलाउँदा अर्थतन्त्रदेखि विकास निर्माणका काम समेत अलपत्रमा परेको उनको भनाइ छ। उनले सरकारभन्दा व्यक्ति बलियो हुने गरी काम गर्दा देश नबन्ने ठोकुवा गरे।

उनले काँग्रेसलाई सत्ता कसरी पुर्याउनेभन्दा पनि लामो संघर्ष र बलिदानबाट आएको संविधान संकटमा पर्छ कि भन्ने चिन्ता रहेको उल्लेख गरे। सत्ताका लागि नभइ जनभावनाको कदर गर्न काँग्रेस जागरणमा जुटेको स्पष्ट पारे।

अर्का केन्द्रीय सदस्य जीवन परियारले सरकारले कुशासन गरिरहेको भन्दै सडकदेखि संसद्सम्म आवाज उठाउनुपर्ने समय आएको बताए।

नेता शुक्रराज शर्माले सबै नेता तथा कार्यकर्ताको ध्यान काँग्रेस बलियो बनाउनेतर्फ हुनुपर्ने बताए।

काँग्रेस नेता यज्ञबहादुर थापाले हार्ने डरले नेकपाका नेता बामदेव गौतम कास्की क्षेत्र २ मा निर्वाचन लड्नबाट पछाडि हटेको जिकिर गरे।

अर्का नेता महादेव गुरुङले सरकार नेकपाको कार्यालय जस्तो भएको भन्दै निन्दा गरे।

त्यस अवसरमा राष्ट्रियसभा सदस्य बृन्दादेवी राना, महासमिति सदस्य देवराज चालिसे, गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापा, केन्द्रीय प्रतिनिधि ऋषिकेश तिवारी, नेपाल महिला संघ कास्की सभापति कोपिला रानाभाट, नेपाल तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ, नवप्रवेशी चेतबहादुर महत र बमबहादुर पुनले बोलेका थिए।

काँग्रेस कास्कीका कार्यवाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य केसर निर्दाेषीले स्वागत र सचिव सुदीपमोहन भट्टराईले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width