काँग्रेसको जागरण अभियान सकियो

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
IMG_7915_Fotor

म्याग्दीमा विरोध प्रदर्शन गर्दै कांग्रेस। तस्वीर : साधन राम्जाली/आदर्श समाज

नेपाली काँग्रेसको भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबारदेखि सकिएको छ।

समापनका अवसरमा मंगलबार ७७ जिल्ला सदरमुकाममा काँग्रेस जिल्ला सभापतिको नेतृत्वमा विरोध र्यालीसहित सभा गरिएको काँग्रेसले जनाएको छ।

समापनका कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले समेत विभिन्न जिल्लाका सभालाई सम्बोधन गरेका छन्।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले रोल्पा, उपसभापति विमलेन्द्र निधिले कैलाली, अर्का उपसभापति विजयकुमार गच्छदारले भक्तपुर, महामन्त्री डा शंशाक कोइरालाले खोटाङ, सहमहामन्त्री डा प्रकाशशरण महतले अछाम, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, नेता गोपालमान श्रेष्ठले काठमाडौँ, नेता कृष्णप्रसाद सिटौलाले सुनसरीमा सम्बोधन गरेका छन्।

जागरण अभियानको यसअघिका १४ दिनमा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिएको थियो।

आदर्श समाजका म्याग्दी संवाददाताका अनुसार नेपाली काँग्रेस म्याग्दीले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ।

सरकारको अकर्मन्यता, भ्रष्टाचार, हत्या, हिंसा, आतंकविरुद्ध विरोध प्रदर्शन गरिएको काँग्रेस म्याग्दीले जनाएको छ। दोस्रो चरणको जनजागरण अभियानअन्तर्गत अन्तिम दिन मंगलबार आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा १ का जागरण अभियान संयोजक एवम् संविधान सभाका सांसद गोविन्दप्रसाद कँडेलले सरकारले गरेका गलत क्रियाकलाप र राष्ट्रहितविपरित गरेका कार्यको भण्डाफोर गर्न जागरण अभियान संचालन गरेको बताए।

सरकार संघीय संरचनामा गए पनि सरकारको मानसिकता भने पुरानो केन्द्रिकृत भएको बताए। सरकार काण्डैकाण्डमा मुछिएकाले जनाताले भरोसा गर्ने ठाउँ नरहेको उनले बताए।

अदालतको निर्णय उल्टाउने, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने जस्ता गलत प्रवृतिमा समेत सरकार लागि परेकाले यसलाई रोक्न जनस्तरबाट दबाब दिनुपर्नेमा जोड दिए।

पूर्व सांसद नीरज पुनले प्रतिपक्षको हैसियतले सरकारलाई सहयोग गर्न खोजे पनि दुइतिहाई दम्भ देखाएर सहकार्य गर्न नखोजेको आरोप लगाए।

कार्यक्रममा काँगे्रस जिल्ला कार्यसमिति म्याग्दी सभापति खम्बीर गर्बुजा, बेनी नगरपालिका प्रमुख तथा जिल्ला कार्यसमितिका सचिव हरिकुमार श्रेष्ठले सरकार आफ्नो असफलता ढाकछोप गर्नका लागि प्रतिपक्षलाई दोष दिएर उम्किन खोजेको आरोप लगाए । कार्यक्रम काँग्रेस जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बिरको अध्यक्षतामा भएको हो।

स्याङ्जाका संवाददाता अनुसार काँग्रेसल स्याङ्जाले दोश्रो चरण जागरण अभियान समापनसँगै बृहत् र्यालीसहित सरकारविरुद्ध सदरमुकाममा प्रदर्शन गरेको छ।

बिरोध र्यालीमा संविधानसभा सदस्य शारदा पौडेलले झण्डै ७० वर्षदेखिको नागरिकको चाहनाबमोजिम जारी संविधानमा ब्यवस्था भएझैं वर्तमान सरकार संचालन हुन नसकेको बताउँदै सरकार अधिनायकवादतर्फ उन्मुख देखिएको बताइन्।

कार्यक्रममा संविधानसभा सदस्य झुलबहादुर आले र राजु थापा, केन्द्रीय प्रतिनिधि तुलसीनारायण श्रेष्ठ र गुरु बराल, काँग्रेसका पूर्व सभापति खगेन्द्रराज रेग्मी लगायतले सरकार जनबिरोधी क्रियाकलापमा लागेको बताउँदै नागरिकका हक, हित र अधिकारका पक्षमा नेपाली काँग्रेस जुटिरहेकोमा बताए।

नेपाली काँग्रेसका कार्यवाहक सभापतिकुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्र गोदारले गरेका थिए।

पुतलीबजार १ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निस्केको र्याली नगर परिक्रमा गरी शहीदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। सहभागीहरुले सरकारका गतिविधि सच्चाउन माग गर्दै चर्का नाराबाजी गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width