पाटा ट्राभल मार्टमा नेपाल च्याप्टर सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

पाटा ट्राभल मार्टको ४२ औ संस्करणमा पाटा नेपाल च्याप्टर उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ। सेप्टेम्बर १८ देखि २० सम्म काजखस्तानको नूरसुल्तान (अस्टाना) मा उक्त मार्ट आयोजना भएको थियो।

पाटा नेपाल च्याप्टरलाई लगातार तेस्रो पटक ‘पाटा बेष्ट एन्गेजमेन्ट विद यङ्ग टुरिज्म प्रोफशनल’ अवार्ड प्रदान गरिएको हो। यो अवार्ड पाटाले प्रत्येक वर्ष विश्वभरी रहेका आफ्ना च्याप्टरले युवापुस्तासँगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रदान गरेको योगदान तथा निष्ठाको उच्च मूल्यांकन आधारमा उत्कृष्ट च्याप्टरको रुपमा प्रदान गर्ने गर्दछ। उक्त अवार्ड पाटा अध्यक्ष क्रिस बोट्रिल र पाटा सिईओ मारियो हार्डीले पाटा नेपाल च्याप्टरका सिइओ सुरेशसिंह बुडाललाई प्रदान गरेका थिए।

पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले ५ वटा निजी क्षेत्रका पर्यटन व्यवसायी कम्पनिहरु क्रमशः द एक्सप्लोर नेपाल, नेपाल होलिडे मेकर्स टुर्स एण्ड ट्राभल्स, हिमालयन होलिडेज, फिसटेल टुर्स एण्ड ट्राभल्स र भृकुटी हिमालयन ट्रेक्सले मार्टमा नेपाल प्रवद्र्धन गरेका थिए। ‘नेपाल पेभिलियन’ अन्तर्गत सक्रिय तथा प्रभावकारी सहभागिता जनाउँदै नेपाललाई जीवन्त अनुभवहरु प्रदान गर्ने गन्तव्यको रुपमा उनीहरुले प्रवद्र्धन गरेका हुन्।

मार्टमा विश्वभरीका ६३ गन्तव्यबाट कुल १ हजार २ सय जनाले सहभागिता जनाएका थिए। जसमा १ सय ८० वटा संघसंस्था/कम्पनिहरु तथा ३४ वटा गन्तव्यबाट कुल ३ सय ४७ बिक्रेता सहभागी र २ सय ४४ वटा संस्थाहरु तथा ४८ स्रोत बजारबाट कुल २ सय ५२ क्रेताहरुबीच व्यापार आदानप्रदान तथा गन्तव्य प्रवद्र्धन भेटघाट/छलफल कार्यक्रमहरु आयोजना गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ।

पर्यटन बोर्ड र पाटा नेपालले मार्टमा अन्तराष्ट्रिय एवम स्थानीय सहभागीहरुलाई नेपालको पर्यटन प्रवद्र्धन र गन्तव्यबारे जानकारी प्रदान गराएका थिए भने निजी क्षेत्रबाट सहभागी पर्यटन व्यवसायीहरुले नेपालको प्रोडक्ट प्याकेज तथा व्यापार अवसरहरुबारे विश्वव्यापी क्रेतासमक्ष छलफल भेटघाट गरेका छन्।

नेपाल पेभेलियनमा, ट्रेकिङ्ग तथा साहसिक पर्यटन बाहेक नेपालको संस्कृति, वेलनेस​, लक्जरी लगायत अनुभवमा आधारित पर्यतटकीय प्रोडक्ट तथा सेवाबारे समेत सहभागीहरुले अभिरुची जनाएका थिए। मार्टमा आमन्त्रित क्रेताहरु तथा सहभागीबीच आगामी वर्ष फेब्रुअरी तथा जूनमा आयोजना गरिने नेपाल इण्डिया चाइना एक्स्पो (नाइस​) र हिमालयन ट्राभल मार्ट २०२० समेत प्रचारप्रसार एवम प्रवद्र्धन गरिएको थियो।

कार्यक्रमा सुरेशसिंह बुडालले नेपाल भ्रमण वर्ष २०२०, पर्यटन प्रवद्र्धनात्मक गतिविधि तथा संस्थाले गरेका कार्य एवम् भावी योजनाबारे जानकारी दिए। उनले लगातार तेस्रो पटक पाटा वेष्ट च्याप्टर अवार्ड पाउनु गर्वको विषय भएको र पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा आबद्ध सम्पूर्ण विद्यार्थीको निरन्तर लगाव र समर्पणको नतिजा भएको बताए।

यस अभियानलाई सक्रिय र सफल बनाउन निरन्तर रुपमा सहयोग, प्रेरणा एवं हौसला प्रदान गर्ने पाटा नेपाल च्याप्टर कार्यसमिति, इण्डस्ट्री लिडर्स तथा पाटा अन्तराष्ट्रिय व्यक्तित्वलाई धन्यबाद दिए। एसिया प्यासिफिक क्षेत्रकै उत्कृस्ट ट्राभल ट्रेड शो का रुपमा स्थापित पाटा ट्राभल मार्ट विश्वब्यापी पर्यटन सरोकारवालाका लागि एक महत्वपूर्ण नेटवर्किङ्ग र बिजनेस प्रवद्र्धन प्ल्याटफर्म भएको बुडालले बताए।

नेपाल पर्यटन बोर्डका ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले नेपालका लागि पाटा ट्राभल मार्टको सहभागिता नेटवर्किङ व्यापार विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि सधैँ सफल र प्रभावकारी रहेको बताइन्। उनले भनिन्, ‘नेपाल काजखस्तानीहरुको लागी नयाँ गन्तव्य रहेको र विश्वव्यपी क्रेताहरुमध्ये पनि अजेर्न्टिना, स्पेन जस्ता दक्षिण अमेरिकी मुलुकहरुबाट नेपाल भ्रमण गर्न अभिरुची भएको हामीले पायौं। ’ साथै, यस वर्षको मार्ट सेन्ट्रल एसियामा नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका लागि समेत महत्वपूर्ण रहेको उनले बताइन्।

पर्यटन बोर्डकी प्रवद्र्धक अर्चना केसी रानाले सामाजिक सञ्जालमार्फत नेपाली गन्तव्यबारे अपडेट गर्न तथा अभिप्रेरित गराउने उद्देश्यले मार्टमा एक डिजिटल अभियानको समेत आयोजना गरिएको बताइन्।

पाटा स्थापनाको ६८ वर्ष इतिहासमा आयोजित पाटा ट्राभल मार्ट यसवर्ष नयाँ गन्तव्य तथा नयाँ अनुभवमा रुची राख्ने पर्यटनकर्मीका लागि महत्वपूर्ण रहेको दाबी गरिएको छ। स्तुपा, प्रेयर फ्ल्याग र मनोरम हिमालयन दृश्यसहित नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका विविध सेवा तथा वस्तुले सजाइएको नेपाल पेभिलियन मार्टमा सहभागीका लागि आकर्षण बनेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width