जङ्गली जनावर धपाउन खेतमै डेरा

रासस
असाेज ८, २०७६
rice-fields-stock-image-3797820

कञ्चनपुर, ८ असोज । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् ।
“जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने भएकाले रातभर सुत्न पाउँदैनौँ”, स्थानीय आशाराम चौधरीले भने “जनावर भगाउनमै अनिदोमै रात बित्ने गरेको छ ।” आँखा लाग्नेबित्तिकै जनावर खेतमा छिरेर एकछिनमै पूरा खेत सखाप पार्ने भएकाले सुत्न नपाएको उनले बताए ।

“पाक्नै लागेको धान आधा बढी जनावरले खाइसकेको छ”, अर्का किसान नारायणसिंह महराले भने “थोरै धान जोगाउन पाए पनि केही महीना खान पुग्ने भएकाले खेतमै रातभर बस्नुपरेको छ ।” जङ्गली जनावरकै कारण यस क्षेत्रका किसानले वर्षेनी खेतमा लगाएको पूरै बाली भित्र्याउन पाएका छैनन् । वर्षात्का बेला चित्तल र बदेलले धानबाली खाएर हैरान पार्ने गरेका छन् भने हिउँदमा नीलगाईलगायतका जनावरले गहुँबाली खाएर किसानलाई मर्कामा पार्ने गरेका छन् ।

“जनावरका कारण रातभर सुत्न त पाउँदैनौँ”, स्थानीय रामबहादुर ऐरले भन्नुभयो, “खेतमै डेरा हालेर दुई सातादेखि बस्दै आए पनि पूरै धानबाली जोगाउन पाएका छैँनौँ ।” बस्तीको माथिल्लो र तल्लो भेगमा जङ्गली जनावर रोक्नका लागि ‘फेन्सिङ’ गरिएको भए पनि यस क्षेत्रको दुई किलोमिटरको क्षेत्रमा जङ्गली जनावर रोकथामका लागि कुनै उपाय गरिएको छैन । निकुञ्जको विस्तारित क्षेत्रबाट यस क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई दुई दशकअघि पुनः स्थापन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width