१ सय ५७ कैदी एकै पटक बिरामी

rss रासस
असाेज ६, २०७६

इलाम, ६ असोज । इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो ।

कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले राससलाई जानकारी दिए । “एकैपटक ठूलो सङ्ख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौधौ परेको छ ।” श्रेष्ठले भने “धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको छ ।”

कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो । “शनिबार ७८ मात्र बिरामी थिए । आइतबार बढेर एक सय ५७ को सङ्ख्या पुग्यो ।” श्रेष्ठले भने “अरू कैदीलाई पनि जोगाउन साह्रै गाह्रो भएको छ ।”

कारागारमा हाल २६० कैदी रहेका छन् । जहाँ १०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन् । कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ । कार्यालयमा चार जना कार्यालय सहयोगी रहे पनि कार्यालय सहयोगीनै अपुग हुने गरेको श्रेष्ठ बताए । “कैदीबन्दीलाई बाहिर निकाल्दा एकजना पठाउनै पर्छ”, उनले “२४ सैँ घण्टाजस्तो ड्युटी पर्छ । यहाँ भएको जनशक्तिले धान्न गाह्रो छ ।”

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

डेङ्गुका कारण थप १ को मृत्यु

बगैँचा टोल विकासद्वारा लाममुट्टेको खोज र नष्ट

बिरौटामा डेंगु सचेतना कार्यक्रम

बाढीले बगाउँदा दुई बालिका बेपत्ता,४८ काे उद्धार

प्रमुख समाचार

टिपर दुर्घटनामा दुईको मृत्यु